After SEE Portal

कोरोना भाइरसको प्राथमिक मनोसामाजिक उपचार

Bridge Course

मनोसामाजिक समस्या के हो ?

मानिसको जीवनकालमा विभिन्न ठूला मानवीय तथा प्राकृतिक विपत आइलग्दछन र सो को सामना गर्न स्वयम् व्यक्ति सक्षम त हुँदैन तर त्यसको परिणामलाई लिएर बढी अत्तालिने, सामान्य दैनिकी जिउन पनि गाह्रो हन्छ । त्यसको असर सम्पूर्ण परिवार तथा समाजमा समेत पर्दछ । यसैलाइ मनोसामाजिक समस्या भनिन्छ । वर्तमान समयमा कोरोनाले विश्वव्यापी असर पुर्‍याएको छ । बारबार बढ्दो क्रममा मृत्यको समचार आइरहेको छ ।  यसवारे राम्रोसँग बुझ्नै नपाइकन देश नै लकडाउन (आफ्ना निवासमा बस्नुपरेको अवस्था ) भएको र अन्य राष्ट्र समेत लकडाउनको क्रममा रहेको हुनाले मनोसामाजिक समस्या हुनेको संख्या विश्वमा बढ्दो छ । यो समस्याबाट शिक्षक, विद्यार्थी , अभिभावक कोही अछुतो रहन सकेका छैनन् । यस किसिमको मनोसामाजिक समस्याबाट बच्न कोरोनो भाइरस बारे खास वास्तविकता बुझ्न आवश्यक छ ।

कोरोना भाइरस बुझाइमा स्पष्टता

कोरोना भाइरस एक किसिमको जिवाणु हो जुन मानव शरीरमा प्रवेश गर्नासाथ घाँटी श्वास प्रश्वास हुँदै सम्पूर्ण शरीरलाइ नै शिथिल पार्दछ । यसबाट पहिलेदेखिका श्वासप्रश्वास सम्बन्धी समस्या भएका, मृगौला तथा पेट सम्बन्धी समस्या भएका बिरामी, कमजोर तथा विभिन्न औषधी सेवन गरिरहेका जेष्ठ नागरिकलाइ बढी सताउने गर्दछ । बेलैमा सतर्क नभए तथा उपचार नपाए ज्यान समेत जान सक्दछ ।

डर त्रास किन भएको त ?

यो एक कडा किसिमको सरुवा रोग हो । प्रायः यो रोगबाट ग्रसित हुनसाथ घाँटी दुख्ने, रुघा लाग्ने, धेरै ज्वरो आउने र शरीर शिथिल हुने गर्दछ । यस कोरोना भाइरसका कारण मृत्यु हुनको संख्या  पछिल्लो समयानुसार दुई लाख सात हजार नाघिसकेको छ भने संक्रमित हुनेहरु  देखि मृत्यु हुनेसम्म सर्वसाधारण देखि समाज तथा राष्ट्रमा नाम कहलाएका कलाकार, खेलाडी , नेता, प्रशासकसम्म सबैजना  रहेका छन् ।

नेपालको सन्दर्भमा मौसमी तथा विभिन्न कारणले ज्वरो आउने, रुघा खोकी लागिरहने हुनाले यस्ता लक्षण देखिनसाथ कोरोना भाइरस नै हो कि भनेर अत्तालिन थाल्नुभएको छ । यो शुरुआती लक्षण त हो तर कोरोना भाइरस नै हो भन्न सकिन्न । तर तपाइँको सम्बन्ध कोही कोरोना भाइरस संक्रमित भएको व्यक्तिसँग भएको भए, तपाईँलाई कोरोना भाइरसले चाँडै संक्रमण गर्न सक्छ । अतः यस्ता लक्षण भएका मानिस आफैँ सतर्क हुने र पारिवारका सदस्यसँग नसुत्ने, सकेसम्म दुइ हप्तासम्म अरुलाई नछँुदा उचित हुन्छ । पाहुनालाइ परैबाट अभिवादन गर्नु पर्दछ । यो बेला सकेसम्म छरछिमेक भ्रमण तथा औपचारिक भेला तथा भेटघाट बन्द गर्नुपर्दछ ।

महामारी भनेको के हो ?

