काठमाडौंका विद्यालय १० गतेदेखि खुल्ने, ललितपुरका केही विद्यालय खुले

काठमाडौं महानगरपालिकाभित्रका स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालयले असोज १० गतेदेखि भौतिक रूपमा विद्यालय खोल्न पाउने भएका छन् । महानगरपालिकाको शिक्षा शाखाको बैठकले आइतबारदेखि विद्यालय खोल्ने अनुमति दिने निर्णय गरेको हो ।

विद्यालय सञ्चालन गर्दा न्यूनतम रूपमा पालना गर्नुपर्ने २७ बुँदे मापदण्ड सहति विद्यालय खोल्ने निर्णय गरेको महानगर शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए ।

विद्यालय सञ्चालनका लागि महानगरपालिकाले महानगरभित्रको परिस्थिति अनुसार ‘कस्टुमाइज्ड मापदण्ड’ बनाएको र विद्यालयले ती २७ मापदण्ड अनिवार्य लागू गर्नुपर्ने शाखा प्रमुख सुवेदीले बताए । शिक्षा मन्त्रालयले बनाएको मापदण्डलाई समेटेर महानगरले मापदण्ड बनाएको जनाएको छ ।

विद्यालय सञ्चालन गर्नुपूर्व सरोकारवालाको सहभागितामा विद्यालय व्यवस्थापन समितिको बैठक बसी आपसी समझदारीमा मात्र भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउने, विद्यालयले विद्यालय सञ्चालनको विस्तृत कार्ययोजना बनाई महानगरको शिक्षाविभागमा पेश गर्नुपर्ने, शिक्षक, विद्यालय कर्मचारी, चालक सबैले अनिवार्य खोप लगाएको हुनुपर्ने लगायतका मापदण्ड तय गरेको छ ।

खोप लगाउन बाँकी रहेक शिक्षक, कर्मचारी, चालकलाई महानगरपालिकाले खोपको व्यवस्था गर्ने समेत प्रमुख सुवेदीले जानकारी दिए । यदि विद्यालयमा विद्यार्थी संख्या ठूलो भएको वा अभिभावक डराएको अवस्थामा विद्यालय खोल्न अनिवार्य नगरिएको पनि सुवेदीले जानकारी दिए ।

त्यसैगरी ललितपुरका केही विद्यालय खुले भने अधिकांश बाँकी नै छन् । विद्यार्थी संख्या कम भएका विद्यालय मात्र खोलिएको ललितपुर महानगरपालिका शिक्षा शाखा प्रमुख महेन्द्र क्षेत्रीले बताए ।

त्यस्तै भक्तपुरको सूर्यविनायक नगरपालिकाले आज देखि भौतिक रुपमा विद्यालय सञ्चालन गरेको छ । विद्यालय खोलेको पहिलो दिन भएकाले छिटफुट विद्यँर्थी मात्र विद्यालय आएको विद्यालयले जानकारी दियो । त्यसैगरी भक्तपुर नगरपालिकाले भने विद्यालय कहिलेदेखि खोल्ने भन्ने विषयमा आधिकारिक निर्णय गर्न सकेको छैन । केही दिनमा नै सरोकारवाला र स्वास्थ्य विज्ञको छलफल र आन्तरिक सहमतिमा विद्यालय खोलिने नगरपालिकाले जानकारी दियो ।

 

Thuprai - Books and E-books