कृषिका विद्यार्थीको प्रयोगात्मक केन्द्र बन्दै रामपुर

रामपुर (पाल्पा), ४ भदौ (रासस) ः रोल्पाको लिवाङ नगरपालिका– २ स्थित लोकतान्त्रिक चोक निवासी कृतिका डाँगीले रामपुरलाई कृषि सिकाइ अध्ययन केन्द्रका रुपमा लिएकी छिन् ।        

                उनलाई रोल्पादेखि पाल्पाको रामपुर आउनजान सहज त छैन, तर आफ्नो कृषि बाली विज्ञान अध्ययनसँगै प्रयोगात्मक तालिमका लागि भने उनले रामपुरलाई नै रोजिन् । पाल्पा जिल्लामै ठूलो क्षमताको उच्च प्रविधि (हाइटेक) को तरकारी टनेलमा प्रयोगात्मक ज्ञान लिन पाइने भएपछि डाँगीले रामपुरमा नै नयाँ प्रविधि सिक्दै छिन् ।      

                “घर टाढा छ भन्ने मात्रै हो, यहाँ आइपुगेपछि धेरै प्रविधि सिक्न पाइएको छ, यहाँ सिकेको हासिल गरेको ज्ञान, सीप र अनुभव विश्वविद्यालय अध्ययनका लागि मात्र नभएर व्यावहारिक जीवनमा पनि उपयोगी छ, हाइटेक टनेलभित्र सबै प्रविधिको ज्ञान सीप लिने र बुझ्ने अवसर मिलेको छ”, उनले भनिन् ।        

                रोल्पादेखि रामपुर पुग्न सडक सहजै भएमा एक दिन लाग्छ । सार्वजनिक गाडीमा भाडा शुल्क मात्रै रु एक हजार ५०० लाग्छ । घर नजिकै अर्थात् छिमेकी जिल्ला, अन्यत्र ठाउँको तुलनामा यहाँ आफ्नो जीवनोपयोगी हुने प्रविधि र सिकाइले उनलाई धेरै सहज भएको छ ।      

                यस्तै प्यूठानको झिमरुक गाउँपालिका–३ ओखरकोट आलखोला घर बताउने जलजला केसीलाई पनि रामपुरमै नयाँ प्रविधिसहितको सुविधा भएको खबरले रामपुरलाई नै सिकाइ थलो बनाएकी छिन् ।       

                रामतुलसी मावि कृषि बाली विज्ञान तेस्रो वर्षमा अध्ययनरत केसीले विद्यालय नजिकै रहेको कृषि शाखा कार्यालयमा निर्माण भएको हाइटेक टनेलमा नयाँ प्रविधि सिक्ने अवसर पाएपछि अन्यत्र ठाउँ खोज्दै भौतारिनुपर्ने समस्या टरेको बताइन् ।       

                “कृषि प्रयोगात्मक अध्ययनका लागि विभिन्न ठाउँमा जानुपथ्र्यो, सबै ठाउँमा हाम्रा लागि आवश्यकपर्ने सबै सुविधा हुँदैनथ्यो, यति ठूलो क्षमताको हाइटेक अन्य जिल्लामा कमै हुन्छ, यहाँ त दैनिक नयाँ प्रविधिसँग काम गर्ने अवसर मिलेको छ”, केसीले भनिन् ।       

                उच्च प्रविधि (हाइटेक) को तरकारी टनेल पाल्पा जिल्लाकै सबैभन्दा ठूलो र नमूना भएकाले पनि अहिले कृषि बाली विज्ञान पढ्ने विद्यार्थीका लागि तालिम सिकाइ केन्द्र बनेको छ ।

नयाँ प्रविधि सिक्न पाइने भएपछि पढाइसँगै प्रयोगात्मक सिकाइ केन्द्र रामपुरलाई नै रोजाइमा पारेको स्याङ्जा चापाकोट नगरपालिका–६ साँखर बस्ने मुना खनाल बताउँछिन् ।        

                यहाँ तीन वर्षअघिदेखि उच्च प्रविधि (हाइटेक) को तरकारी टनेल निर्माण भई सञ्चालनमा आएपछि कृषि बाली विज्ञान पढ्दै गरेका विद्यार्र्थीलाई अध्ययन पूरा गर्न अनिवार्य प्रयोगात्मक तालिम लिन र कृषकलाई कृषि प्रविधि सिक्न धेरै सहज भएको छ ।      

                व्यावसायिक कृषिमा नयाँ प्रविधि सिकाउन र अध्ययन केन्द्रका लागि यहाँ टनेल निर्माण गरिएको हो । रामपुर क्षेत्रलाई तरकारीमा आत्मनिर्भर बनाउन र कृषकमा नयाँ प्रविधिबारे जानकारी गराउन यस टनेलले ठूलो टेवा पुगेको युवा कृषि उद्यमी दिलबहादुर थापा बताउनुहुन्छ ।      

                “बाहिर गएर नयाँ प्रविधि हेर्ने अवसर कृषकलाई मिल्दैन, आफ्नै व्यवसायमा व्यस्त भइन्छ । रामपुरमा नै सञ्चालनमा आएको नयाँ प्रविधि सहितको टनेलमा गएर आवश्यक परेका बेला कृषि प्राविधिकसँग सोधपुछ गर्ने, नयाँ प्रविधि सिक्ने र घरमा आएर सोहीअनुसार खेती गर्न थालेपछि धेरै राम्रो भएको छ”, कृषक थापाले भन्नुभयो ।                

