Thuprai - Books and E-books
Scholarship edusanjal

विज्ञान शिक्षण विधि गलत

Admission edusanjal

विगत एक दशकदेखि विश्वविद्यालयमा विज्ञान पढ्ने विद्यार्थीको सङ्ख्या निरन्तर घट्दो क्रममा छ । १२ कक्षामा विज्ञान विषय लिएर पढेका करिब दश प्रतिशत विद्यार्थीले पनि विएस्सी अध्ययन गर्दैन । हुन त ती मध्ये अधिकांश विद्यार्थी मेडिकल, चिकित्साशास्त्र, वायोटेक्नोलोजी, खाद्य प्रविधिफार्मेसी जस्ता प्राविधिक विषयतर्फ आकर्षित हुन्छन् । त्यसपछि उनीहरूको दोश्रो प्राथमिकतामा वैदेशिक यात्रा पर्दछ अध्ययन वा रोजगारीको लागि । त्यसबाट बाँकी २० हजारको हाराहारीमा विद्यार्थी विएस्सीमा भर्ना हुन्छन्, र ९० प्रतिशतको रोजाई त्रिभुवन विश्वविद्यालय नै पर्ने गरेको छ । त्यसमा पनि आधा जसोको पहिलो छनोट त्रि-चन्द्र क्याम्पस हुने गरेको छ ।

खस्किँदै गुणस्तर

हाल देशमा २८ आङ्गिक, १७ सामुदायिक र ६१ निजी उच्च शैक्षिक संस्थाहरूबाट विज्ञान तथा प्रविधिमा विभिन्न १३५ कार्यक्रमहरू सञ्चालनमा छन् । ३१ जिल्लामा विज्ञान तथा प्रविधिका शैक्षिक कार्यक्रम सञ्चालन भइरहेको छ । तर देशमा विएस्सी पढ्नपाठन ज्यादै कमजोर छ । पछिल्लो एक दशकमा विएस्सी कार्यक्रममा विद्यार्थीको उत्तीर्ण प्रतिशत लेखाजोखा गर्ने हो भने डरलाग्दो चित्र  रुपष्ट देखिन्छ ।

त्रिविको सेमेस्टर प्रणालीमा पढाइ हुने विषयको नतिजामा सुधार हुँदै गर्दा वार्षिक प्रणालीको नतिजा भने नाजुक स्थितिमा छ। त्रिविको अहिलेको तथ्याङ्कलाई हेर्ने हो भने मानविकी संकायको ‘बिए’ भन्दा पनि विएस्सीको नतिजा कमजोर छ ।

गत वर्ष बिएस्सीमा विद्यार्थीको उत्तीर्ण प्रतिशत औसतमा ४० प्रतिशत थियो । त्यसभन्दा अगाडीको वर्षमा यो प्रतिशत ३५ मात्र थियो । औसतमा मूल्याङ्कन गर्दा विएस्सीमा पहिलो वर्ष २५ प्रतिशत र चौथो वर्षमा ६० प्रतिशत मात्र विद्यार्थी पास भएको पाइन्छ । चौथो वर्षमा बढी पास प्रतिशत देखिनुमा अन्तिम समयमा पढाइ पुरा गर्नु पर्दछ भन्ने मनोवैज्ञानिक दबाबले काम गरेको विश्लेषण गर्न सकिन्छ । तर अन्य वर्षमा पास हुने भन्दा फेल हुने विद्यार्थी बढी हुनुलाई शिक्षण विधिमा नै खोट भएको मान्नु पर्दछ । त्रिविले हालसम्म विएस्सीलाई सेमेस्टर प्रणालीमा रूपान्तरण नगरेको तथ्यलाई मात्र गुणस्तर खस्किएको आधार मान्न मिल्दैन । हालको वार्षिक शिक्षण पद्धति, शिक्षणको तरिकासमेत सुधार गर्न सकिने सम्भावना र आधारहरू प्रशस्त छन् ।

अवैज्ञानिक शिक्षण विधि

त्रिविले विगतको दुई वर्षे विएस्सीलाई ४ वर्षेमा परिवर्तन गरे पनि सघन फ्याकल्टी विकासको कार्यक्रम सुरु गरेन ।  फ्याकल्टीलाई समय समयमा दिइएको तालिमलाई उदाहरण लिन मिल्दैन किनकि त्रिवि विज्ञान सङ्कायले उपलब्ध गराएको त्यस्ता तालिममा शिक्षण विधिलाइ आमूल परिवर्तन गर्ने विषयमा खासै चर्चा हुँदैन थियो । जबसम्म विद्यार्थी केन्द्रित शिक्षण विधि अनुसरण गरिँदैन तबसम्म गुणस्तर सुधार हुँदैन ।

