प्राविधिक शिक्षामा विद्यार्थी आकर्षित गर्न छात्रवृत्ति

तम्घास (गुल्मी), २० साउनः प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि इस्मा गाउँपालिकाले छात्रवृत्तिका कार्यक्रम सञ्चालन गरेको छ । इस्मा–५ मा जीवराज आश्रित बहुप्राविधिक शिक्षालय स्थापना भएसँगै पालिकाले विद्यार्थी आकर्षित गर्न गत वर्षदेखि छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको हो ।

    गत वर्ष ११ जनाले छात्रवृत्ति पाएका शिक्षालय प्रमुख प्रदीपराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले शिक्षालयमा २५ जना विद्यार्थीले परीक्षा दिँदैछन् । शिक्षालयका अनुसार छैटौँ सेमेस्टरसम्मको अध्ययन पूरा गर्न एकजना विद्यार्थीका लागि रु ५७ हजार ४०० खर्च लाग्दछ ।

    “धरौटी शुल्कबापत रु १३ हजार जम्मा गर्नुपर्दछ । जसमध्ये पालिकाले धरौटीको रु पाँच हजारबाहेक रु ५२ हजार चार बेहोर्ने सम्झौता भएको छ”, लेखापाल अमरविक्रम जिसीले भन्नुभयो । उहाँका अनुसार धरौटीबापतको रु पाँच हजार पनि विद्यार्थीले छैटौँ सेमेस्टर उत्तीर्ण भएपछि फिर्ता पाउँछन् । शिक्षालयमा अहिले गुल्मीका साथसाथै जाजरकोट, रुकुम, जुम्ला, बर्दिया, बुझाङलगायत जिल्लाका विद्यार्थी अध्ययनरत छन् । 

    गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले पालिकाले लगानी गरेको बताउनुभयो । उहाँले छात्रवृत्तिका लागि गत वर्ष रु छ लाख ६० हजार र यस वर्ष रु एक लाख ७० हजार बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । 

    जियोम्याडिक्स इञ्जिनियरिङ अध्यापन हुने शिक्षालयमा ४८ जना विद्यार्थीका लागि सिट निर्धारण गरिएको । यस वर्षको हालसम्म १५ जना भर्ना भएका जनाउँदै तोकिएको समय अवधिभरि २५ जनासम्म भर्ना हुने अनुमान गरिएको शिक्षालयका प्रमुख पाण्डेले बताउनुभयो । 

    विसं २०७६ मा स्थापना भएको शिक्षालयको भवन निर्माणका लागि यस वर्षमा कार्यान्वयन हुनेगरी सहरी विकास मन्त्रालयबाट रु तीन करोड बजेट विनियोजन भएको छ । त्यसैगरी इस्मा गाउँपालिकाले पनि ३० वर्षसम्मका लागि शिक्षालयलाई ४४ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।