Bachelors Portal

छात्रवृत्तिले बालबालिकाको पढाइ नियमित

Managed Admission 2022

दैलेखको गुराँस गाउँपालिका–१ निवासी हिमा विक सानै छँदा बुवाको मृत्यु भयो । परिवारमा कमाइकाज गर्ने अभिभावक नभएपछि उनलाई आर्थिक समस्या थपियो । तर पनि आमाले जेनतेन गाईभैँसी पालेर घरखर्चको जोहो गरिन्  । हिमा माथिल्लो कक्षामा पढ्न थालिन् , तब उनलाई कापी, किताब र पढाइ खर्च अभाव हुन थाल्यो । यतिसम्मकि उनलाई अर्थाभावकै कारण आफ्नो पढाइ छुट्ने चिन्ताले सताउन थाल्यो ।

अर्थाभावकै कारण हिमा विद्यालय छाड्ने निर्णयमा पुगिन् । त्यतिबेला उनी ८ कक्षामा पढ्दै थिइन् । । उनकी आमा तुलसी विक  भन्छिन्,, “घरमा हामी आमाछोरीमात्रै छौँ, कमाउने मान्छे नहुँदा घरखर्च चालाउनै मुस्किल छ । विद्यालय पोशाक र किताब किन्ने पैसा नहुँदा छोरीले स्कुल नै छाड्ने अवस्था आयो, गरिबलाई त पढ्न पनि सजिलो रहेनछ ।”

तर अर्थावस्थाका कारण समस्या  परेकी हिमाले अहिले छात्रवृत्ति पाउन थालिन् । छात्रवृत्तिले गर्दा हिमाको पढाइ पनि नियमित भएको छ ।

गुराँस गाउँपालिकामा सेभ द चिल्ड्रेनसँगको साझेदारीमा लागू भएको ‘जोखिम बालबालिकासँग अध्यक्ष कार्यक्रम’ मार्फत सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले छात्रवृत्ति उपलब्ध गराउन थालेको हो ।

संस्थाको पहलमा छोरीको पढाइ नियमित भएपछि हिजोआज तुलसीको अनुहारमा खुसी छाएको छ । “हामी गरिबको कोही छैनन् भन्ने लाग्थ्यो”, उनले भनिन्, “छोरीको नाममा गाउँपालिका र सोसेकले रु २५ हजार रकम जम्मा गरिदिनुभएको रहेछ, त्यही पैसाको ब्याजबाट अहिले छोरीको पढाइ खर्च टरेको छ”,

उनी अहिले १० कक्षा पढ्दै छिन् । हिमामात्रै होइन, गुराँस गाउँपालिका–४ रिठ्ठाका प्रेम मल्ल र देवीसरा मल्लका आमाबुवा दुवै छैन  । उनीहरू अहिले हजुरआमाको संरक्षणमा छन् । उनीहरूलाई पनि पढाइ खर्च जुटाउन हम्मेहम्मे थियो । शिक्षामा लाग्ने सबै खर्च जुटाउने माध्यम केही थिएन । अनि जोखिम बालबालिकासँग अध्यक्ष कार्यक्रममार्फत प्रेम र देवीसरा पनि छात्रवृत्तिका लागि छनोटमा परे  ।

सहकारीमा जम्मा भएको रु २५–२५ हजार रकमबाट आउने ब्याजले हिजोआज उनीहरूको पढाइ खर्च जुटेको छ । अर्थाभावकै कारण पढाइ पूरा गर्न सकिन्न कि भन्ने चिन्ता अहिले हटेको छ ।

प्रेम अहिले १० कक्षामा पढ्छन्  भने देवीसरा ८ कक्षामा पढ्दै छिन्  । उनी भन्छन्, “देख्दा सानो रकम लाग्ला, तर यसले हाम्रो पढाइ नियमत भएको छ ।”

आफूहरूको २५ हजार रकम सहकारीमा जम्मा भइरहेको जनाउँदै उमेरले २० वर्ष पुगेपछि उक्त रकम पाउने प्रेम बताउछन् । गुराँस गाउँपालिकाले विसं २०७६ मा ल्याएको जोखिम बालबालिकासँग अध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

हाल गाउँपालिकाका आठवटै वडाका सात सय ६७ जना जोखिम तथा असहाय बालबालिका यो कार्यक्रमबाट लाभान्वित भएका छन् । जसमध्ये तीन सय ८७ बालिका र तीन सय ८० बालक रहेको सोसेक नेपालका बाल संरक्षण संयोजक निर्मल अधिकारीले जानकारी दिए ।

Select college / campus