विद्यार्थीले वास्तवमा पाठ्यक्रमको विषयवस्तु पटक्कै बुझेको देखिँदैन । त्रिविको विएस्सी परीक्षामा कयौं विद्यार्थीको प्राप्ताङ्क सून्य भएको सुनिन्छ । बहुसख्यकले २५ प्रतिशत नम्बर पनि ल्याउन सक्दैनन् । यस परिदृष्यले विद्यार्थी मात्र होइन उसलाई पढाउने शिक्षक पनि फेल भएको सन्देश दिन्छ । तर नेपालको वर्तमान उच्च शिक्षा प्रणालीमा शिक्षकले विद्यार्थीलाई बुझाउन नसकेको वा बहुसख्यक फेल भएको कारण सोधनी हुँदैन् । विद्यार्थीले उसको शिक्षकको शिक्षण विधिको प्रशंसा वा आलोचना गरेर लिखित फिडब्याक दिन पाउने छुट छैन । र, विद्यार्थीको फिडब्याकलाई उच्चशिक्षा सुधारको सुचाङ्कको रूपमा ग्रहण नगरेको कारण यो समस्या बढ्दै गएको हो । गुणस्तर खस्किदै गएको हो ।

आधुनिक शिक्षण विधिको आवश्यकता

विद्यार्थीको फेल प्रतिशत हेर्दा विश्वविद्यालय र कलेजमा विज्ञान शिक्षण विधि नै खोट पूर्ण भएको प्रस्ट हुन्छ । विज्ञान पढाउने तरिका परम्परावादी छ । शिक्षकले कक्षामा प्रवेश गरेपछि नोट लेखाउन सुरु गर्ने र विद्यार्थीले बोडमा आँखा गाडेर चुपचाप त्यो नोट सार्ने । र, फेरी त्यही नोट किन्न विद्यार्थीहरू बागबजारको कोचिङ सेन्टर र फोटोकपी पसल धाउने  परम्परा थयावतै छ । शिक्षण विधिमा आधुनिकता भित्र्याउन सकिएको छैन ।

गत वर्ष विश्वविद्यालय अनुदान आयोगले आङ्गिक क्याम्पसको विएस्सी र एमएस्सी शैक्षिक कार्यक्रमको स्थिति अध्ययन गर्न बनाएको समिति समक्ष त्रि-चन्द्र, पाटन संयुक्त क्याम्पस, अस्कल, जनकपुरको राराव लगायतका क्याम्पसका विद्यार्थीले कयौँ शिक्षकलाई पढाउन नआउने, पढाएको नबुझिने, प्राक्टिकल सिकाउन नआउने भनेर कटु आलोचना गरेका थिए । विद्यार्थीहरूले त्रिवि सेवा आयोगले पढाउन सक्ने शिक्षक छनोट नगरेको आरोप लगाएबाट पनि थप पुष्टि हुन्छ कि नेपालमा विज्ञान शिक्षण विधि अवैज्ञानिक अर्थात् समय सापेक्ष छैन ।

विश्वका ठुला विश्वविद्यालयले शिक्षणलाई प्रविधिमैत्री बनाएका छन् । विश्व परिवेशलाई हेर्ने हो भने विज्ञान शिक्षणमा आमूल परिवर्तन आइसक्यो तर नेपालमा पावर प्वाइन्ट बाहेक अन्य केही नयाँ शिक्षण विधि विज्ञानका कक्षामा प्रवेश भएन ।

विश्वविधालयहरूले विज्ञान शिक्षणमा प्राध्यापकहरूलाई आधुनिकीकरण गर्ने कार्यक्रम तय गर्न सकेन् । यसै प्रसङ्गमा हालै ताइवानमा सम्पन्न एसिया केमिकल सम्मेलनमा यस्तै विषयमा चर्चा भएको थियो । विएस्सीमा विद्यार्थीलाई संसारमा नै ‘अर्ग्यानिक केमेस्ट्री’ र ‘फिजिक्सको न्युमेरिकल’ ज्यादै कठिन लाग्ने विषय हो । जसको कारण धनी देशदेखि गरिब देशसम्म विएस्सीमा पढाई छाड्ने विद्यार्थीको सख्या बढ्दो छ ।

