विद्यालय नर्स कार्यक्रम लागु, तर स्थानीय तहले दिएनन् बजेट

सरकारले एक विद्यालय एक नर्स कार्यक्रम लागु गरेपनि नर्स कार्यक्रम लागु भएका विद्यालयमा स्थानीय तहले बजेट निकासा नगरेको पाइएको छ ।

भक्तपुर जिल्लाका केही सामुदायिक विद्यालयमा कार्यरत नर्सले आफूले अहिलेसम्म पारिश्रमिक नपाएको गुनासो गरेका छन् ।

तलब पाउने नर्सहरूलाई पनि कतिपय स्थानीय शिक्षा विभागले हाम्रो विभागको जिम्मेवारी नभएको भन्दै तलब निकासा गर्न अटेरी गर्दै आएका छन् ।

एक विद्यालय एक नर्स कार्यविधि २०७६ मा तलब सम्वन्धित विद्यालयले उपलब्ध गराउनु पर्ने उल्लेख छ । कार्यविधिमा स्थानिय तहले विद्यालय नर्सको पारिश्रमीक सम्वन्धित विद्यालय मार्फत भुक्तानी गर्नुपर्ने भनिएको छ । तर, केहि विद्यालयमा कार्यरत नर्सहरूले भने आफूहरूले तलव नपाएको गुनासो गर्दै आएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालयमा बालबालिकाको उपस्थिति नियमित गराउन र उनीहरूको नियमित स्वास्थ्य जाँचका लागि ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू गरेको थियो । अहिलेसम्म ३ सय ९२ वटा विद्यालयमा नर्सिङ कार्यक्रम लागू भएको छ । अहिलेसम्म झन्डै २ सय बढी विद्यालयमा नर्स कार्यक्रम सुरू भएको छ । प्रदेश १ का ५४ वटा र प्रदेश ३ का १ सय २१ वटा विद्यालयमा विद्यालय नर्सिङ कार्यक्रम लागू भएको छ ।

शिक्षा मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार ८३ लाख ४९ हजार ६ सय ५१ जना विद्यार्थी विद्यालयमा अध्ययनरत छन् । जबकि दर्तावाल नर्सको संख्या ९० हजार ८ सय १७ जना छन् । अन्तर्रा्ष्ट्रिय मान्यतालाई हेर्ने हो भने ७ सय जना विद्यार्थीदेखि ८ सय विद्यार्थीलाई एक जना नर्सले सेवा दिएका हुन्छन् । सरकारले ‘एक विद्यालय एक नर्स’ कार्यक्रमका लागि ३ करोड ४६ लाख रूपैयाँ बजेट छुट्याएको छ ।

बालबालिकाको उपस्थिति नियमित गराउन र उनीहरूको नियमित स्वास्थ्य जाँचका लागि विद्यालय नर्स कार्यक्रमको सुरूवात गरिएको हो । तत्कालीन स्वास्थ्य मन्त्रालय, प्याब्सन र एनप्याब्सनको सक्रियतामा २०७३ सालमा प्रत्येक विद्यालयमा नर्स राख्ने सैद्धान्तिक सहमति भएको थियो । विद्यार्थीलाई स्वस्थ र फुर्तिलो राख्न विद्यालयमा नर्स राख्ने योजना थालिएको हो ।

 उनीहरूले बालबालिकाको स्वास्थ्य अवस्थाबारे जाँचबुझ र स्वस्थ रहन गरिने कार्यबारे जानकारी दिने, व्यावहारिक प्रयोगबारे सिकाउने, विद्यालयमा जंकफुड प्रयोग निषेध गर्ने, घर तथा विद्यालयमा कसरी स्वस्थ खानेकुरा बनाइन्छ भन्नेबारे विद्यार्थीलाई सिकाउनेछन् । हाल प्राथमिक तहमा स्टाफ नर्स र प्लस टु तहसम्म बीएन ९स्नातक उत्तीर्ण०लाई जिम्मेवारी दिइएको छ ।

विद्यालयमा नर्सले दैनिक विद्यार्थीको स्वास्थ्य हेरचाहसँगै उनीहरूलाई स्वस्थ रहने तरिकाबारे जानकारी गराउनेछन् । नर्सले विद्यार्थीलाई स्वास्थ्य सेवा प्रदान गर्ने, स्वच्छ वातावरण निर्माणका लागि विद्यार्थीलाई उत्प्रेरित गर्ने, विद्यार्थीमार्फत समुदायको स्वास्थ्य सचेतनाको काम गर्ने र छात्रामा देखिने विभिन्न समस्याको निगरानी र उपचारमा सहयोग गर्नेछन् ।

विद्यालयमा नर्स राख्न थालिएपछि महिनावारी भएका छात्राहरू पनि नियमित रूपमा विद्यालय आउन थालेका छन् । यस्तै, हात धुने, खोपबारे जानकारी, जंकफुड प्रयोग नगर्नेलगायतका विषयमा पनि सचेत भएको स्वयं विद्यार्थी स्विकार्छन् ।

Thuprai - Books and E-books