Bachelors Portal

बन्दाबन्दीमा नमुना स्वाध्यायन सामग्री

बन्दाबन्दीको बेलामा कक्षा ( ) का साना नानीहरुका लागि  घरमै बसी सिक्नकालागि तयार गरिएको नमुना स्वाध्यायन सामग्री

 

   पाठः कोरोना भाइरस

 

चित्र हेर्दै तिजको लयमा गाउनुहोस्  

हेर्नुस् न आमा, जताततै कोरोना भाइरस आएछ ।

काम् धन्दा रोक्दै, संसारभरी महामारी ल्याएछ।

रोगबाट जोगिनलाई, मुखमा मास्क लगाऔँ ।

ओखती छैन, आफै बचौँ, कोरोनालाई भगाऔँ ।

स्यानिटाइजर

साबुन पानीले हात धुने

 

 

साबुनपानीले मिचिमिची हात धुने बानी गरौँ ।

साबुनपानी नभएमा स्यानिटाइजर प्रयोग गरौँ ।

रोग सर्छ, बच्नु पर्छ, कसैलाई नछोऔँ ।

दुई मिटरको दूरीमा छुट्टाछुट्टै बस्ने गरौँ ।

 हाच्छ्युँ-खोकी आएमा, मुख छोप्ने बानी गरौँ ।

आफ्नो रुमाल आफै बोकौँ, अरुको भर नपरौँ ।

महामारीका बेलामा घरमै बसी रमाऔँ ।

आफ्नै घरमा आमालाई काममा सघाऔँ ।

 

क्रियाकलाप

  • घरमा दाजुभाइ दिदी बहिनीसँग कोरोना भाइरसबाट कसरी जोगिन सकिन्छ छलफल गर्नुहोस् ।
  • माटो मुछेर सानो डल्ला बनाउनुहोस् । यसरी बनाएको डल्लामा मैदा पिठो घस्नुहोस् । माथिको चित्रमा झैँ ठाउँठाउँमा रातो माटो दलेर कोरोना भाइसरसको आकृति बनाउनुहोस् ।
  • बाबुलाई घडी हेर्न लगाएर २० सेकेण्डसम्म साबुन पानीले मिचीमिची हात धुनुहोस् ।
  • आफूसँग भएको मास्क दाजुभाइ दिदी बहिनी सबैले एकैसाथ लगाएर देखाउनुहोस् । मास्क लगाउने तरिका आफ्नो अभिभावकसँग सोध्नुहोस् ।
  • एक मान्छे र अर्को मान्छे बीचको दूरी २ मीटर हुने गरी एक आपसमा बसेर देखाउनुहोस् ।
  • धेरै दिन घर बस्दा तपाईँ के काम गर्नु हुन्छ ?  परिवारमा छलफल गर्नुहोस् ।

 

मूल्याङ्कन

जोडा मिलाउनु होस् ।

तलका प्रश्नहरुको जवाफ दिनुहोस् ।

  • कोरोना भाइरसले संसारभर के ल्यायो ?
  • खोकी लाग्दा र हाच्छ्युँ आउँदा के गर्नुपर्छ ?
  • हात सफा राख्न के के गर्नु पर्छ ?
  • कोरोना भाइरसको महामारीका वेलामा कहाँ जानु पर्छ ?
  • कोरोना भाइरसको ओखती के हो ?

 

थप क्रियाकलाप

अभिभावकलाई अनुरोधः

प्रिय अभिभावकज्यू, अहिले हाम्रो देशमा कोरोना भाइरसको महामारीले गर्दा सबै शिक्षण संस्था बन्द छन् । यस्तो बेलामा आफ्ना बालबालिकालाई घरमै सिक्ने वातावरण बनाइदिनुहोस्। कोरोना भाइरसबाट कसरी बच्ने भन्ने ज्ञान र सिप सिकाउनका लागि यो नमुना पाठ तयार गरिएको हो । बालबालिकालाई झर्को नमानिकन सिकाउनुहोस् । कोरोना भाइरसको प्रभावबाट व्यक्तिगतरुपमा कसरी जोगिन सकिन्छ भन्ने कुरा भिडियो वा अनलाइन सामग्रीबाट पनि सिकाउनुहोस् । आफूले नजानेका कुरा विद्यालयका शिक्षकलाई फोन गरेर सोधेर पनि सिकाउने व्यवस्था मिलाउनुहोस् ।

(विशेष शिक्षामा विद्यावारिधि साेध गरेका लेखक शिक्षा सेवाका उपसचिव हुन् ।) 

Thuprai - Books and E-books