विश्व स्वास्थ्य संगठनको सन् २०१० को परिभाषा अनुसार महामारी भन्नाले विश्वाव्यापी रुपमा फैलिएको नयाँ रोग भन्ने बुझ्नु पर्दछ । भाइरसजन्य महामारी भन्नाले नयाँ खालको भाइरस विश्वव्यापी रुपमा देखा पर्नु, धेरै जनसख्यासँग त्यसको प्रतिरोध क्षमता नहुनु तथा मृत्यु हुनु भन्ने बुझिन्छ । पहिलेका तथ्यहरुलाई विचार गर्ने हो भने यस्ता भाइरसहरु विभिन्न जनावरहरुबाट उत्पन्न हुन्छन् र मासुजन्य खाद्य सामग्री उचित तरिकाले नपकाइ काँचै खाएमा मानिसमा  सर्ने गरेका छन् । अन्ततः  यसले महामारीको रुप लिइ लाखौं मानिसको ज्यान लाने गरेको छ  ।

महामारीको समयमा धेरै भन्दा धेरै मानिस बिरामी हुने, चालु उपचार पद्दतिले धान्न नसक्ने र नयाँ उपचार पनि झट्ट फेला नपर्ने हँुदा उपचार गर्ने स्वास्थ्यकर्मी देखि बिरामी तथाआफन्तजन  सबै तनाबमा हुन सक्दछन् । वर्तमान अवस्थामा कोरोना भाइरस ( कोभिड–१९ ) विश्वकै लागि विषम चुनातीका रुपमा देखा परी महामारीको रुप लिएको छ ।   अहिलेको समयमा सवैले आफ्ना आनीबानीमाथि विचार पुर्‍याउने र आवश्यक परे नियन्त्रण समेत गर्न सक्नु पर्दछ ।

प्राथमिक मनोसामाजिक उपचार के हो ?

विभिन्न प्राकृतिक प्रकोप, महामारी तथा मानव सिर्जित समस्याबाट उत्पन्न हुने आफन्तको मृत्य, आफ्नो तथा परिवारका सदस्याहरुको अपर्झट कडा बिरामी, अङ्गभङ्ग, ठूलोचोटपटक, धनसम्पत्ति, घर व्यवसायमा आएको क्षति वा संभावित खतराले ल्याएको तनाव, डर , असुरक्षित महसुस, द्वविधा घटाउन दिइने सेवालाइ नै प्राथमिक मनोवैज्ञानिक उपचार भनिन्छ । यो प्राथमिक उपचार समाजमा मान्य स्वास्थ्य कर्मीदेखि अग्रज, शिक्षिक, कलाकार, लेखक, निर्वाचित जनप्रतिनीधी, सरकार तथा सामाजिक अभियन्ताले घटना भएदेखि पछिसम्म प्रदान गर्न सक्छन् ।

नेपालको सन्दर्भमा कुनै व्यक्ति वा परिवारलाइ विपतका समयमा समुदायबाट तुरुन्त कुरा सुन्ने, आड भरोसा तथा आवश्यक भौतिक, भावानात्मक, सांस्कृतिक तथा आध्यात्मिक सहयोग प्रदान गर्ने काम भइ रहेका छन् । यी सवै प्राथमिक उपचारका विभिन्न पाटा हुन् । यसै कारणले हाम्रो देशमा विगतको विपतमा अन्तर्राष्ट्रिय जगतले भनेको जस्तो विकराल मानसिक समस्या आएन । हामी अझै सचेत भएमा अहिलेको महामारीबाट पार पाउन सक्छौँ र आगामी दिनका लागि अझ राम्रो तयारी गर्न सक्छौँ । विश्वलाई नै हाम्रो देश, समुदाय तथा संस्कृतिको बहुआयामिक वैज्ञानिक फाइदाहरु तथा अनुभवहरु बाँड्न सक्छौँ । यसमा विभिन्न पक्षहरुको भूमिका अहम् हुनाले तल उल्लेख गरिएको छ ।

व्यक्ति स्वयम्को कर्तव्य

महामारीको समयमा स्वयम् सुरक्षित हुने, आफ्नो तर्फबाट गर्न सक्ने सबै सरसफाइ आफैँ गर्ने, आफ्नो कुनै कुलत भए दीर्घ संकल्प लिएर आजैदेखि छोडिदिने, आफ्नो कुनै बिरामी वा दीर्घ रोग भए, आवश्यकता अनुसार नियमित औषधी सेवन गर्ने, नियमित व्यायाम तथा ध्यान गर्ने, उच्च मनोवल तथा लक्ष्य लिएर व्यस्त रहने, बेलाबेलामा सामाजिक सञ्जाल तथा समाचार हेर्ने तर नकारात्मक, अत्तालिने समाचार आदनप्रदान नगर्ने ।

