शिक्षा र रोजगारबीचको सम्बन्ध

पृष्ठभूमि

  • रोजगारी कुनै पनि मुलुकको अर्थतन्त्रको मेरुदण्ड हो । संसारका धेरै विकासशिल देशहरुको झैँ नेपाली अर्थतन्त्रको जल्दोबल्दो समस्या पनि बेरोजगारी नै हो । पन्ध्रौँ योजनाले नेपालमा बर्सेनि पाँच लाख श्रम योग्य जनशक्ति श्रमबजारमा आउने आँकलन गरेको छ । ती मध्ये कोरोनाकालको अपवादलाई विर्सने हो भने आधा संख्या वैदेशिक रोजगारका लागि विभिन्न मुलुकमा प्रस्थान गर्छन् । यसमध्ये एक लाख उच्च शिक्षा र  सरकारी नोकरीका लागि छुट्टिन्छन् भने बाँकी रहेको डेढ लाख जनालाई स्वदेशभित्र प्रभावकारी रोजगारीको अवसर दिलाउने हो भने हाम्रो जस्तो मध्यम जनसंख्याको आकार भएको मुलुकको आर्थिक विकासमा ठूलो टेवा पुग्दछ । उच्च शिक्षा हासिल गरेको एक जना वयस्क नेपाली आफू कुन काममा जोडिने भन्ने कुरामा अलमल्ल पर्नु अत्यन्तै दुःखको कुरा हो । मानिसमा के काम गर्ने र कसरी काममा सफलता मिल्न सक्छ भन्ने कुराले पिरोलेको छ । रोजगारीका क्षेत्र पहिचान र सुव्यवस्थित गरी श्रमशक्तिलाई जोड्न नसक्नु नेपाली अर्थतन्त्रको कमजोर पक्ष हो । यो काम कुनै एक पक्षले मात्र पूरा गर्न सक्दैन । यस कार्यमा सरकार, शिक्षण संस्था, निजी क्षेत्र र नागरिक समाज सबैको उत्तिकै सक्रियता हुनुपर्छ । रोजगारीका क्षेत्र समय र परिवेसअनुसार परिस्कृत र फेरवदल भइरहने कुरा हो । यसको खोजी कार्य युवा वर्गमा नवप्रवर्तनात्मक अभ्यास, पुराना उद्यम समूहको अनुभव र बजारको प्रवृत्तिको अध्ययन तथा अनुसन्धानबाट पूरा हुन सक्दछ ।

