२०७६ सालको एसईई सञ्चालन नगर्ने प्रस्ताव मन्त्रिपरिषदमा

कोरोनाका कारण गत चैतमा स्थगित भएको २०७६ सालको प्रवेशिका परीक्षा (एसईई) सञ्चालन नगर्ने प्रस्ताव  मन्त्रिपरिषद्मा लगिएको छ । मन्त्रिपरिषद्को बैठक अहिले पनि जारी छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज विहानदेखि नै यस बारेमा बैठक थियो । बैठकले सो परीक्षा सञ्चालन नगर्ने र सोही व्यवस्थाका लागि निर्णयार्थ मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको थियो । 

मन्त्रालय सूत्रका अनुसार विद्यालयले नै गर्ने मूल्याङ्कनलाई मान्यता दिइनेछ । विद्यालयहरुले एसईईभन्दा अगाडि सेन्टअपका नामले तयारी परीक्षा लिइसकेका छन् । 

मन्त्रालय सूत्रका अनुसार विद्यालयले गरेको मूल्याङ्कनलाई आधार मानेर एसईईको प्रमाणपत्र जारी गर्न मापदण्ड बनाइनेछ । त्यसलाई राजपत्रमा प्रकाशित गरेर कार्यान्वयनमा लगिनेछ । राष्ट्रिय परीक्षा बोर्डले नै त्यसरी जारी गरिएका प्रमाणपत्रलाई प्रमाणीकरण गर्नेछ ।

कक्षा ११ र १२ का हकमा मन्त्रालयले पछि निर्णय गर्ने जनाइएको छ । सूत्रका अनुसार कक्षा ११ को परीक्षा नलिने सोचमा मन्त्रालय पुगेको छ भने कक्षा १२ को परीक्षा उपयुक्त समयमा सञ्चालन गरिनेछ ।