परिवारिक कर्तव्य

कुनै परिवारमा घरको मुली व्यस्त भएर परिवार अस्तव्यस्त भएको भए, परिवारमा समीक्षा गर्ने । आपसी सद्भाव वढाउने, आफ्ना बालबालिकासँग रमाउने, बालबालिकालाई घरायासी व्यवहारिक कुराहरु सिकाउने, घरमा सबैजना मिलेर काम गर्ने तर व्यक्ति विशेष जस्तै गृहणी, वुहारी, कामदार आदिलाइ एकोहोरो दुःख नदिने, अरुलाइ घोचपेच गरेर बोल्ने बानी भए तुरुन्त त्यागिदिने र आत्मीय वातावरण सिर्जना गर्नेतर्फ क्रियाशील हुने, घरको मुली वा सदस्य सार्वजनिक पदमा (अस्पताल, सुरक्षा प्रहरी, सेना, वा सार्वजनिक संस्थामा) आवध्द भए, उहाँहरुको जिम्मेवारी परिवार र सो भन्दा माथि हुने हुनाले अनावश्यक दवाव नदिने ।

समुदाय -स्थानीय निकायका कर्तव्य

आफ्नो समुदायभित्र कुनै परिवार, व्यक्ति विचलित तथा जटिल अवस्थामा भए, उचित सहयोग गर्ने, समुदायिक मान मर्यादा कायम राख्ने, वर्तमान समयमा शान्तिपूर्ण वातावरण कायम राख्न आधारभूत आवश्यकता खाद्य सामग्री, पानी, नियमित सेवन गर्नुपर्ने औषधीहरुको सुनिश्चितता कायम गर्न सम्बन्धित निकायहरुसँग समन्यय कायम गर्ने, आफ्नो क्षेत्रभित्र रहेका सार्वजनिक क्वारन्टायनहरु व्यवस्यापनमा सघाउने । विभिन्न ठाउँमा प्राविधिक कारणले अड्किएका परिवारका सदस्यलाई सुरक्षितसँग घरसम्म पुर्‍याउन सहयोग, समन्वय तथा सिफारिस गर्ने ।

प्रदेश सरकारको कर्तव्य

आफ्नो प्रदेश भित्र शान्ति तथा सुव्यवस्था कायम राख्न स्थानीय निकाय तथा केन्द्रसँग समन्वय गरी आधारभूत आवश्यकता जस्तै खाद्य सामग्री, पानी, नियमित सेवन गर्नुपर्ने औषधीहरुको उपलव्धताबारे सुनिश्चिता गराउने ।

संघीय सरकारको कर्तव्य

आफ्ना सम्पूर्ण शक्ति सामथ्र्य प्रयोग गरी  आमनागरिक वचाउन आपतकालीन नियमहरु लगाउने, आपतकालीन सेवामा संलग्न कर्मचारीहरुलाई चाँडो चाँडो कामको पालो दिने प्रबन्ध मिलाउने, सही यथार्थ सूचनाहरु प्रशारण गर्ने र सो गर्नेलाई प्रोत्साहन दिने, परिस्थितिको नाजायज फाइदा उठाइ सामाजिक सुव्यवस्था खलल पार्न खोज्नेलाई यथासक्य कार्वाही गर्ने र सो को लागि प्रदेश सरकार तथा स्थानीय सरकारलाई अधिकार प्रत्यायोजन गर्ने ।

अन्तर्राष्ट्रिय कर्तव्य

विपत सम्हाल्न तथा सामना शैली विकास गर्न व्यक्तिगत, पारिवारिक, समूदाय तथा नेतृत्व तहमा चाहिने दक्षता, स्रोत सामग्री व्यवस्थानमा सघाउने सरकार प्रमखहरुलाई आफ्ना नागरिक प्रति बढी जिम्मेवार भूमिका निभाउन सहजीकरण गर्ने कम प्रभावित राष्ट्र तथा समुदायले अत्यन्त जोखिम तथा गरिव राष्ट्र, शरणार्थी, भोकमरीमा परेका समुदाय, बालगृह तथा वृद्ध आश्रम व्यवस्थापनमा सहयोग गर्ने । कृषि उत्पादनमा सहजीकरण गरी मानव तथा घरेलु जनावर तथा अन्य जनावरको बाँच्नपाउने अधि कारको सुनिश्चिततागर्ने ।

सार

संसारमा कुनै चरम शुख, दुःख स्थायी छैनन्। केहि समयका लागि आउँछन् जान्छन् । हामीले यसबाट उचित ज्ञान सिकी आफ्नोतर्फबाट स्वभाविक तयारी गर्नु नै सबैको हितकर हुनेछ । अध्यात्मवादको सार पनि यही हो । यो नै प्राथमिक मनोसामाजिक उपचारको आधारशिला हो ।

A Levels MA
I Tech store