बैतडीको मेलौली नगरपालिकामा कोरोना संक्रमित भेटिएपछि ८ दिनको लागि विद्यालय बन्द गरिएको छ। शनिबार वडा नम्बर ७ तोल्या गाउँमा एक जनालाई कोरोना देखिएपछि वैशाख १४ गतेसम्मका लागि नगरपालिकाका भित्रका सबै विद्यालय बन्द गरिएको नगरपालिकाले जनाएको छ।
आइतबार बसेको नगरपालिकाको कोरोना व्यवस्थापन समितिको बैठकले विद्यालय बन्द सँगै तोल्या क्षेत्र अर्काे सूचना जारी नभएसम्मको लागि सिल गरिएको पालिकाका शिक्षा शाखा प्रमुख हरिशप्रकाश भट्टले बताए।
कञ्चनपुरको महेन्द्रनगरमा आइतबार एक शिक्षकलाई कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द गरिएको छ ।स्थानीय भृकुटी माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक वीरेन्द्रप्रसाद भट्टलाई कोरोना सङ्क्रमण देखिएपछि अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय बन्द गरिएको हो ।
स्वास्थ्य समस्या देखिएपछि कोरोना परीक्षण गरेका शिक्षक भट्टसँगै उनकी श्रीमतीलाई पनि सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएपछि शिक्षक भट्टले आफ्नो सम्पर्कमा रहेका अन्य शिक्षक तथा विद्यार्थीसमेतलाई परीक्षणका लागि आग्रह गरेका छन् । विद्यालयका अन्य १६ शिक्षकको एन्टिजेन परीक्षण गराउँदा सबैको नेगेटिभ आएको विद्यालयले जनाएको छ ।
त्यसैगरी कञ्चनपुरमा आइतबार भीमदत्तनगरपालिका–९ ब्रह्मदेवका नौ व्यापारीमा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले भारतबाट गड्डाचौकी हुँदै स्वदेश फर्किरहेका एक र ब्रह्मदेवमा नौ गरी दशमा कोरोना सङ्क्रमण देखिएको बताए ।
भारतमा पूर्णागिरी मेला शुरु भएसँगै सीमावर्ती नेपाली ब्रह्मदेव बजारमा चहलपहल शुरु भएको थियो । केही दिनअघि पनि ब्रह्मदेवमा छ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
वीरगन्ज महानगरपालिकाले सम्पूर्ण निजी तथा सामुदायीक विद्यालय अर्काे सुचना नआउन्जेलसम्मका लागि बन्द गरेको छ ।वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले आईतबार एक विज्ञप्ति जारी गर्दै कक्षा १ देखि ५ सम्मका सबै विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।
त्यस्तै, ललितपुरको महालक्ष्मी नगरपालिकाले वैशाख मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।नगरपालिकाले कोभिड–१९ को दोस्रो चरणको संक्रमण बढ्दै गइरहेकोले वैशाख मसान्तसम्म वैकल्पिक सिकाइ प्रणालीलाई अपनाउँदै विद्यालय बन्द गरेको हो ।
नगरपालिकाले जारी गरेको सूचना अनुसार कक्षा ८ र १० को पूर्व निर्धारित परीक्षा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर वैशाख १५ सम्म सम्पन्न गर्नुपर्ने जनाएको छ । ईनरुवा नगरपालिकाले पनि आफ्नो क्षेत्रभित्र रहेका सम्पूर्ण विद्यालय आजदेखि बन्द गरेको छ ।
विद्यालयमा फैलियो कोरोना
चितवनमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण जिल्लाका विद्यालयमा फैलिएको छ । जिल्लाका चार विद्यालयका शिक्षक विद्यार्थीमा सङ्क्रमणको पुष्टि भइसकेको छ । भरतपुर महानगरपालिकाको नारायणी नमुना मावि, गुञ्जनगर मावि र वाल्मीकि शिक्षा सदनका कर्मचारी तथा विद्यार्थीमा कोरोनाको सङ्क्रमण देखिएको हो । यस्तै इच्छाकामना गाउँपालिकाको राष्ट्रिय आधारभूत विद्यालय रानीखोलाका शिक्षकलाई सङ्क्रमण देखिएको छ ।
भरतपुरका शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेलका अनुसार वाल्मीकिका कक्षा १० का विद्यार्थीलाई सङ्क्रमण देखिएपछि दुई दिन विद्यालय बन्द गरिएको छ । आइतबार र आज सो विद्यालय बन्द गरिएको हो भने अन्य विद्यालयमा स्वास्थ्य सुरक्षा अपनाएर कक्षा सञ्चालन गरिएको छ ।
गुञ्जानगर माविका दुई विद्यार्थी, नारायणीका लेखाका कर्मचारी र इच्छाकामनाका दुई शिक्षकमा सङ्क्रमण देखिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख भूमिलाल सुवेदीले जानकारी दिए । विद्यालयमा कोरोना देखिन थालेपछि अभिभावक, विद्यार्थी, शिक्षक र कर्मचारी त्रसित भएका छन् । कतिपय अभिभावकले बालबालिकालाई विद्यालय पठाउन छाडेका छन् ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको उपस्थितिमा आइतबार बसेको पालिकास्तरका शिक्षा शाखा प्रमुख र समन्वय एकाइ प्रमुखको बैठकले वैशाखभित्रमा वार्षिक परीक्षा सक्ने गरी व्यवस्थापन गर्ने निर्णय गरेको छ । सुवेदीका अनुसार जेठमा गर्ने भनिएको वार्षिक परीक्षा वैशाखभित्रमा सम्पन्न गर्न विद्यालयलाई निर्देशन दिने निर्णय गरिएको छ ।
निजी विद्यालयको छाता संस्था निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का प्रतिनिधिसँग आज छलफल गरिँदै छ । चितवनमा आइतबार मात्रै २२ जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।