प्रधानमन्त्री केपी शर्मा ओलीले आज पाटनढोकास्थित पाटन माध्यमिक विद्यालयको पुनःनिर्मित भवनको उद्घाटन गरेका छन् ।
यो विद्यालय ललितपुरकै पहिलो आधुनिक र उपत्यकाको दोस्रो आधुनिक विद्यालय हो । विद्यालयको स्थापना तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा १९८१ सालमा भएको थियो । सुरुमा पाटन दरबारको कोतमा यो विद्यालय स्थापना भएको थियो । १९९० सालको भूकम्पपछि विद्यालयलाई लगनखेलमा सारिएको थियो । त्यसपछि नयाँ भवन निर्माण गरी पाटनढोकामा सारिएको थियो । २०७२ सालको भूकम्पले भवन क्षतिग्रस्त भएपछि जापान सरकारको ऋण सहयोगमा सो विद्यालयको पुनःनिर्माण गरिएको हो ।
विद्यालय उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पाटन माध्यमिक विद्यालयको भवनले नेपालको इतिहासलाई जोडेको बताउँदै भने, “यो सबैको साझा सम्पत्ति हो । अब यहाँ गुणस्तरीय शिक्षा उपलब्ध हुनेछ ।”
उनले सरकार समृद्ध नेपाल सुखी नेपालको सपनालाई साकार पार्ने प्रयास गरिरहेको बताउँदै छिटो यो अभियान साकार हुने बताए ।
जापान सरकारको करिव १८ करोड ३१ लाख रुपियाँमा निर्माण सम्पन्न भएको यस विद्यालय भवनमा तीनवटा ब्लक छन् । जुद्धशमशेरले निर्माण गर्न लगाएको हलको रेक्ट्रोफिटिङ गरिएको छ भने बाँकी दुई वटा भवन पुनःनिर्माण गरिएका हुन् । जम्मा २७ वटा कोठा निर्माण गरिएको छ । प्रयोशाला, पुस्तकालय, शिक्षक कोठा, प्रशासनिक कोठा लगायत निर्माण गरिएका छन् ।