सामुदायिक विद्यालयका छात्रालाई ‘स्यानेटरी प्याड’ निःशुल्क

काठमाडौं । सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई ‘स्यानेटरी प्याड’ निःशुल्क उपलब्ध गराउने तयारी थालेको छ । सरकारले आर्थिक वर्ष २०७६-७७ को नीति तथा कार्यक्रम मार्फत् यस्तो व्यवस्था लागू गर्ने तयारी थालेको हो । 

विशेषगरी माध्यमिक तहमा अध्ययरत छात्रा महिनावारी भएका बेला विद्यालय नै नजाने अवस्था रहेकाले सरकारले शुक्रबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा स्यानेटरी प्याड निःशुल्क वितरणको योजना ल्याएको हो । यो व्यवस्थाबाट देशभरका हजारौं छात्रा लाभान्वित हुनेछन् ।


                  


सरकारले गत वर्ष सुरु गरेको विद्यार्थी भर्ना अभियानलाई निरन्तरता दिई आगामी दुई वर्षभित्र विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई विद्यालय भर्ना गरिसक्ने लक्ष्य राखेको छ । 


यसैगरी, २०७६ देखि २०८५ सम्मलाई सार्वजनिक विद्यालय सबलीकरण दशकका रूपमा कार्यान्वयन गरी शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने, प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार समृद्ध नेपाल निर्माणको आधार कार्यक्रमअन्तर्गत सबै स्थानीय तहमा दुई वर्षभित्र प्राविधिक विद्यालय सञ्चालन गर्ने, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सञ्चालन गर्ने र आगामी दुई वर्षभित्र साक्षर नेपाल घोषणा गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।