A Levels MA

पूर्ण निःशुल्क शिक्षा प्रदान गर्दै  हल्दीबारी

कक्षा १२ सम्म निशुल्क शिक्षा । प्राविधिक धारको विद्यालय पनि निशुल्क । करारमा कार्यरत शिक्षक कर्मचारीलाई कल्याणकोष मार्फत् सम्बोधन । ईसीडी शिक्षकलाई मासिक १५ हजार । ५० भन्दा बढी विद्यार्थी भएका  प्राथमिक तहमा शिक्षक व्यवस्थापन । कम्प्युटर विषय अनिवार्य गर्दै आएको छ झापाको हल्दीबारी गाउँपालिकाले । यही पालिकाका शिक्षा शाखा प्रमुखलाई पाँच प्रश्नको श्रृखलामा इडियुपत्रले हल्दीबारी गाउँपालिका शिक्षा शाखा प्रमुख जनककुमारी राईसंग सोधेका पाँच प्रश्न जवाफ सहितः

 हल्दीबारी गाउँपालिका शिक्षामा के गर्दै छ ?

कार्यसम्पादन करार प्रतिवेदनका आधारमा शिक्षक र प्रधानाध्यापकलाई प्रोत्साहन रकमलाई निरन्तरता दिएको छ । माध्यमिक तहका अंग्रेजी, गणित र विज्ञान विषयको कोचिङ कक्षा,– अतिरिक्त समय पढाउने शिक्षकलाई विद्यार्थीको नतिजाका आधारमा प्रोत्साहन रकम, शिक्षक कर्मचारी कल्याण कोषको सञ्चालन । एसईई उत्तीर्णलाई प्राविधिक शिक्षामा छात्रवृत्ति प्रदान गरिरहेको छ । जंक फुड निषेध गर्नका लाथि विद्यालयमा क्यान्टिन स्थापना तथा सञ्चालनका लागि विगत तीन वर्ष देखि काम गरिरहेको छ । पालिकाभित्रका सम्पूर्ण माध्यमिक विद्यालयमा दुई वर्ष अघि नै क्यान्टिन सञ्चालन गरिसकेको छ । कक्षा आठ सम्म पठनपाठन हुने माध्यमिक विद्यालयमा अघिल्लो वर्ष र यो शैक्षिक सत्रमा प्राथमिक तहमा वा सबै सामुदायिक विद्यालयमा क्यान्टिन सञ्चालन गर्दै छ । स्वास्थ्यका सबै प्रोटोकललाई अपनाएर विद्यार्थीलाई आफ्नै क्यान्टिनबाट खाजा खुवाउने प्रबन्ध गरिरहेको छ । विद्यालयमा कम्प्युटर अनिवार्य गरिएको छ । यसका लागि घुम्ती कम्प्युटर शिक्षक, घुम्ती खेल प्रशिक्षक, घुम्ती योग प्रशिक्षकको व्यवस्था गरेको छ । पालिकाले आफ्नै पहलमा हरेक विद्यालयमा मन्टेसोरी कक्षा सञ्चालन गरेको छ । पालिका भित्र १७ सामुदायिक सहित जम्मा ३१ विद्यालय छन् । पालिकाको साक्षरता प्रतिशत ८० भन्दा माथि छ । शिक्षक दरबन्दी मिलान गर्दा पुलमा रहेको दरबन्दी मिलान पछि प्राथमिक तहमा शिक्षक अभाव भयो त्यसैले ५० जना भन्दा बढी विद्यार्थी भएका विद्यालयमा शिक्षक व्यवस्था गरेको छ ।

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ (२) को खण्ड (ज) मा उल्लेखित आधारभूत र माध्यमिक शिक्षा सम्बन्धी काम, कर्तव्य र अधिकार कार्यान्वयन गर्न सोही ऐनको दफा १०२ को उपदफा (१) बमोजिम हुने गरी नियमावली र स्थानीय शिक्षा ऐन बनाएको छ । नियमावलीमा संस्थागत विद्यालयले विपन्न एवम् सिमान्तकृत विद्यार्थीलाई दिने छात्रवृत्तिमा कम्तीमा ५० प्रतिशत छात्रा हुनुपर्ने व्यवस्था गरेको छ । भूमिहीन तथा उत्पादकत्वका हिसाबले निरपेक्ष गरिबीका कारण पाठ्यपुस्तक किन्न नसक्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनु पर्ने व्यवस्था पनि नियमावलीले गरेको छ ।

पालिकाले शिक्षामा बजेट व्यवस्थापन कस्तो गरेको छ ?

