नगरपालिकाको निर्णय विपरीत विद्यालयमा मेला

जाजरकोटको भेरी नगरपालिका स्थितत्रिभुवन माध्यमिक विद्यालय मेला लगाउनकै लागि चार दिन बन्द गरिएको छ । नगरपालिकाले दुई वर्ष अगाडि नै विद्यालयमा मेला लगाउने नपाउने निर्णय गरेको भए पनि स्थानीय राजनैतिक दलको सहमतिमा मेला लगाउन लागिएको हो । विद्यालय हिजो देखि १६ गतेसम्म बन्द भइसकेको छ ।

कोभिडका कारण पढाई लामो समयसम्म बन्द भएर भर्खरै मात्र पढाइ सञ्चालन भएको विद्यालयमा मेला लगाएर पढाइ अवरुद्ध गर्नु र विद्यालयको हाताभित्र फोहर गरेर वातावरण बिगार्नु उपयुक्त नहुने भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशाकीय अधिकृत दलबहादुर घर्तीले बताए । ‘कोभिडको नयाँ–नयाँ भेरियन्ट आइरहेको बेला विद्यालयभित्र हजारौँ मानिस सहभागी गराएर के दूरदर्शी निर्णय गरेको होला !’ उनले भने, ‘आहा सरोकारवाला च्याम्पियन सबैमा हार्दिक बधाईसमेत लेखेका छन्, भेरी नगरपालिकाले दुई वर्षअघि विद्यालयमा मेला लगाउन नपाउने निर्णय गरेको थियो सो निर्णय बिर्सिएर पुनः मेला लगाउन चार दिन विद्यालय बन्द गरिएको छ ।’

रमाइलो मेला तथा संस्कृतिक मेला भन्ने नारा दिएर विद्यालय हाताभित्र कार्यक्रम सञ्चालन गरिने भएको हो । ‘विद्यालय बन्द गरेर मेला लगाउनु ठिक नभए पनि सर्वदलीय सहमति गराएर जिल्ला प्रशासन कार्यालयमा गई निर्णय गराएपछि मेरो मात्र के लाग्छ र ?’, प्रधानाध्यापक भक्तबहादुर मल्लले भने,‘विद्यालयमा मेला लगार विद्यार्थीको पठनपाठन प्रभावित भएको भएपनि मेला लगाउन दिएबापत विद्यालयले रु ५० हजार पाएको छ ।’

“राजा वीरेन्द्रको जन्मोत्सवमा लगाउँदै आएको यो मेला कोभिडका कारण बन्द हुँदै आएको थियो । मेला लगाउने भए पनि तल्लो थाप्लेमा ठाउँ हुँदाहुँदै विद्यालयभित्रै लगाउनु र लगाउन बाध्य पार्नु सही नभएको सर्वसाधारणले बताएका छन् । भेरी ज्ञानोदय क्याम्पसमा बीएड प्रथम वर्षको परीक्षा चलिरहेकाले मेलामा होहल्ला हुँदा परीक्षा प्रभावित हुँदा विद्यालयमा मेला लगाउन लागिएको स्थानीय धर्म चन्दले बताए ।