‘एमबीबीएस’पढाउन रु २० लाख सहयोग

ताप्लेजुङको मैवाखोला गाउँपालिका भित्रका ‘एमबीबीएस’ पढ्ने विद्यार्थीलाई पालिकाले रु. २० लाख आर्थिक सहयोग गर्ने भएको छ । अध्ययन पश्चात अनिवार्य पाँच वर्ष गाउँपालिकाभित्र सेवा गर्नुपर्ने सर्तसहित पालिकाले सहयोग गर्ने भएको हो ।

मैवाखोलाको ११ औँ गाउँसभाले पाँच वर्षमा एक डाक्टर उत्पादन गर्ने लक्ष्य सहित यस्तो निर्णय गरेको हो । गाउँपलिकाले एमबीबीएस पढाउन सहयोग गर्न लागेको प्रवक्ता चन्द्रकुमार तामाङले बताए । आगामी आर्थिक वर्ष २०७९–८० को बजेटबाट एमबीबीएस पढाउनको लागि रु २० लाख बजेटसमेत गाउँपालिकाले विनियोजन गरेको छ।

एमबीबीएस अध्ययनका लागि प्रवेश परीक्षामा उत्तीर्ण भएका एकजना विद्यार्थीलाई गाउँपालिकाले आर्थिक सहयोग उपलब्ध गराउने प्रशासकीय अधिकृत देवी तुम्वापोेले जानकारी दिए । उनले भने, ‘एमबीबीएस पढाउनका लागि गाउँपालिकाले पहिलोपटक रु २० लाख विनियोजन गरेको छ । प्रत्येक वर्ष बजेट विनियोजन गर्दै जाने छ ।’

सुगमदेखि दुर्गममा गाउँमा डाक्टर आउन नमान्ने र आइहाल्ले पनि लामो समय नबस्ने भएकाले आफ्नै गाउँबाट डाक्टर उत्पादन गर्नतिर लागेको मैवाखोलाका अध्यक्ष विजय प्रकाश वनेमले बताए ।

पालिकाभित्रका ज्येष्ठ नागरिक अपाङ्गता भएका नागरिकका लागि प्रत्येक महिना घरमै स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि उपचार गर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिका केन्द्र साँघुमा एक जना एमबीबीएस डाक्टरको पदपूर्ति गर्ने र फारर्मेसी सेवासमेत सञ्चालन गर्न गाउँपालिकाले आवश्यक बजेट विनियोजन गरेको उनले बताए । गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने र अतिविपन्न नागरिकलाई नेपालभित्रका जुनसुकै स्वास्थ्य संस्थासम्म पु¥याउन न्यूनतम सेवा शुल्कका आधारमा सेवा प्रदान गर्ने गाउँपालिकाले जनाएको छ ।

Thuprai - Books and E-books