दैलेखको नारायण नगरपालिका– ५ नवदुर्गा निमावि धिताहका विद्यार्थीमा भाइरल ज्वरोको प्रकोप बढेपछि तीनदिनका लागि विद्यालय बन्द गरिएको छ ।
विद्यालयका सबै विद्यार्थीमा ज्वरो आउने, रिँगटा लाग्ने र थरथरी काप्ने जस्ता लक्षण देखा परेपछि विद्यालय आजदेखि लागु हुने गरी तीनदिनका लागि बन्द गरिएको हो ।
बालविकासदेखि कक्षा ८ सम्म पठापाठन हुने सो विद्यालयमा गत आइतबारदेखि हिजो सम्म विद्यालयका सबै विद्यार्थीमा भाइरल ज्वारो देखिएपछि विद्यालय बन्द गरिएको प्रधानाध्यापक घनश्याम रेग्मीले जानकारी दिए ।
आइतबार करीब १५०, सोमबार करीब १०० र मङ्गलबार ८५ विद्यार्थी बिरामी भएपछि चिकित्सक र व्यवस्थापन समितिको सल्लाहमा तीन दिनका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक रेग्मीले बताए ।
विद्यालयका सबै विद्यार्थीमा एकै खाले रोग देखा परेपछि जिल्ला जनस्वास्थ्य कार्यालयले उपचारका लागि डा विवेक गुरुङको नेतृत्वमा एक टोली विद्यालयमा पाठाएको नगर शिक्षा शाखा प्रमुख हिमालयजंघ शाहले जानकारी दिए । विद्यार्थीलाई औषधीले काम गर्ने समय लाग्ने र आरामको जरुरत भएको हुनाले तीन दिनसम्म विद्यालय बन्द गरिएको उनले बताए ।