लेखपढ नगर्ने, एकै ठाउँमा नबस्ने र खेतीपाती नगर्ने राउटे समुदायका बालबालिका आजभोलि लुकेर पढ्न थालेका छन् । सदियौँदेखि फिरन्ते जीवन बिताउँदै आएका राउटे बालबालिका पछिल्लो समय आफ्ना अग्रजदेखि लुकेर पढ्न थालेका हुन् ।
जंगलमा फिरन्ते जीवन बिताउने यो समुदाय आफ्ना छोराछोरीलाई पढाउन चाहँदैन् । पढ्नु यिनीहरूको पुर्खेली मान्यता विपरीत हो । लेखपढ गरे सन्तान मासिन्छ भन्ने मान्यताका कारण यिनीहरू आफ्ना बालबालिकालाई पढाउन चाहँदैनन् ।
एक ठाउँमा बसोबास गरेका बेला परिवारका सदस्यको मृत्यु भएमा अर्को ठाउँमा बसाइ सर्छन् । यिनीहरू लामो सयमसम्म एकै ठाउँमा बसोबास नगर्ने हुँदा यिनीहरूको सामाजिकीकरणमा नै समस्या परेको समाजशास्त्री प्रा.डा. रामप्रसाद पोखरेल बताउँछन् । ‘अशिक्षाका कारण यिनीहरू सामान्य सरूवा रोग तथा प्रसुतिका समयमा अकालमै मर्छन ।’ प्रा.डा पोखरेल भन्छन्, ‘यिनीहरूलाई शिक्षा प्रदान गर्न नसक्नु २१ औं शताब्दिको चुनौती हो ।’
दैलेखको गुराँस गाउँपालिका–५ कान्छीबजारका नवीन शाही बस्तीदेखि टाढा गएर जोडी शिक्षकसंग पढ्छन् । ‘हजुरबुबाले थाहा पाउनु भयो भने मार्नु हुन्छ त्यसैले लुकेर पढ्छु ।’ उनले भने, ‘आजभोलि अक्षर चिन्न थालेको छु, पढेर डाक्टर बन्ने सपना देखेको छु ।’
उनलाई पढेर डाक्टर बन्नु छ । त्यसैले अक्षरसम्म चिन्ने भएका छन् । उनलाई जसरी डाक्टर बन्नु छ । तर डाक्टर कसरी भइन्छ ? कति पढ्नुपर्छ ? कति खर्च लाग्छ ? थाहा छैन तर उनलाई जसरी पनि डाक्टर बन्नु छ । किनकि उनी आफ्नी आमाले जस्तो अरू कोही पनि अकालमा मरून् भन्ने चाँहदैनन् । विगत केही समय अगाडिदेखि उनी जोडी शिक्षकसंग पढ्छन् । भन्छन्, ‘जसरी डाक्टर बन्नु छ तर कसरी थाहा छैन आजभोलि पनि आमाबुबाले पढेको थाहा पाउनु भयो भने पढ्न जान दिनुहुन्न ।’
उनी जस्तै अन्य १५ जना राउटे बालबालिका जोडी शिक्षकसंग लुकेर पढ्दै आएका छन् । उनीहरू मध्ये ४ जना छात्रा र ११ जना छात्र छन् । लुकेर पढ्दै आएका यी बालबालिका सामाजिक सेवा केन्द्र नेपाल नामक संस्थाले सञ्चालन गरेको राउटेहरूका लागि घुमन्ते परियोजना अन्तर्गत जोडी शिक्षकसंग पढ्दै आएका हुन् ।
परियोजनामा जोडी शिक्षकले राउटे बालबालिकालाई अभिभावबाट लुकाएर पढाउँछन् । परियोजनाको अवधि बिचैमा सकिएमा वा पुनः नदोहोरिएमा पढेर ठुलो मान्छे बन्ने यी राउटे बालबालिकाको सपना सपनामा मात्र सीमित रहने प्रा.डा. पोखरेल बताउँछन् ।
यी राउटे बालबालिकालाई पढ्ने त रहर छ तर घरमा बुबाआमाले थाहा पाएमाा कुटाइ खाने डर उत्तिकै छ, पढ्न नपाइने चिन्ता त्यतिकै छ । ‘घरमा आमाबाबाले थाहा पाए यहाँ आउन दिनु हुन्न, त्यसपछि पढ्न पाइँन्न ।’ नविनले भने, ‘हामी यहाँ पढ्न आएको थाहा पाएमा बाबाले पिट्नु हुन्छ ।’
उनीहरूलाई बुबाआमाको मात्र होइन मुखियाको डर पनि त्यतिकै छ । यो समुदायका मुखियाले बालबालिकाले पढेको थाहा पाएमा उनीहरूका आमाबुबासंग पनि रिसाउछन् रे । ‘मुखियाले थाहा पायो भने रिसाउँछ’ पढ्दै गरेका बालक विर्खबहादुरले भने, ‘आमाबुबाले पनि पढ्नु भएको छैन हामीलाई नि पढ्न दिनु हुन्न, अरूले पढेको देख्दा पढ्न मन त लाग्छ तर के गर्नु लुकेर पढ्नुपर्छ घरमा पढ्न पाइँदैन ।’