रोजगारी छनोटमा अलमल हुनुका कारणहरु

  • धेरै जसो नेपाली युवामा सजिलो काममा प्रवेश गर्ने रुचीका कारण सरकारी वा निजी क्षेत्रले सिर्जना गर्ने नोकरी छनोटको क्षेत्र बन्न पुगेको छ । नोकरी सेवा दिने क्षेत्र भएकोले उत्पादन कार्यमा यो क्षेत्रमा लाग्ने जनशक्तिको प्रत्यक्ष भूमिका रहन्न । पछील्ला दिनमा समावेशी प्रणालीबाट भर्ना तथा छनोट गर्नु पर्दा यसमा उत्कृष्टताको आधार कमजोर हुन पुगेकोले सक्षम व्यक्ति नै छनोट हुन्छ भन्ने सुनिश्चितता गुमेको छ । सार्वजनिक वा निजी क्षेत्रको नोकरीले केही हदसम्म नागरिकलाई रोजगार बनाएता पनि सेवामा प्रवेश गर्न नसकेका युवालाई वैकल्पिक क्षेत्रमा प्रवेश गर्ने योजना नहुँदा युवामा ठूलो निराशा समेत उत्पन्न भएको छ ।
  • शैक्षिक योग्यता भएका वा कमजोर शैक्षिक योग्यता भएका युवा वैदेशिक रोजगारमा जाने प्रवृत्ति ठूलो छ । विशिष्टिकृत क्षेत्रमा न्यूनतम ज्ञान र सीप नहुनाले विदेशमा ज्यान जोखिममा राखी न्यून ज्यालामा काम गर्नुको परिणाम परिवार विघटन समेत हुन पुगेको छ ।  वैदेशिक रोजगारबाट हरेक वर्ष फर्कने युवा स्वदेशमा प्रवेश गरेपछि के काम गर्ने भन्नेमा अलमलमा परेको पाइन्छ । वैदेशिक रोजगारी वा स्वदेशमै भएको कमाइबाट जम्मा भएको पूँजी केही वर्षमा घर घडेरी र भोजभतेर जस्ता अनुत्पादक काममा सकिएको छ ।
  • अक्सर नेपाली परिवारमा उद्यमी संस्कृतिको अभाव छ । जसले नयाँ पुस्तालाई कामको सिर्जना गर्न वा काममा लाग्न प्रोत्साहन गरोस् । मन लागी नलागी पुर्ख्यौली पेशालाई निरन्तरता दिने, केही समुदायमा सरकारी नोकरीमा प्रवेश गर्न आशिष दिने कामका अतिरिक्त पछिल्ला दिनमा वैदेशिक रोजगारलाई घर परिवारले नै प्रोत्साहन गर्ने गरेको छ । पारिवारिक परनिर्भरता पनि उत्कृष्ट रोजगार खोज्ने काममा वाधक छ ।
  • विद्यालय र विश्वविद्यालय शिक्षामा उद्यमशिलताका पाठ्यक्रम र कार्यक्रम नहुनाले शिक्षा शैद्धान्तिक बन्न पुगेको छ । शिक्षा आर्जन गर्नुलाई शैद्धान्तिक ज्ञान आर्जन गर्नुमा सिमित बनाइएको छ । युवा पुस्ताबाट “विदेश जानका लागि पढ्ने” भन्ने तंतयारी जवाफ आउन थालेको छ ।  आफ्ना सन्ततीलाई विदेश पलायन गराउन अभिभावक स्वयं प्रोत्साहन गरिरहेका छन् ।
  • काम र उत्पादनका दृष्टिले नेपाली समाज निष्कृय र परम्परागत छ । गाउँबाट बसाइ सराइका कारण सहर भरिभराउ बनेको छ भने ग्रामीण भेग पातलो बसोबास र बाँझोपनका साथ जंगल सरह बनेका छन् । वैदेशिक रोजगारमा जानेले पठाएको रेमिट्यान्समा मुलुक अढेको छ भने विदेश जाने सदस्यले पठाएको पैसाले बाँकी परिवार सहरमा भाडा तिरेर बसेको छ । अर्काथरी घर भाडा असुलेर जीवन निष्कृय बनाइरहेको छ ।
  • कुनै संगठित निकायबाट नवप्रवर्तनका लागि प्रोत्साहन गर्ने संस्कार बसी सकेको छैन । सरकारी स्तरबाट आजको हाम्रो खाँचो के हो ?  हाम्रो सामर्थ्य कति छ र धेरै भन्दा धेरै मानिसलाई कसरी काममा लगाउन सकिन्छ भन्ने विषयमा खोजि गर्न अध्ययन भइको छैन ।
  • सरकारी संयन्त्र प्रगतिशील छैन । नेपालमा नागरिक समाज उद्यममुखी कहिल्यै थिएन र आज पनि छैन । सधै सरकारको आलोचना गर्ने र अधिकार मात्र खोजीरहने काम यो समूहको पेवा बन्न पुगेको छ । यस भित्रको विज्ञ समूह विदेश पलायन हुन चाहन्छ । जनताले बहुमत वा अल्पमत जुन स्थानमा राखे पनि राजनैतिक पार्टीहरु शक्ति सङ्घर्षको भूमरीभित्र रुमलिन रमाउँछन् । राजनैतिक दाउपेच, सरकार गठन र  विगठन मात्र छलफलको विषय बन्न पुगेको छ । स्थायी सरकार भनेर चिनिने कर्मचारीतन्त्र स्वार्थी चरित्र प्रदर्शन गर्दै संकिर्ण घेराभित्र सीमित छ । अहिले त योग्यता प्रणाली (Meritocracy) को अन्त्य भएकाले कार्यक्षमता कमजोर हुन गइ निर्वाहमुखी बनेको छ । उद्योग मन्त्रालयको विगतको प्रयास समेतलाई हेर्दा हालको कर्मचारी तन्त्रले मुलुकमा उद्यममैत्री वातावरण बनाउने सामर्थ्य राख्दैन ।