गाउँपालिकाले आर्थिक वर्ष २०७८–७९ को बजेटमा करिब २६.२२ प्रतिशत रकम शिक्षा क्षेत्रलाई विनियोजन गरेको छ । सशर्त अनुदान बाहेक गाउँपालिकाको आफ्नो निर्णयले परिचालन गर्न सक्ने सो बजेट विनियोजन गरेको हो । हल्दिबारीमा बाल विकास शिक्षक ३४, विद्यालय सहयोगी १९ र कर्मचारी ६ गरी ५९ जना कार्यरत हुनुहुन्छ । उहाँहलाई मासिक १५ हजार प्रदान गर्दै आएका छौं । विदँलयमा कार्यरत लेखापाललाई मासिक १८ हजार पारिश्रमिक प्रदान गर्दै आएको छ । यसका अलावा पालिकाभित्र एउटा प्राविधिक धार सञ्चालन गर्ने विद्यालय छ । सो विद्यालयले बाली विज्ञान र अर्को एउटा विषय पठनपाठन गराउँदै आएको छ । सो विद्यालयमा पढ्ने विद्यार्थीको शुल्क तथा अन्य खर्च पालिकाले नै बेर्होदै आएको छ । हामी सबैका ईच्छा सबैलाई निशुल्क शिक्षा कार्यक्रम अन्तरगत कक्षा १२ सम्म अध्ययन गर्ने सबै विद्यार्थीलाई निःशुल्क पठनपाठनको व्यवस्था मिलाइएको छ। कक्षा ११–१२ मा पढाउने विद्यालयमा शिक्षक व्यवस्थापन गरेका छौं । त्यसैले पालिकाको मोटो रकम जनशक्ति व्यवस्थापनमा नै खर्च हुँदै आएको छ ।

शिक्षकलाई प्रोत्साहन कसरी प्रदान गर्दै आउनु भएको छ ?

गाउँ कार्यपालिकाबाट शिक्षक प्रोत्साहन सम्बन्धी मापदण्ड, २०७५ पारित गरी प्रधानाध्यापक तथा शिक्षकहरुलाई मासिक र वार्षिक रुपमा पुरस्कृत गर्ने गरिएको छ । मापदण्डअनुसार शिक्षा शाखाले तोकेको ढाँचामा सबै शिक्षकले आफ्नो विद्यालयका प्रधानाध्यापकसँग र प्रधानाध्यापकले शिक्षा शाखा प्रमुखसँग वार्षिक कार्यसम्पादन करार गर्नुपर्छ । शिक्षकले वार्षिक कार्यसम्पादन करारको प्रतिवेदन आफ्नो विद्यालयका प्रधानाध्यापक समक्ष पेश गर्नुपर्छ । प्राप्त प्रतिवेदनलाई सम्बन्धित विद्यालयका प्रधानाध्यापकले व्यवस्थापन समितिको बैठकमा प्रस्तुत गर्नेछ । समितिले प्रतिवेदन उपर छलफल गरी उत्कृष्ट नतिजा हाँसिल गर्ने माध्यमिक, आधारभूत र प्राथमिक तहमा कार्यरत विद्यालयका एक–एक जना शिक्षकलाई तत्–तत् तहको शुरु तलब स्केलको एक महिना बराबर रकम प्रोत्साहन स्वरुप उपलब्ध गराउछ ।  हरेक सामुदायिक विद्यालयले माध्यमिक तहका अंग्रेजी, गणित र विज्ञान बिषयको कम्तिमा ६ महिना अतिरिक्त कोचिङ कक्षा सञ्चालन गर्नै पर्ने व्यवस्था गरिएको छ । कोचिङ कक्षा संचालनका लागि विषयगत शिक्षकसँग करार सम्पादन गरी प्रोत्साहन रकम दिइन्छ ।

८० प्रतिशतभन्दा बढी उपलब्धि हासिल गर्ने विषय शिक्षकलाई प्रति कक्षा तीन सय पचास रुपैंया, ६०–६९ प्रतिशत उपलब्धि हाँसिल गर्नेलाई तीनसय रुपैंया र ४०–५९ प्रतिशतसम्म उपलब्धि हाँसिल गर्ने लाई दुई सय पचास रुपैंयाका दरले प्रात्साहन रकम प्रदान गर्ने गाउँपालिकाले व्यवस्था गरेको छ । ४० प्रतिशतभन्दा कम उपलब्धि हाँसिल गर्न विषय शिक्षकले भने अतिरिक्त पारिश्रमिक पाउँदैनन् । विद्यालय समयमा आइनपुग्ने शिक्षकलाई खाइपाइ आएको तलबको निश्चित प्रतिशत रकम कट्टा गर्ने व्यवस्था गरिएको छ ।

