भाइरल ज्वरो नियन्त्रणमा नआएपछि विद्यालय पाँच दिन बन्द

डोटीको बोगटान फुड्सिल गाउँपालिका–६ गगुडामा भाइरल ज्वरो फैलिएपछि पठनपाठन प्रभावित भएको छ । केहीदिन अघिदेखि फैलिएको भाइरल ज्वरो नियन्त्रणमा नआएपछि स्थानीय तीन विद्यालय पाँचदिनका लागि बन्द गरिएको छ ।

गगुडास्थित वाल्मीकि आधारभूत विद्यालय, सिउँडी आधारभूत विद्यालय र मष्टेश्वर माध्यमिक विद्यालय, बन्द गरिएको गाउँपालिका अध्यक्ष कमल बहादुर गड्शिलाले जानकारी दिए ।

विद्यार्थीमा एकाएक भाइरल ज्वरो फैलिएपछि यसको रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले गाउँ शिक्षा शाखाको अनुमति लिएर विद्यालय बन्द गरिएको मष्टेश्वर माविका शिक्षक चक्रबहादुर चन्दले बताए ।

विद्यार्थीमा भाइरल ज्वरोको सङ्क्रमण तीव्ररुपमा फैलिएपछि विद्यालयमा विद्यार्थी आउनै नसक्ने वातावरणको सिर्जना भएकाले त्यसलाई निराकरण गर्न विद्यालय नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको अध्यक्ष गड्शिलाले बताए । केही दिनयता सो क्षेत्रका विद्यार्थीमा ज्वरो आउने, टाउको दुख्ने, खान मन नलाग्नेजस्ता समस्या देखिन थालेका छन् ।