नेपालमा अभ्यासमा आएका प्रमुख रोजगारका स्रोतहरु

एउटा पेशा दीर्घकालसम्म कामयावी नहुन पनि सक्छ । विगतमा हातले गर्ने काममा आज मेशीनको प्रयोग हुन जाँदा धेरै मानिस पेशाविहीन बनेको उदाहरण छ । वस्तु उत्पादनको परम्परागत पेशा सेवा उत्पादनमा रुपान्तरण भएको छ । नेपालमा अझै पनि कामका क्षेत्रमा पर्याप्त मात्रामा प्रविधिको प्रयोग नहुनाले काम प्रति मानिसको आकर्षण हुन सकेको छैन । कामलाई प्रतिष्ठासँग तुलना गर्ने संकिर्ण सोचका कारण पनि मानिसको आयस्तरमा प्रगति हुन सकेको छैन । कतिपय कामले धरै किसानहरुलाई सीमान्तकृत बनायो । कामको निरन्तरतामा क्रम भंग हुनुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति, महामारी, आर्थिक मन्दी आदि पर्दछन् । भूमण्डलीकरणको असर नेपालको पेशा तथा रोजगारको क्षेत्रमा समेत परेको पाइन्छ । यहाँ केही परम्परागत र केही आधुनिकीकरणका साथमा नेपालमा अपनाइएका व्यवसायको संक्षिप्त चर्चा गरिएको छ, जसले धेरै मानिसलाई रोजगार बनायो । कुन व्यवसायमा कति मानिस रोजगार भए सो तथ्याङ्क उपलब्ध हुन सकेन ।

क्र सं

उद्योगको नाम

रोजगार उपलव्ध गराउने प्रमुख क्षेत्र

सक्रिय अवधी

हालको अवस्था

प्रमुख समस्या

Carpet Industry

 

(Production)

  • ऊन र धागोबाट नेपाली कामदारले बनाउने गलैँचा ।
  • कुनै बेला विदेश निर्यात समेत गरिएको ।
  • फुर्सदका बेलामा बनाउने घरेलु उद्योगको दर्ता छैन । तथ्याङकको अभाव छ ।

 

५० को दशक

  • ग्रमीण क्षेत्रमा घरेलु

उद्योगका रुपमा

सिमित ।

 

  • कुटनीतिक पहलबाट विदेश निर्यात गराउन नसक्नु ।
  • विदेशी उत्पादनसँग प्रतिस्पर्धा

गर्न नसक्नु ।

  • ऊन र धागो विदेशबाट ल्याउन पर्ने अवस्था ।
  • नेपाली उपभोक्ताको क्रय शक्ति कमजोर हुनाले घरेलु खपत कमजोर रहेको ।

Garment Industry

 

(Production)

  • विदेशमा बनेका कपडालाई महिला वा पुरुषले लगाउने डिजाइनमा सिलाइ कटाइ गरी विदेश निर्यात समेत गरिएको ।
  • भारतीय कालिगढका साथमा अदक्ष नेपाली कामदारले पनि रोजगार पाएका
  • विद्यालय, कलेज र संगठित संस्थामा प्रयोग हुने ड्रेस उत्पादन ।

६० को दशक

  • विदेश निर्यात हुन नसकेका कारण बन्द हुने अवस्थामा पुगेकाले घरेलु खपतमा निर्भर ।
  • दक्ष कालिगढ भारतबाट झिकाउनु पर्ने अवस्था कायम ।
  • प्रतिस्पर्धी अन्तर्राष्ट्रिय बजारमा पहुँच पुर्‍याउन नसक्नु ।
  • कमजोर कुटनीतिक पहल
  • स्वदेशी जनशक्तिलाई सीप विकास गराउने प्रयत्न कमजोर हुनु वा युवाले सिक्न नचाहनु ।

Edu-business

 

(Business in Education Sector)

 

(Service and Production)