मासिक कार्यसम्पादन करारमा ८० प्रतिशतभन्दा बढी उपलब्धि हाँसिल गर्ने प्रधानाध्यापकलाई मासिक तीन हजार रुपैंया प्रदान गरिनेछ । ६०–७९ प्रतिशतसम्म उपलब्धि हाँसिल गर्नेले मासिक दुई हजार पाँच सय रुपैंया पाउनेछन । ४०–५९ प्रतिशतसम्म उपलब्धि हाँसिल गरे मासिक दुई हजार रुपैंयाका दरले प्रोत्साहन रकम व्यवस्था गरिएको छ । ४० प्रतिशतभन्दा कम उपलब्धि हासिल गर्ने प्रअलाई प्रोत्साहन भत्ता दिइदैन ।

शिक्षक प्रोत्साहन सम्बन्धी कार्यप्रकृयालाई थप व्यवस्थित बनाउन तथा मापदण्डमा उल्लिखित विषय कार्यान्वयनमा कुनै द्धिविधा वा वाधा-अड्चन आइपरे तत्काल निराकरणका लागि गाउँ शिक्षा समितिले शिक्षक प्रोत्साहन व्यवस्थापन समिति गठन गरी कानुनी उपचार गर्ने व्यवस्था छ ।

 कल्याण कोष कसरी परिचालन हुन्छ ?

सामुदायिक विद्यालयमा ५ वर्ष वा सोभन्दा बढी अस्थायी, ज्यालादारी वा करार सेवामा निरन्तर कार्यरत शिक्षक तथा कर्मचारी कुनै कारण सेवाबाट अलग हुने भए काम गरेको अवधिका आधारमा बढीमा मासिक एक हजार रुपैंयाका दरले सेवा निवृत्त सुविधा दिने गरी कर्मचारी कल्याणकारी कोष नियमावली, २०७५कार्यान्वयनमा ल्याइएको छ ।

कोष मार्फत पाँच वर्षदेखि दश वर्षसम्म निरन्तर सेवा गरेको शिक्षकलाई काम गरेको प्रत्येक महिनाको निम्ति नौ सय रुपिया, दश वर्षदेखि पन्ध्र वर्षसम्म निरन्तर सेवा गरेका शिक्षकलाई काम गरेको प्रत्येक महिनाको निम्ति नौ सय पचास रुपियाँ दिइन्छ । पन्ध्र वर्षदेखि बीस वर्षसम्म निरन्तर सेवा गरेको शिक्षकलाई काम गरेको प्रत्येक महिनाका निम्ति एक हजार रुपियाँ, बीस वर्षभन्दा बढी निरन्तर सेवा गरेको शिक्षकलाई निजले पुर्याएको योगदानको कदर स्वरुप अतिरिक्त थप एकमुष्ट बीस हजार रुपिंयाँ गाउँपालिकाले उपलब्ध गराउनेछ ।

अन्य के कस्ता कार्यसम्पादन गर्नु भएको छ ?

सबै सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षालाई अनिवार्य गरी गाउँपालिकाकै स्रोतबाट घुम्ती कम्प्युटर शिक्षक व्यवस्था गरिएको छ । उनीहरु १७ वटै विद्यालयमा पठनपाठनका लागि खट्नुपर्छ । नेपाल सरकारबाट २ करोड ३१ लाख विशेष अनुदान प्राप्त गरी सबै सामुदायिक विद्यालयमा कम्युटर ल्याब निर्माण गरिएको छ । २ सय ६५ थान ब्राण्डेड कम्प्युटर विद्यालयलाई हस्तान्तरण गरिसकिएको छ । सिकाइ प्रविधिमैत्री बनाइएको छ । महामारीका बाबजुद सिकालाई वैकल्पिक, टोल शिक्षण मार्फत् निरन्तरता दिइएको छ । विद्यालयमा सोलार प्यानल जडान गरिएको छ । अधिकांश विद्यालय संग प्रोजेक्टर छन् । साथै सबै सामुदायिक विद्यालयमा आधुनिक तथा सुविधा सम्पन्न भौतिक पूर्वाधार निर्माण गरिसकिएको छ । छिटपुट रहेका विद्यालयलाई यस वर्ष काम सम्पन्न गर्ने योजना छ । सबै विद्यालयको प्राथमिक तह (१–५) मा अध्ययनरत विद्यार्थीलाई स्कुल ब्याग प्रदान गरिएको छ ।

गाउँपालिकाले स्थानीय मातृभाषाअन्तर्गत मेचे भाषाको पाठ्यक्रम तयार गरेको छ । मेचे भाषाविद् सन्तलाल मेचेले तयार पारेको पाठ्यक्रम कार्यान्वयनमा ल्याइएको छ । मनोविद् शुशी कँडेलसंगको सहकार्यमा हल्दीबारी र जनजागृति माविमा मनोविज्ञान सम्बन्धित परापर्श, लैंिगकतालगायतका विषयमा परामर्श कक्षा सञ्चालन गर्दै आएका छौं ।

Thuprai - Books and E-books