विद्यार्थीको तनाव व्यवस्थापनबारे अध्ययन

‘तपाईंलाई कतै जान हतार छ तर तपाईं अगाडिको मान्छे बिस्तारै सर्दैछ भने के गर्नुहुन्छ ?’ तनावपूर्ण परिस्थितिमा कसरी आफूलाई प्रस्तुत गर्ने ? यी र यस्तै प्रश्न मुलुकका करीब एक हजार विद्यार्थीलाई प्रश्नवाली सोधिने भएको छ ।

‘क्रोधरहित संसार’ संस्थाले काठमाडौँ उपत्यकाका सार्वजनिक र निजी लगानीका ३४ विद्यालयका गरी ती विद्यार्थीका लागि क्रोधको सतह नाप्ने (मापन) व्यक्तिगत प्रश्नावली तयार गरेको हो । यस विषयमा सम्भवतः यस प्रकारको पहिलो अध्ययन हो । क्रोधरहित जीवनका लागि संवेगात्मक शिक्षा र साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको सो संस्थाले संयुक्त राज्य अमेरिकाको ‘इक्युफर पिस वल्र्ड वाइड इन्क’ संस्थाको सहकार्यमा नयाँ अध्ययनको तयारी गरेको हो ।

अध्ययनपूर्व आज शिक्षकहरुका लागि गरिएको तालीम कार्यक्रममा ‘क्रोधरहित संसार’ अध्यक्ष देशमर्दन बस्नेतले तनाव व्यवस्थापनसँग सम्बन्धित २५ प्रश्न लिएर तालीम प्राप्त शिक्षक र सहजकर्ता विद्यालयमा जाने जानकारी दिनुभयो । खुल्ला विश्वविद्यालयका उपकुलपति डा लेखनाथ पौडलले विश्वमा हिंसा र अशान्तिको नकारात्मक असर परिरहेको समयमा विद्यालयमा यस प्रकारको अध्ययन सामयिक हुने बताउनुभयो ।

युनेस्को नेपालका निमित्त नेपाल राष्ट्रिय आयोगका उपसचिव खगराज पौडेलले विद्यार्थीमा गरिने त्यस्ता प्रश्नले उनीहरुमा शान्ति र संवेगात्मक भावना पैदा भई सहज अध्ययनमा सहयोग मिल्ने बताउनुभयो । तालीममा त्रिभुवन विश्वविद्यालयका मानविकी र समाज विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख डा शिशिर सुब्बा, विज्ञहरु डा मुरारीप्रसाद रेग्मी र डा शालिग्राम भट्टराई, त्रिविको केन्द्रीय मनोविज्ञान विभागका सहायक प्राध्यापक सन्देश ढकाललगायतले प्रशिक्षण दिनुभएको थियो ।