  • निजी विद्यालय / कलेज
  • शैक्षिक परामर्श सेवा
  • ट्युशन /कोचिङ/ लोक सेवाका  कक्षा
  • सिकाइ सामग्रीको उत्पादन तथा विकृवितरण ।

५० को दशकबाट निरन्तर

कोरोना कालमा कठिनाइ भोगेता पनि सञ्चालनमा छन् ।

  • साना लगानीका उद्यमलाई कठिनाइ ।
  • शिक्षालाई व्यापारको एक क्षेत्रका रुपमा कानुनले लिए पनि सेवाको क्षेत्र भनी दिग्भ्रमित पार्ने काम भएको ।

e-business

(ICT based business)

(Service, Trade and Production)

नेपालमा उत्पादन नभएता पनि विदेशमा निर्मित कम्प्युटर मोबाइल फोन लगायतका डिजीटल सामग्रीको ।

घरायसी प्रयोजनका इलेक्ट्रोनिक सामग्रीहरुको व्यापार ।

ईलेक्ट्रिकल सामग्रीको व्यापार ।

सफ्टवयेर तथा एपको विकास र व्यापार ।

अनलाइन व्यापार ।

शेयर कारोबार ।

 

६० को दशक बाट तिब्रता ।

  • दिनानुदिन बढ्दो अवस्थामा रहेको ।
  • शिक्षित युवाको आकर्षण ।
  • कोरोनाकालमा झनै लोकप्रिय ।
  • दैनिक कारोबारमा प्रयोग ।
  • घरायसी काममा सघाउ पगेको ।
  • नेपालमा सामग्री उत्पादन नहुनु
  • नेपालमा बनेको सफ्टवयर तथा एपको सेवा क्षेत्र कमजोर हुनु ।

Real Estate and Housing

 

(Service and Trade)

घर जग्गा व्यवसायः

  • जग्गा प्लटिङ गरि बेच्ने ।
  • साना साना घर बनाइ बेच्ने
  • ठूला अपार्टमेन्ट बनाइ तल्ला बेच्ने ।
  • कोलोनी बनाइ घर बेच्ने ।

४० को दशकबाट

निरन्तर

सरकारी नीतिले बेला बेला फरक पार्ने ।

कृतिम दर बृद्धिले गर्दा छोटो समयमा मूल्यमा अधिक बृद्धि हुनाले सामान्य आम्दानी हुनेले घर जग्गा खरिद गर्न नसक्ने अवस्थामा पुगेको ।

Trade and supply

 

 

(Purely Trade)

दोश्रो वा तेश्रो देशबाट खाद्यान्न, लत्ता कपडा, निर्माण सामग्री, सजावट लगायतका बिभिन्न उपभोग्य सामान झिकाइ मुनाफा राखी नेपाली बजारमा बेच्ने ।

परंपरागत

 

हाल ठूला व्यापारिक महलमा धेरै प्रकारका सामान एकै ठाउँमा उपलव्ध हुने गरी व्यवसाय चलेको छ जहाँ धेरै कामदारले रोजगार पाएका छन् ।

सिमित व्यक्तिले ठूलो मात्रामा ल्याउन सक्ने । भारतीय व्यापारीको बोलवाला । धेरै जसो सामानहरु भारतबाटै आउने ।

साना व्यापारीहरु ठूला व्यापारीको भर पर्नु पर्ने ।

Agro farming and agro based industries

 

(Production)

  • धेरै संख्या/मात्रामा गाई, भैँसी, बाख्रा, कुखुरा, बङ्गुर, माछा, मौरी पालन
  • तरकारी, फलफूल र पुष्प व्यवसाय
  • चामल, पिठो र तेल पेल्ने मिल ।

६० को दशकबाट आधुनिक खेतीको शुरुवात

यो निरन्तर चली रहेको पेशा व्यवसाय भएता पनि वैदेशिक रोजगारबाट फर्किएका युवाले ठूला फार्ममा काम शुरु गर्नाले थोरै आशा पलाएको छ ।

  • प्लटिङले जग्गा उपलव्ध नहुनु ।
  • कमजोर विमा प्रणाली
  • बजारको अभाव
  • विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्नु
  • प्रविधिको प्रयोग नहुनु ।