                धेरै टाढा पुगेर अध्ययन र प्रयोगात्मक सिकाइ हासिल गर्ने यस्तो अवसर विद्यार्थीलाई पनि कमै मिल्छ । त्यसैले यो प्रविधिले यहाँका विद्यार्थीमात्र होइन आसपासका जिल्लाका विद्यार्थीलाई पनि सजिलो भएको छ ।        

                कृषकलाई अनुदानभन्दा पनि यस्तै खालका नयाँ प्रविधि आवश्यक रहेको र प्रविधि जानेमात्रै उत्पादन वृद्धि गर्न सकिने कृषक थापाको भनाइ छ । ठूलो क्षमताको टनेल निर्माण भएपछि धेरैले नयाँ प्रविधिको अवलोकन गरी घरघरमा आधुनिक कृषि प्रविधि पनि अवलम्बन गर्न थालेको रामपुर नगरपालिकाका सूचना अधिकारी तथा कृषि शाखा प्रमुख रामहरि पाण्डेय बताउनुहुन्छ ।      

                उहाँ भन्नुहुन्छ, “कृषि सिकाइ अध्ययन केन्द्रका रुपमा विकास गरिएको छ, धेरैजसो कृषि बाली विज्ञान पढ्दै गरेका विद्यार्थी, कृषक समूह, सहकारी, ठूला कृषि उद्यम गर्ने कृषक नयाँ प्रविधि सिक्न आउने गर्नुभएको छ, टनेलबाट आम्दानीभन्दा पनि सिकाइ अध्ययनका रुपमा विकास गरिएको छौँ ।”      

                पहिलो र दोस्रो वर्ष गोलभेँडा, लहरेबाली प्रजातिका तरकारी खेती पनि गरियो । उत्पादन राम्रै भए पनि यस टनेललाई आयआर्जनसँग मात्रै नभई सिकाइ अध्ययन केन्द्र बनाएर काम गरेको शाखा प्रमुख पाण्डेयको भनाइ छ ।      

                कृषि शाखाको परिसरमा साढे दुई रोपनी क्षेत्रफलमा ३६ मिटर लम्बाइ, ३६ मिटर चौडाइ रहेको टनेल निर्माण भएको छ । लुम्बिनी प्रदेश सरकारको रु २५ लाख सहयोग र रामपुर नगरपालिकाको रु ३१ लाख गरी रु ५६ लाखको लागतमा टनेल निर्माण गरिएको हो ।        

                ठूलो क्षमताको टनेल भएकाले धेरैले नौलो प्रविधि मान्दै अवलोकन गर्ने गरेका छन् । कृषिको व्यवसायीकरणतर्फ उन्मुख बन्दै गएको रामपुर नगरपालिका यतिखेर आधुनिक प्रविधिमा फड्को मार्न थालेको छ ।      

                यो प्रविधिको टनेल समयसमयमा मर्मतसम्भार गरेमा १० देखि २० वर्षसम्म प्रयोग गर्न सकिन्छ । गर्मी याममा चिसो तापक्रम, थोपा सिँचाइ प्रविधि, हावामा सापेक्षित आद्र्रता कायम गर्ने, घामको तापक्रम छेक्ने, किरा लाग्नबाट बचाउने गर्छ ।       

                यस उच्च प्रविधिको तरकारी टनेलमा मौसमी तथा बेमौसमी तरकारी लगाउन सकिन्छ । टनेलभित्र तरकारी लगाउँदा गर्मीयाममा सेन्सरमार्फत कुलिङ प्याड र फ्यानको प्रयोग गरी चिसो तापक्रम र हावामा सापेक्षित आद्र्रता कायम गर्ने गर्छ ।       

                साथै थोपा सिँचाइ प्रविधि, सेड नेटद्वारा घामको तापक्रम छेक्ने, किरा छेक्ने जालीको प्रयोगले बिरुवामा किरा लाग्नबाट बचाउने, जाडोयाममा रोलिङ युभी प्लाष्टिकद्वारा बाहिरको भन्दा तापक्रम वृद्धि गराई बिरुवालाई आवश्यक तापमान कायम गर्ने जस्ता विशेषता रहन्छन् ।       

                यसले कृषकलाई आधुनिक प्रविधिबारे जानकारी गराउन सहयोग पुग्दछ । यसको मुख्य उद्देश्य बेमौसमी तरकारी उत्पादन गर्नु हो । नवीनतम् प्रविधि रामपुरमा भित्रिएपछि युवामा कृषिप्रतिको आकर्षणसमेत बढ्दै गएको छ ।       

                नयाँ प्रविधिको टनेल निर्माण भएपछि यस क्षेत्रमा आधुनिक प्रविधिबाट तरकारीखेती बिस्तार, कृषिजन्य यान्त्रिकरणको प्रयोग बढ्दो रहेको छ । नयाँ प्रविधि रामपुरमा भित्रिन थालेपछि निर्वाहमुखी कृषि व्यवसाय गरेका कृषकको व्यावसायिक कृषिमा आकर्षण बढ्दो छ ।      

                यहाँ टनेल निर्माणपश्चात् अहिले रामपुरमा विभिन्न क्षेत्रबाट कृषि समूह, विद्यार्थी, विभिन्न सङ्घसंस्था, व्यक्ति अवलोकन गर्न आउने गरेका छन् । समूहमा अवलोकन गर्न आउनेलाई रु एक हजार शुल्क, प्रतिव्यक्ति रु १०० र विद्यार्थीका लागि रु ५० को प्रवेश शुल्क तोकिएको छ ।       

                यस टनेलमा प्रयोगात्मक सीप सिक्न पाल्पासहित सल्यान, रोल्पा, दाङ, प्यूठान, स्याङ्जा, तनहुँलगायत विभिन्न जिल्लाका विद्यार्थी भित्रिएका छन् ।