अर्ग्यानिक केमेस्ट्री र फिजिक्सको न्युमेरिकललाई संसारका जुनसुकै विश्वविद्यालयमा पनि विद्यार्थीहरूले गाह्रो भनेर बताउने गरेको अनुसन्धानले पनि प्रस्टाएको छ । त्यसैले उनीहरूले त्यस्ता समस्यालाई समाधान गरी विद्यार्थी केन्द्रित अध्यापनको लागि शिक्षण विधिमा नयाँ आयाम विकास गरेका छन् । जुन कुरा नेपाल जस्ता कम विकसित देशमा खासै चर्चा गरिँदैन र राष्ट्रिय मुद्दा पनि बन्दैन् । 

शिक्षण विधिशास्त्रले भने जस्तो पाठमा केन्द्रित भएर त्यसलाई सरल किसिमले बुझाउने तरिकामा अनुसन्धान नभएको होइन । पाठयोजना बनाएर त्यस अनुसार शिक्षण गर्नुपर्ने कुरा पनि चिर-परिचित नै छ । शिक्षण सहायकको व्यवस्था हुदाँ अध्ययन अध्यापनमा सहजता हुने कुरा पनि नौलो होइन । समूहगत भएर पढ्ने तरिका पनि थाहा भएकै हो । तर नेपालमा विएस्सी पढाइ हुने त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको विएस्सी कक्षामा माथि चर्चा गरिएको कुनै पनि विधि प्रयोगमा आएको छैन । न त ती विश्वविद्यालयले आधुनिक शिक्षण विधिलाई लागु गर्ने योजना नै बनाएको भेटिन्छ ।

केमेस्ट्रीमा विद्यार्थीलाई केमिकलको मोडेल नदेखाई पढाइन्छ जसको कारण उनीहरूलाई विषयवस्तु बुझ्न समस्या भएको छ । विद्यार्थीलाई विज्ञान सरल किसिमले बुझाउन ‘मोबाइल एप्स’ र ‘युट्युब’मा उपलब्ध शैक्षिक सामग्री प्रयोगमा ल्याउन सकिन्छ । अझ सबैभन्दा सजिलो त फेसबुक क्लोज ग्रुप बनाएर शिक्षकले शिक्षण विधिलाई परिष्कृत गर्न सक्छ । एसियाका कयौँ देशमा शिक्षकले अचेल ‘फेसबुक क्लोज ग्रुप’ चलनमा ल्याएको पाईन्छ ।

तर सबैभन्दा महत्पूर्ण विषय विज्ञानको पाठ्यक्रममा राखिएको किताब नै हो । नेपालले पनि विश्वका बहुसङ्ख्यक विश्वविद्यालयले प्रयोगमा ल्याएका किताबलाई कोर्षमा राख्नु पर्दछ । दक्षिण कोरिया, जापान र ताइवान लगायतका देशले अमेरिकन विश्वविद्यालयमा पढाइ हुने विज्ञानका किताबलाई आफ्नै भाषामा उल्था गरेर कोर्षमा राखेका छन् । नेपालमा पनि विंस २०३० तिर नै विज्ञानका सबै विधामा विदेशी किताब कोर्षमा राखेको भेटिन्छ तर अचेल पहिलो पुस्ताले सुरू गरेको उक्त सुधारको परम्परालाई तोड्दै नेपाली र भारतीय पुस्तक पढाउन थालिएको छ । अझ विद्यार्थीहरू नोट र फोटोकपिमा अल्झेका छन । फलस्वरूप शैक्षिक गुणस्तर निरन्तर खस्किदो छ ।

अन्तमा,

सानो प्रयासबाट पनि ठुलो परिवर्तन हुन सक्थ्यो तर कसैलाई चासो छैन । विदेशी लेखकका पाठ्यपुस्तक विश्वविद्यालयले शिक्षण सामग्रीको रूपमा खरिद गर्दा त्यसमा ‘पावर प्वाइन्ट’ फाइल पनि सत्तैमा आउने थियो ।  शिक्षकलाई पनि पढाउन सजिलो र शिक्षण विधिमा पनि एकरूपता ल्याउन सकिन्थ्यो । विश्वविद्यालयहरूले तत्काल विज्ञान शिक्षण विधिमा रूपान्तरण नगरी परिवर्तन सम्भव छैन ।

 

Courses edusanjal
Select college / campus
Schools edusanjal