प्रधानाध्यापक नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष

मेलम्ची, १६ फागुन (रासस): सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ को इसिङ आधारभूत विद्यालयका प्रधानाध्यापक नारायण गिरी सोही वडाको बागेश्वरी माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष बन्नुभएको छ । 

गाउँपालिकाको शिक्षा ऐनको दफा २३ को उपदफा ग मा कुनै पनि विद्यालयमा कार्यरत कर्मचारी, शिक्षक तथा अन्य सरकारी कर्मचारी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन नपाउने भन्ने छ । गत मङ्सिर ३ गते सर्वसम्मतिले गिरीलाई सशर्त अध्यक्ष बनाइएको स्रोतव्यक्ति भरत नेपाल बताउनुहुन्छ । “व्यावहारिक कुरालाई ध्यानमा राखेर तीन महीनाभित्र प्रधानाध्यापकबाट राजीनामा दिने शर्तमा अध्यक्ष बनाइएको हो”, स्रोतव्यक्ति नेपालले भन्नुभयो । 

प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायण गिरी चैतमा राजीनामा दिने बताउनुहुन्छ । गाउँपालिका शिक्षा शाखाका संयोजक खेतनाथ घिमिरेले कानूनविपरीतको काम भएको स्वीकार गर्दै अबका केही दिनमा राजीनामा नदिए पद कायम नराखिने बताउनुभयो ।