रुकुमपूर्व, १९ मङ्सिर (रासस) : रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ रुकुमकोटस्थित रुक्मिणी माध्यमिक विद्यालयले सहाराविहीन विद्यार्थीलाई विद्यायमै पढाउन थालेको छ ।
विभिन्न कारणले सहाराविहीन बनेका जिल्लाका १३ विद्यार्थीलाई विद्यालयमै राखेर पढाउन थालिएको हो । कक्षा १ देखि ९ सम्मका नियमित विद्यालय आउन नसक्ने सहाराविहीन विद्यार्थी छनोट गरेर विद्यालयले पठनपाठनका साथै खाने र बस्ने व्यवस्था पनि विद्यालयमै गरिदिएको विद्यालयले जनाएको छ ।
सहाराविहीन १३ विद्यार्थीलाई विद्यालायमा राखे पनि विद्यालयमा छात्रावास भने छैन । तर, विद्यालय भवनलाई नै विद्यार्थी बस्ने गरी व्यवस्थापन गरिएको छ ।
सहाराविहीन भएकै कारण शिक्षाबाट बञ्चित नहुन् भनेर विद्यालयमै राखेर पढाउन थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवचन्द्र समालले जानकारी दिनुभयो । “सम्बन्धित वडाको सिफारिशका आधारमा विद्यार्थी छानेर विद्यालयमै राखेर पढाउन थालेको हौँ”, अध्यक्ष समालले भन्नुभयो, “विद्यालयमा रुकुमपूर्वका तीन स्थानीय तहका मात्र नभएर रुकुमपश्चिमका समेत विद्यार्थी छन् ।”
बुबाआमा नभएका एवं बुबा र आमामध्ये एक नभएका विद्यार्थी नियमित पठनपाठनबाट बञ्जित भएपछि विद्यालयले आफ्नै स्रोतबाट विद्यालयमै बसेर पढ्ने व्यवस्था गरेको अध्यक्ष समालको भनाइ छ ।
केही विद्यार्थी नियमित पढ्न आउन नसक्ने भएपछि सोधखोज गरेर उनीहरुलाई विद्यालयमै राखेर पढाउन थालिएको प्रधानाध्यापक कृष्ण गौतमले बताउनुभयो । “ठूलोबुबा, काका, फुपू र सानीआमा तथा आफन्तको घरमा बसेर पढ्न आउँदा विद्यार्थी नियमित हुन सकेनन्”, उहाँले भन्नुभयो । घरमा काम गरेर आउनुपर्दा विद्यालय ढिलो पुग्ने र कहिलेकाहीँ त विद्यालय नै छुट्ने भएपछि विद्यालयमै बस्ने व्यवस्था गरेको उहाँको भनाइ छ ।
उहाँका अनुसार कम्तीमा २० जति विद्यार्थीलाई आवासीय सुविधा दिएर पठनपाठन गराउने विद्यालयको उद्देश्यअनुसार सहाराविहीन बालबालिकालाई निःशुल्क पढाउन शुरु गरिएको छ । प्रतिविद्यार्थी मासिक रु दुई हजार तिर्ने गरी खाना खुवाउने व्यक्तिसँग विद्यालयले सम्झौता गरेको छ ।
हाल विद्यालयको आन्तरिक स्रोतबाट त्यसको व्यवस्थापन गरिए पनि केही निकायसँग सहयोगका लागि पनि सरसल्लाह भइरहेको प्रधानाध्यापक गौतमले बताउनुभयो ।