Machinery Maintenance

(Service and Trade)

  • केही औद्योगिक र यातायात क्षेत्रका मेसीनरी सामानको मर्मत

मेशीनको प्रयोग हुँदै गर्दा क्रमशः रोजगार बढेको ।

दिनानुदिन माग वढ्दो ।

  • नेपाली श्रमिकले सीपको अभावमा काममा जोडीन नसकेका ।
  • सामान्य मर्मतबाट चल्ने सामान कालिगढको अभावमा फ्याँक्नु परेको ।
  • मर्मत अति महँगो ।

Construction/ material production

 

(Trade, Production, Service)

  • ठेक्का पट्टा
  • ईँटा वा घर बनाउने ब्लकको उत्पादन
  • सिमेन्ट उत्पादन
  • फलाम वा काठको काम रङ्गरोगन
  • टाएल, मार्बल सम्बन्धी काम
  • सडक निर्माण, कालोपत्रे गर्ने काम

शहरीकरणको विकाससँगै बढ्दो क्रममा ।

 

दिनानुदिन बढ्दो क्रममा रहेको । भुईँचालोले ठूलो उत्पादनसाथ धेरैलाई रोजगार दिएको ।

संघीयताको कार्यान्वयन पछी नयाँ निर्माणले तिब्रता पाएको छ ।

 

  • भारतीय सामान र श्रमसँग नेपाली सामान र श्रमले प्रतिस्पर्धा गर्न नसक्नु ।
  • भारतीयको दाँजोमा नेपाली कामदारको सीप कमजोर हुनु ।
  • उच्च कार्य क्षमताका मेशीन र दक्षकामदारको अभावमा ठेकेदारले काम ओगट्नाले काममा विलम्ब भएको ।

१०

Tourism Industry

 

(Trade and Service)

  • पर्बतारोहका सामग्रीको व्यापार
  • पर्यटन गाइड
  • होटेल, रेष्टुरेन्ट र होमस्टे
  • यातायात

विगत पाँच दशक देखी

निरन्तर

आन्तरिक पर्यटनमा समेत जागरण आएको ।

 

  • महामारीमा शून्य अवस्थामा पुग्नु
  • सेवा र साधनको स्तर सुधारीन नसक्नु
  • स्वदेशी उत्पादनको पूर्ण प्रयोग हुन नसक्नु

११

M-business

(Medical business)

 

(Service and Trade)

  • अस्पताल
  • एम्बुलेन्स
  • औषधि उत्पादन तथा विक्री
  • प्रयोगशाला
  • क्लिनिक

विगत ३ दशक देखी

निरन्तर

देशभरी फिँजारीएको ।

  • स्वास्थ्य सुविधा न्युन आय भएकाका लागि पहुँच भन्दा बाहिर हुने गरी महङ्गिएको ।
  • अधिकाँश औषधी र चिकित्सा सामग्री विदेशबाट आउने ।

१२

Manpower company

(Purely Service)

  • राष्ट्रिय श्रमिक विदेश पठाउने काम
  • विशेष गरी खाडी र मलेसीयामा कामदार पठाउने कामका लागि खोलिएका कम्पनिले आफ्नो कार्यालयमा दिने रोजगार ।

साठीको दशकबाट

प्रमुख सहरहरुबाट गाउँ गाउँका वेरोजगार युवा संकलन गरी विदेश पठाइएको ।

  • फरक देशको फरक नीतिले असर पार्ने ।
  • श्रमिक ठगिने ।
  • अदक्ष कामदारका कारण कम आय हुने काममा पठाइएको ।
  • वढी जोखिमका कारण श्रमिकको मृत्यु संख्या वढी हुँदा यो पेशा अलोकप्रीय ।
  • वैदेशिक

१३

F-business

(Business related to financial institutions)

(Purely Service)

  • बैँक, विमा कंपनी तथा सहकारी जस्ता बित्तिय संस्थाले उपलव्ध गराउने रोजगार

पचासको दशकबाट

बित्तिय क्षेत्रका निजी संस्थाहरुले ठूलो संख्यामा प्रत्यक्ष रोजगार उपलव्ध गराउनुका साथै उद्यमी युवालाई कर्जा उपलव्ध गराएर स्वरोजगारको अवसर दिएको छ ।

