भरतपुर, १२ वैशाख (रासस): नवलपुरको गैँडाकोटमा मुख्य कार्यालय रहेको बिकू बचत तथा क्रृण सहकारी संस्था लिमिटेडले ४० विद्यार्थीलाई दीर्घकालीन छात्रवृत्ति प्रदान गरेको छ ।
बुधबार एक कार्यक्रममार्फत बिकूले २५ सामुदायिक विद्यालयका ४० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।
देवचुली नगरपालिकाका नगरप्रमुख पूर्णकुमार श्रेष्ठ र मध्यविन्दु नगरपालिकाका प्रमुख चन्द्रबहादुर रानाले संयुक्तरूपमा छात्रवृत्तिको रकम र शैक्षिक सामग्री वितरण गर्नुभयो । घरको आर्थिक अवस्था कमजोर भएका र जेहेनदार विद्यार्थीलाई कक्षा १ देखि १० सम्म पूर्ण छात्रवृत्ति प्रदान गरिएको बिकू बचत तथा ऋण सहकारी संस्थाका प्रमुख अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिनुभयो । कक्षा १ मा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले कुनै पनि कक्षामा अनुत्र्तिण नभए कक्षा १० सम्म निरन्तर छात्रवृत्ति प्राप्त गर्ने उहाँले बताउनुभयो । २५ विद्यार्थीबाट छात्रवृत्ति प्रदान गर्न शुरु गरेको बिकूले अहिले ४० लाई पूर्ण छात्रवृत्ति प्रदान गरेको पौडेलले जानकारी दिनुभयो ।
छात्रवृत्ति प्राप्त गर्ने कक्षा १ देखि ४ सम्मका ११, कक्षा ५ देखि ७ सम्मका १९ र कक्षा ८ देखि १० सम्मका १० विद्यार्थी छन् । छात्रवृत्ति कार्यक्रम सञ्चालनका लागि संस्थालाई वार्षिक रु १० लाख खर्च हुने पौडेलले बताउनुभयो । बिकूले विसं २०६६ देखि दीर्घकालीन छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
विसं २०४८ भदौ ५ गतेबाट २६ सदस्यले दैनिक ५० पैसा जम्मा गरेर स्थापना गरिएको संस्थाको हाल ५५ हजार शेयर सदस्य छन् । चार अर्ब पूँजी सङ्कलन गरेको बिकूका १२ सेवा केन्द्र छन् । संस्थामा ११० व्यवस्थापन तहका कर्मचारी र १५ सञ्चालक समिति सदस्य छन् । बिकूले पाँच वर्ष अन्तर्राष्ट्रिय सम्मानसमेत प्राप्त गरिसकेको छ ।
यस्तै विकू बचत तथा क्रृण सहकारी संस्था लिमिटेडले आजैदेखि नगदरहित भुक्तानी सेवाको शुभारम्भ गरेको छ । यो सेवा शुभारम्भ गर्ने विकू नेपालकै पहिलो सहकारी संस्था हो । नगदरहित भुक्तानी सेवा शुरुमा तीन पसलबाट सञ्चालनमा ल्याइएको संस्थाले जनाएको छ । एटिएम पनि सहकारी संस्थामा नेपालमै पहिलोपटक विकूले सञ्चालनमा ल्याएको थियो ।