मदरसाका विद्यार्थीको समकक्षतामा समस्या

नेपाल तथा भारतका विभिन्न मदरसाबाट शैक्षिक उपाधि हासिल गरेका विद्यार्थीलाई सरकारले शैक्षिक प्रमाणपत्रको समकक्षता प्रदान नगर्दा दसकौंदेखि मुस्तिलम विद्या प्रभावित भएका छन् ।

पटकपटक मुसलमानहरूले मदरसाद्वारा जारी शैक्षिक प्रमाणपत्रको समकक्षताका लागि माग राख्दै आए पनि सरकारले वेवास्ता गर्दा मदरसाका विद्यार्थीहरु औपचारिक सेवाबाट बञ्चित भएका हुन् ।

हजारौं मुसलमानहरू भारत र अन्य देशका मदरसाहरूबाट शिक्षा हासिल गरे पनि समकक्षतामा समस्या रहेको मुस्लिम आयोगद्वारा हिजो सार्वजनिक गरिएको नेपालमा मदरसा शिक्षा र यसको भावी रुपान्तरण अध्ययन प्रतिवेदन ०७८मा उल्लेख गरिएको छ ।

प्रतिवेदनमा ‘उनीहरूले शिक्षा हासिल गरेका मदरसाहलाई नेपाल सरकारले मान्यता दिएको छैन तर भारतीय विश्वविद्यालयहरूले तिनीहरूलाई मान्यता दिएको देखिन्छ । यसरी मदरसामा हुने पठनपाठनको नेपाल सरकारबाट समकक्षता प्राप्त नभएको कारण उनीहरूले उच्च शिक्षा हासिल गरेता पनि मदरसाबाट प्राप्त शैक्षिक प्रमाणपत्रका आधारमा ती मुस्लिम युवाहरू सरकारी सेवामा प्रवेश गर्नबाट वञ्चित भएका छन् ।

सरकारद्वारा मदरसाहरुलाई सरकारी निकायमा दर्ता गर्ने प्रक्रियामा ल्याइसक्दा पनि यी धार्मिक शिक्षकहरूले मदरसाहरुमा शिक्षकको रूपमा कार्य गर्न पाउने स्थिति छैन किनभने यिनका शैक्षिक प्रमाणपत्रले समकक्षता हासिल गरिसकेको छैन’ भन्ने उल्लेख गरिएको छ ।

सो प्रतिवेदनमा नेपालमा दुई प्रकारका मदरसाहरु पूर्ण रूपमा सरकारी पाठ्यक्रमलाई आफूमा समाहित गर्दै केही धार्मिक विषयसमेत पठनपाठन गरिने मदरसा र आंशिक रूपमा सरकारी पाठ्यक्रमलाई स्वीकार गर्दै धार्मिक तथा परमपरागत विषयहरूलाई विशेष ग्राह्यता दिई पठनपाठन गरिने मदरसा सञ्चालनमा ल्याएको उल्लेख गरिएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्क अनुसार औपचारिक रुपमा सञ्चालनमा आएका मदरसाहरु १ हजार १९७ मदरसाहरु सञ्चालनमा आएका छन् । साना र ठूला सबै आकारका धेरै मदरसाहरु सरकारी निकायमा दर्ता नै भएका छैनन्। देशभर नै बस्तीपिच्छे ठूलो संख्यामा मस्जिदहरू छन् जहाँ पूर्व–प्राथमिक स्तरसम्मको धार्मिक शिक्षा दिइने गरिन्छ । तिनको कहीं कतै कुनै अभिलेख छैन । यी सबैलाई जोडेर नेपालमा तीन हजारको हाराहारामी पूर्व प्राथमिकदेखि माध्यमिक र कलेज तहसम्मका मदरसाहरु सञ्चालनमा रहेको आयोगको अनुमान छ ।

नेपालभरिका मदरसाहरुमा अनुमानित दुई लाखभन्दा बढी विद्यार्थी अध्ययनरत् छन् । प्रायःजसो आर्थिक रूपमा विपन्न र अनाथ बालबालिकाहरू यी मदरसाहरुमा अध्ययन गर्दछन् । सम्पन्न परिवारले यी मदरसाहरुमा विरलै आफ्ना बालबालिकाहरूलाई भर्ना गर्दछन् । यी मदरसाहरुको शैक्षिक शुल्क न्यून छ र मक्तबहरूले प्रायः शिक्षण निशुल्क नै छन् जसले गर्दा आर्थिक रूपले विपन्न परिवारहरू मदरसा शिक्षातर्फ आकर्षित भएका छन् ।

मदरसामा छात्रा धेरै

आयोगको प्रतिवेदन अनुसार मदरसाहरुमा पढ्ने केटाभन्दा केटीको संख्या बढी रहेको छ । अध्ययन क्षेत्रका मदरसाहरुमा जम्मा ४४ हजार ५२४ विद्यार्थी रहेका छन् जसमा २० हजार ३८३ छात्र र २४ हजार १४१ केटी अर्थात् ४५.७८ प्रतिसत छात्र र ५४.२२ प्रतिशत छात्रा अध्ययनरत छन् ।