  • पारीश्रामिकको अन्तर ज्यादै ठूलो ।
  • लगानीका नयाँ क्षेत्रको खोजीमा कमजोर ।

१४

Transportation

 

Service and Trade)

  • सार्वजनिक यातायात
  • सामान ढुवानी

पचासको दशकबाट तिब्रता

 

  • नियमन प्रणाली फितलो
  • सरकारलाई नटेर्ने ।
  • बाटोको अवस्था र अस्वस्थ प्रतिस्पर्धाले गर्दा यात्रा जोखिमपूर्ण

१५

Jewelry and beautification

 

(Trade and Service)

  • सुन, चाँदीका गरगहना बनाउने काम
  • चुरा, पोते,  टिका, धागो लगायतका सौन्दर्यताका सामग्रीको विक्री वितरण

परंपरागत कार्य

निरन्तर प्रयोगमा आउने

  • कच्चा पदार्थ विदेशबाट
  • दक्ष कालिगढ विदेशी

१६

Arts and crafts

(Production, Service and Trade)

  • मुर्तिकला, काष्ठकला, प्रस्तरकला, थान्का, सजावट र परंपरागत पूजाका सामग्री बनाउने कार्य

परंपरागत कार्य

निरन्तर प्रयोगमा आउने ।

राष्ट्रिय संस्कृति झल्किने उत्पादन ।

  • नयाँ पुस्ता यस्ता काममा

विकर्षित

१७

Hair dressing, beauty parlor and massage center

(Service and trade)

  • कपाल काट्ने
  • महिलाको कपाल र शुन्दरताको काम
  • पर्यटकीय क्षेत्रमा मसाज गर्ने काम

परंपरागत कार्य भए पनि आधुनिकीकरण हुँदै गरेको ।

  • दीगो पेशा र राम्रो आम्दानी
  • पुरुषको कपाल काट्ने काममा धेरै भारतीय कामदारको प्रयोग ।
  • मसाजको प्रयोग न्यून मात्र ।
  • नेपाली युवा यो पेशामा आकर्षित नहुनु ।
  • तालिम र अध्यापन पक्ष कमजोर
  • यी कार्यमा प्रयोग हुने सामान विदेशबाट आउने ।

१८

National and Multinational Company

(Production)

  • कोकाकोला, पेप्सी, KFC, चाउचाउ, बिस्कुट, दाना उत्पादन, सिमेन्ट कारखाना आदिमा उपलव्ध रोजगार

विगत ५० को दशकबाट तिब्रता आएको

  • राष्ट्रिय उद्योगलाई निर्मूल गरिएता पनि निजी र अन्तर्राष्ट्रिय उद्योगलाई प्राथमिकता दिइएको ।
  • ठूलो संख्यामा भारतीय कामदार कार्यरत ।
  • स्वदेशी कामदारको सीपमा कमी ।
  • राष्ट्रिय राजनीतिले स्वदेशी कामदारलाई प्रभावीत तुल्याउने भएकोले उद्यमीले भारतीय कामदार ल्याएका ।
  • अधिकाँश कच्चा पदार्थ विदेशबाट आउने ।

माथि उल्लेख गरिएका कामभित्र दर्जनौं कामहरु हुन्छन् । यी परम्परागत कामलाई आधुनिकीकरण दिने प्रयास गर्ने हो भने लाखौँ जनाले नयाँ रोजगार पाउँछन् भने सेवा र उत्पादनको गुणस्तरमा समेत सुधार आउँछ ।

