Bachelors Portal

‘भूपि पुरस्कार’ साहित्यकार एवं त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीलाई

बागलुङ, २६ मङ्सिर (रासस) : धवलागिरि साहित्य प्रतिष्ठान बागलुङमा स्थापित ‘भूपि पुरस्कार’ साहित्यकार एवं त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीलाई प्रदान गरिने भएको छ । 

विसं २०७३ मा स्थापित उक्त पुरस्कार पहिलोपटक त्रिपाठीको अनुसन्धानमूलक कृति ‘भूपिका कवितामा व्यङ्ग्यालङ्कार–चेतना’ का लागि प्रदान गर्न लागिएको हो । 

रु १५ हजार राशिको सो पुरस्कार आउँदो पुस १० गते ८४औँ भूपि जयन्तीका अवसरमा प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । 

त्रिपाठीका निबन्ध सङ्ग्रह ‘बादल, धर्ती र आस्था’, ‘जीवनसूत्र र स्वप्नाभास’ लगायतका साहित्यिक तथा अनुसन्धानमूलक कृति प्रकाशित छन् । उहाँको विसं २०५३ मा ‘अनिवार्य नेपाली व्याकरण र रचना’समेत प्रकाशित भएको थियो । 

भूपिका रचनामाथि समालोचनात्मक ढङ्गले लेखिएको कृति भएका कारण त्रिपाठीलाई पुरस्कृत गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले बताउनुभयो । “पहिलो पुरस्कार वितरणको तयारीमा छौँ”, उहाँले भन्नुभयो, “वर्षेनी भूपि जयन्ती पारेर पुरस्कार दिने योजना छ ।” 

स्रष्टा र साहित्यिक संस्थालाई गरी वर्षेनी आलोपालो गरेर पुरस्कार दिइनेछ । साहित्यिक संस्थालाई अक्षयकोषमा रकम राख्ने गरी पुरस्कार दिइने प्रतिष्ठानले जनाएको छ । भूपि पुरस्कार कोषमा हालसम्म रु तीन लाख ७० हजार जम्मा भएको छ । रु एक हजारदेखि माथि सहयोग गर्ने १२५ जना कोषका संस्थापक बनिसकेका छन् । 

“जनस्तरबाट सहयोग जुटाएर पुरस्कार स्थापना गरेका हौँ”, अध्यक्ष रोशनले भन्नुभयो, “कवि भूवि शेरचनको सम्मानमा यो समर्पित छ ।” विसं १९९० पुसमा मुस्ताङ जिल्लाको थाक, टुकुचेमा जन्मनुभएका शेरचन नेपाली साहित्यको विशिष्ट प्रतिभा हुनुहुन्छ । 

Thuprai - Books and E-books