जाडो बढेपछि विद्यालय बन्द गरिँदै

चिसो बढेपछि विद्यालय बन्द

चिसो अत्यधिक बढेपछि बाँकेका विद्यालयमा पठनपाठन बन्द गरिएको छ । चिसोका कारण बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो । बाँकेमा खजुरा गाउँपालिका र जानकी गाउँपालिकाले चिसोलाई मध्यनजर गर्दै तीन दिनका लागि विद्यालय बन्द गराएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले बालबालिकाले अध्ययन गर्ने प्राथमिक तहमा बिदा दिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रामसुरेश यादवले बताए ।

लगातार बाक्लो हुस्सुसँगै चिसो बढ्दै गएपछि महोत्तरीमा धमाधम विद्यालय बन्द गर्न थालिएका छन् । जाडो बढेपछि स्थानीय तहले केही दिनका लागि विद्यालय बन्द गर्ने सूचना जारी गरेका हुन् । महोत्तरीको सोनमा गाउँपालिकाले सोमबार सूचना जारी गरेर एक साता विद्यालय बन्द गराएको छ ।

त्यसैगरी मटिहानी नगरपालिकाले मङ्गलबार सूचना जारी गरी आजदेखि विद्यालय बन्द रहने जनाएको छ । आधारभूत तहका विद्यालयमा बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै केही दिन विद्यालय बन्द गर्ने निधो गरिएको स्थानीय तहले जनाएका छन् । मौसममा सुधार आए पठनपाठन सञ्चालन गरिने सोनमा गाउँपालिकाका अध्यक्ष राजकुमार यादवले बताए ।

मटिहानीका उपप्रमुख शिबोदेवी साहले बालबालिकालाई चिसोबाट बचाउन केही दिन विद्यालय बन्द गरिएको र मौसममा सुधार आउनासाथ पठनपाठन सञ्चालन हुने बताइन् ।

सम्सी, एकडारा, महोत्तरी र पिपरा गाउँपालिका तथा मनराशिशवा, जलेश्वर, रामगोपालपुर, बलवा, लोहारपट्टी र जलेश्वर नगरपालिकाका विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दै गएको छ ।

त्यसैगरी उच्च हिमाली जिल्ला हुम्लामा चिसो अत्यधिक बढ्दै गएपछि सामुदायिक तथा निजी विद्यालयले पठनपाठन बन्द गरेका छन् । हुम्लामा हिउँदे बिदाले पुस र माघ दुई महिना यहाँका विद्यालयमा पठनपाठन बन्द हुने गर्दछ ।

चिसो अत्यधिक बढेसँगै हुम्लाका स्थानीय तहले विद्यालयमा हिउँदे बिदा दिने गरेका छन् । जिल्लाका सातमध्ये छ गाउँपालिकाका विद्यालयले हिउँदे बिदाले दिइसकेका छन् । जिल्लाको सदरमुकाम रहेको सिमकोट गाउँपालिकासहित नाम्खा, खार्पुनाथ, सर्केगाड र ताँजाकोट गाउँपालिकामा रहेका सामुदायिक तथा निजी विद्यालय बन्द भएका छन् । सिमकोट गाउँपालिकाले यसअघि नै आफ्ना माताहतमा रहेका निजी तथा सामुदायिक विद्यालयलाई यही पुस १५ गतेपछि बन्द गर्न निर्देशन दिइसकेको थियो ।

जाडो मौसमको सुरुआत भएसँगै चिसोले असहज भएपछि वार्षिक परीक्षाअगावै विद्यालय बन्द गरिएको छ । विगतका वर्षमा यो समय हुम्लामा अन्तिम परीक्षाको नतिजा निकालिए पनि गत वर्ष कोरोना सङ्क्रमणका कारण र यस वर्ष विद्यालय ढिला खुलेकाले परीक्षा नै लिन नसकिएको मानसरोवर माध्यामिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले बताए । फागुन महिनाबाट हुम्लामा नयाँ शैक्षिकसत्रका लागि भर्ना लिएर पठनपाठन हुने गर्दथ्यो । यस वर्ष कतै त्रैमासिक र कतै अर्धवार्षिक परीक्षा मात्रै सकिएको छ ।

वार्षिक परीक्षा अब सिधै फागुनमा विद्यालय सञ्चालनमा आएपछि कहिले गर्ने भन्ने थाहा हुने प्राध्यापक शाहीले बताए । अत्यधिक जाडोका कारण उत्तरी नाम्खा गाउँपालिकामा रहेका अधिकांश विद्यालय यसअघि मङ्सिरमै परीक्षा सम्पन्न गरेर बन्द भइसकेका छन् । हुम्लामा गत जेठबाट मात्रै विद्यालयले पठनपाठन सञ्चालनमा ल्याएका थिए ।

जिल्लामा १५१ सामुदायिक विद्यालय रहेकामा १२६ बन्द भएको जानकारी प्राप्त भएको छ । चङ्खेलीका २५ विद्यालयमा भने हिउँदभरि नियमित पठनपाठन हुने भएको छ । जिल्लाका अन्य छ वटा स्थानीय तहले आफ्ना मातहतका विद्यालय चिसोका कारण बन्द गरे पनि चङ्खेली गाउँपालिकाले भने नियमित पठनपाठन कार्यलाई जारी राख्ने भएको छ ।

त्यस्तै, शीतलहर सुरु भएपछि पर्साको जिराभवानी गाउँपालिकाले शैक्षिक संंस्था बन्द गर्ने भएको छ । गाउँपालिकाले आइतबार सूचना जारी गरी यही पुस २४ गतेसम्म संस्थागत तथा सामुदायिक विद्यालयमा पठनपाठन बन्द हुने जनाएको छ ।

त्यस्तै, जाडो बढ्दै गएपछि काभ्रेपलाञ्चोकको स्थानीय तहले पनिविद्यालय बन्द गर्न निर्देशन दिएका छन् । चिसो बढ्दै गएपछि जिल्लाका तीन स्थानीय तहले विद्यालय बन्द गर्न निर्देशन दिइसकेका छन् ।

तेमाल गाउँपालिकाले यसै साताको वर्षाका कारण जाडो बढ्दै गएको जनाउँदै आजदेखि एक हप्ताका लागि आफ्नो क्षेत्रको सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन बन्द गर्न निर्देशन दिएको छ ।

यस्तै, रोशी गाउँपालिकाले गत शुक्रबारदेखि दश दिनका लागि विद्यालय बन्द गराएको छ । शिक्षा शाखा अधिकृत रामबहादुर तामाङका अनुसार प्रतिकूल मौसमका कारण विद्यालय सञ्चालन गर्न कठिनाइ भएकाले चिसोबाट बालबालिकामा हुने स्वास्थ्य जोखिमबाट बच्न दश दिनका लागि विद्यालयमा पठनपाठन बन्द गराइएको हो ।

धुलिखेल नगरपालिकाले पनि गत बिहीबारदेखि आफ्नो क्षेत्रका विद्यालय एक हप्ताका लागि बन्द गराएको छ । गत मङ्गलबार र बुधबारको वर्षापछि चिसो बढेको जनाउँदै नगरपालिकाद्वारा जारी सूचनामा तापमान न्यून भई जाडो बढिरहेकाले सामुदायिक र संस्थागत विद्यालय बन्द गर्न आग्रह गरिएको नगरप्रमुख अशोक ब्याञ्जूले बताए ।