युवा पुस्ताको प्रयासले रोजगारीमा दिएको नयाँ मोड

सार्वजनिक यातायातलाई सहज बनाउन टुटलले गरेको प्रयास, घरमै मर्मत सेवा दिन सजिलो मर्मत सेवा, व्यस्त जीवनमा राहत दिन इसेवा जसका माध्यमबाट सरकारी निकायले समेत फाइदा लिन सकेका छन्, क्लाउड फ्याक्ट्री, विभिन्न प्रकारका अनलाइन बजार, मागेकै ठाउँमा खाना पुर्‍याउने फुडमान्डु, शैक्षिक सामग्री निर्माता कारखाना, खालीसिसी आदिले दिनानुदिन सेवा विस्तार गरेसँगै धेरै युवाले रोजगार पाएका छन् । अहिले वैदेशिक रोजगारबाट फर्की आएका युवाले कृषिमा आधुनिक खेतीको अभ्यास शुरु भएको छ । कृषिमा निजी क्षेत्रले प्रविधि समेत भित्र्याएको छ । यस्ता काममा राज्यले नीति मात्र बनाइदिए पुग्छ, बाँकी सबै काम युवाले गर्छन् । निजी क्षेत्रलाई यस्ता कार्यमा प्रोत्साहन गर्नु जरुरी छ । आवश्यक  पर्छ केवल सोच र अठोटको ।

विद्यालय, विश्वविद्यालय र तालिम केन्द्रका भूमिका

नेपालको विद्यालय शिक्षाको पाठ्यक्रममा उद्यमशीलताका विषयहरु राष्ट्रिय शिक्षा पद्धतिको योजना, २०२८ ले उल्लेख्य व्यवस्था गरेको थियो । तीन प्रकारका माध्यमिक विद्यालयमध्ये एउटा प्रकार “व्यावसायिक माध्यमिक विद्यालय” थियो । पुरानो शासन व्यवस्थामा गरिएका सबै अभ्यास खराब भन्ने नाराका साथ विद्यालय तहको पाठ्यक्रमबाट उद्यमलाई पूर्णरुपले हटाइनु नै अहिलेको शिक्षाको त्रुटी थियो । विद्यालय तहदेखि नै “सिक्दै गर्दै” कार्यक्रमलाई निरन्तरता दिइएन भने ठूलो उमेरमा पुगेपछि काम प्रति वितृष्णा जाग्नाले शिक्षित बेरोजगारीको अवस्था आएको अनुभव संकलन भयो । राष्ट्रिय युवा परिषद्ले प्रदेश सरकार मार्फत कार्यन्वयन गर्ने गरी ल्याएको “एक विद्यालय एक उद्यम” कार्यक्रमले लोकप्रियता कमाइ रहेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेश तहमार्फत विभिन्न विद्यालयमा कार्यान्वयन गर्ने गरी “सिक्दै गर्दै” कार्यक्रम अभ्यासमा ल्यायो । यस्ता कार्यक्रमले निरन्तरता पाउनु जरुरी छ ।

देशमा प्राविधिक शिक्षाको प्रवर्धन गर्ने गरी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को गठन भयो तर यसले आफ्ना कार्यक्रमलाई सीपमूलकभन्दा पनि उच्च शिक्षामा प्रवेश गर्ने वैकल्पिक तहका रुपमा परिणत गर्नु, तालिम व्यवहारिकभन्दा सैद्धान्तिक बढी हुनु  र छोटो अवधिको सीप सिकाउने प्रशिक्षकको अभाव हुनु जस्ता कारणले “कामका लागि सीप विकास”का क्षेत्रमा ठोस उपलव्धी हुन सकेन । नेपाल सरकारको “सीप विकास प्रशिक्षण केन्द्र”को सञ्चालन बारम्बार सरुवा भइरहने, विशिष्टिकृत ज्ञान नभएका, सामान्य प्रशासन पृष्टभूमिका जनशक्तिबाट हुने भएकोले कहिल्यै पनि उद्देश्य अनुसार काम गर्न सफल भएन । निजी क्षेत्रबाट सञ्चालन भएका तालिम केन्द्रहरु सर्बसाधारणको पहुँच बाहिर पर्नाले पर्याप्त सेवा दिन सफल भएनन् । उनीहरु आफ्नै टिकाउपनमा अल्झिनु पर्‍यो । यसरी मुलुकमा गुणस्तरीय र व्यावसायिक सीप दिने तालिम केन्द्को अभावमा जनशक्तिलाई सीपमा जोड्न सकिएन । यस वाधालाई चिर्न प्रत्येक प्रदेशमा स्तरीय तालिम केन्द्रको स्थापन हुनु जरुरी छ । सीप विना कुनै उद्यम सम्भव छैन ।