लोपोन्मुख जातिको सूचीमा सूचीकृत राउटे परिवारका कोही मान्छे मर्ने बित्तिकै ठाउँ छाड्ने चलन छ । मान्छे मरेपछि त्यो ठाउँ आफ्नो जातिलाई नफापेको ठानी मरेको भोलिपल्टै ठाउँ छोड्ने संस्कारले गर्दा यिनीहरू अझै पनि कष्टदायी अवस्थामा बाँची रहेको प्रा.डा पोखरेल बताउँछन् ।
एउटै ठाउँमा बसोबास गर्दा कुकाठ सकिने, काठबाट बनाइएका कोसी, मधुश, आरी र खाटले बजार नपाउने हुँदा राउटे एक ठाउँमा नियमीत नबसी ठाउँ सर्ने गरेको मुखिया राउटेका छोरा शिवराज शाहीको भनाइ छ ।
स्थायी बसोबास, खेतीपाती, लेखपढलाई राउटे समुदायले कहिल्यै स्वीकार्न सकेको छैन । त्यसैले बालबालिका लुकेर पढ्दै आएका छन् । योे समुदायका साना बालबालिकाहरू पढ्न चाहान्छन् । तर आफ्नो संस्कारले गर्दा अभिभावकसंगै काठका भाँडा बनाउने गरेका छन् । अहिले केही बालबालिका अभिभावकहरूसंग लुकेर पढ्न थालेका छन् ।
बस्ती भन्दा बाहिरी वातावरणमा रमाउँदा खुसी हुने बालक टुनीबगर शाहीले बताए । दैलेखको गुरासँ गाउँपालिकाले राउटेलाई स्थानीय बासिन्दाको परिचयपत्र दिएसँगै राउटे समुदायले निरन्तर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन् ।
दैलेखको गुराँस गाउँपालिकाले गत वर्ष दिएको परिचयपत्रका आधारमा थप छलफल गरी नागरिकता दिने तयारी थालिएको सामाजिक विकास मन्त्रालयले जानकारी दियो । मन्त्रालका अनुसार राउटे समुदायमा स्वास्थ्य, शिक्षा र पेसा सवर्धनका लागि सामाजिक परिचालकहरू खटाइएका छन् ।
राउटे बालबालिकाहरूलाई पढाउन अन्य बालबालिकालाई जस्तो सहज छैन । उनीहरूलाई परम्परागत भाँडाकुँडा, जनावरका चित्र बनाएर अन्य शैक्षिक सामग्री प्रयोग गरेर पढाउने गरेको राउटे परियोजनाका समाजिक परिचालक लालबहादुर खत्रीले बताए ।
जंगलका जनावर र वस्तुका चित्रमा रमाउने बालबालिकाहरूलाई चित्रद्वारा नै पढाउन सुरूवात गरिएको सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखका अध्यक्ष हिरा सिंह थापाले बताए । उनका अनुसार सबै राउटे बालबालिका कागजबाट पुतली, माछा, तारा, घर लगायतका खेलौनाहरूमा रंग भर्न र आफ्नो नाम लेख्न सक्ने भएका छन् ।
सुरु–सुरुमा कापी कलम दिएपछि उनीहरूले च्यातेर फालेका थिए । पछि उनीहरूलाई विभिन्न खेलको माध्ययमबाट कागजको खेलौनामा रंग भर्नलगाइ पढ्ने बानी बसालिको थापा बताउँछन् ।
समुदायको संस्कृति र परम्परा जोगाउँदै रूलाई शिक्षा, स्वास्थ्य लगायतका सवालमा परिवर्तन ल्याउनका लागि अहिले राउटे परियोजना र सामाजिक विकास मन्त्रालयले काम गरिरहेको छ ।
विगतमा घना जंगलबिचमा बस्ने उनीहरू अहिले गाउँ नजिक बसेर आफ्नो जिविका चलाउन थालेको रबस्न थालेका छन् । सरकारले उनीहरूलाई दिएको प्रतिव्यक्ति दुई हजार मासिक भत्ताले जिविकोपार्जन गर्दै आएको राउटे परियोजनाका शिक्षक दुर्गा खत्री बताउँछन् ।