विश्वविद्यालय शिक्षाको कुनै पनि विषयको पाठ्यक्रमले उद्यमशीलतालाई समेटेको हुनुपर्छ । उद्यम गरेका विद्यार्थीलाई मात्र भर्ना लिने कोर्स समेत बनाइनुपर्छ । काम र अध्ययनको सम्मिलनबाट मात्र शिक्षाको गुणस्तर उकासिन्छ । विभिन्न प्रकारका उद्यममा अध्ययन अनुसन्धान गर्ने काम विश्वविद्यालयले गर्नुपर्छ । अध्ययन तथा अनुसन्धान विना उद्यमको सफलता सम्भव छैन । नवप्रवर्तन र ईन्क्युवेशनका कार्यक्रमहरु हरेक कलेजमा नियमितरुपमा चलाइनु पर्दछ । प्रतिस्पर्धामा छानीएका योजनालाई ईन्क्युवेट गरी बित्तिय सहयोगका साथ नयाँ उद्यम स्थापनाका लागि स्थानीय तहलाई जिम्मा लगाइनु पर्छ । यसरी कार्य क्षेत्रमा खटाइएका उद्यमीलाई आवश्यक सहयोग गर्न मेन्टोरको प्रवन्ध विश्वविद्यालयले गर्नुपर्छ ।

कसरी संभव छ त रोजगारको विस्तार ?

सबै मानिस उद्यमी बन्ने सामर्थ्य पनि राख्दैनन् र यो संभव पनि छैन । वर्तमान नेपालको प्रशासनिक नक्सामा सात प्रदेश र ७५३ वटा स्थानीय तह छन् । एक प्रदेशबाट एक हजारका दरले बर्सेनि सात हजार जना युवा सफल उद्यमी बन्न सके र उनीहरुले आफ्नो उद्यममा ५० जनाका दरले अन्य युवालाई रोजगार बनाउन सक्दा तीन लाख ५० हजार जना व्यक्तिहरु रोजगारमा लाग्छन् । यसरी उद्यमी बनाउनका लागि छानिएका युवाको परियोजनामा सघाउनका लागि सीप सिकाउने तालिम केन्द्र र प्रादेशिक विश्वविद्यालयहरुलाई जोड्नु पर्छ । उद्यम दर्ता गर्नका लागि उद्यमी युवाले उद्योग मन्त्रालय र  उद्योग बिभाग सम्म धाउन नपर्ने व्यवस्था भने सरकारले मिलाउनै पर्छ । आफ्ना क्षेत्रका युवालाई उद्यममा लगाउने, उद्यमका नयाँ क्षेत्र खोजी गराउने, बजारको खोजी तथा व्यवस्था मिलाउने, कामका लागि सीप विकास गराउने र दर्ता प्रक्रिया जस्ता सबै कार्य स्थानीय सरकारले गर्नुपर्छ । स्थानीय सरकारले संघीय सरकारलाई उद्यमको तथ्याङ्क मात्र पठाउने हो । बैँक तथा वित्तीय क्षेत्रलाई यस कार्यमा जोड्ने काम भने संघीय सरकारले मिलाउने पर्ने हुन्छ । हालको सहुलियतपूर्ण कर्जाको सुविधा यो योजनामा उपयोग गर्न सक्दा फलदायी हुनसक्छ । सीपमूलक तालिम दिने संस्था र विश्वविद्यालयका कार्यक्रमलाई यस काममा जोडेर मात्र सफल उद्यमी उत्पादन गर्न सकिन्छ । अहिले तीनै तहको सरकारका नीति तथा कार्यक्रममा उद्यमी उत्पादन गर्ने ठोस कार्यक्रम समेट्दा, गैह्र सरकारी क्षेत्रले नयाँ आर्थिक वर्षको वजेट  प्रस्ताव गर्दा र निजी क्षेत्रले हर बखत रोजगारको सिर्जना गर्ने कार्यक्रमलाई योजनावद्धरुपमा समेट्दा यो कार्य विलकुल संभव छ ।

लेखक राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख हुन् ।