After SEE Portal

विद्यालय विकास प्रस्तावको नीतिगत महत्व

Bridge Course

अवधारणा

विद्यालयको सुधार गर्ने कि विकास । अझ राम्रो बनाउनु सुधार हो । नयाँ नयाँ कुराहरु सिर्जना गर्दै जाने प्रक्रिया विकास हो । सबल पक्ष र कमजोर पक्षहरु पहिचान गरेपछि सामान्यत: सुधारका लागि सुझावहरु सिफारिस गरिन्छ । विगतका कमीकमजोरीलाई पहिचान गरेर असल बनाउने कार्य सुधार हो । विकास भन्ने कुरा परिवर्तनसँग सम्बन्धित हुन्छ । सुधारका लागि सुझावको कार्यसुची हुन्छ तर विकासका चरण हुन्छन् । सुधारका सुझाव कार्यान्वयन गरिन्छ तर विकासका चरण अपनाइन्छ । विकासका अनेक सिद्धान्त हुन्छन् । विकासको क्रम हुन्छ, नियम हुन्छ र ढाँचा हुन्छ । विकास चरण हुन्छन् । त्यस्तो चरणमा देखिने परिवर्तनहरु आङ्कलन गरिन्छ । विद्यालय सुधारको कुरा समस्याको समाधानका उपायहरुसँग सम्बन्धित हुन्छ । तर विद्यालय विकास भन्ने कुरा चरणगत नतिजासँग सम्बन्धित हुन्छ ।

फरक फरक योजना

विद्यालय विकास प्रस्ताव र विद्यालय सुधार योजना एउटै होइनन् । विद्यालय सुधार योजनामा परिस्थित विश्लेषण गरिन्छ, समस्या पहिचान गरिन्छ, सुधारको लक्ष्य र लक्ष्य हासिल गर्न गर्नुपर्ने कोशिश (इन्टरभेन्सन)हरुको कार्यसूची तयार गरिन्छ । तर विद्यालय विकासमा विद्यालयको विकासका लागि कुनै एउटा दर्शन र सिद्धान्तमा आधारित रही अवस्था पहिचान सहितको दूरदृष्टि, नतिजा, रणनीति, कार्यनीति र तार्किक ढाँचाको कार्ययोजनालाई प्रस्ताव स्वरुप पेस गरिन्छ । विद्यालय सुधार योजना विद्यालयले तयार गर्ने सङ्गठनात्मक दस्तावेज हो । यसमा सङ्गठनले अनुभूत गरेको सङ्गठनात्मक तथा प्रणालीगत आवश्यकता (अरगनाइजेसनल र सिस्टम निड ) प्रतिविम्बित हुन्छ । तर विद्यालय विकास प्रस्ताव विद्यालयमा प्रधानाध्यापक हुन चाहने एक शिक्षकले प्रतिस्पर्धाका लागि पेस गर्न तयार गर्ने परिकल्पना हो । यसमा एक प्राज्ञिक व्यक्तिले अनुभूत गरेको आवश्यकता (परसिभ्ड निड) झल्किएको हुन्छ । विद्यालय विकास प्रस्ताव सेवा प्रवेशसँग सम्बन्धित छ तर विद्यालय सुधार योजना विद्यालयमा प्रधानाध्यापकको टिकाउसँग । शिक्षण सुधार योजना विद्यार्थीको सिकाइ उपलब्धिमा बढोत्तरी गर्न शिक्षकले बनाउने योजना हो । यसमा आफूले शिक्षण गर्ने विषयहरुमा हालको सिकाइ उपलब्धि र वृद्धि गर्ने सिकाइ उपलब्धिको लक्ष्य र ती लक्ष्य प्राप्तिका लागि शिक्षकले कक्षामा अपनाउने कार्यनीतिहरु उल्लेख गरिन्छ ।  

नीतिगत प्रावधान

शिक्षा नियमावली, २०५९ को नियम ९३ को उपनियम ३,४,५ र ६ मा प्रधानाध्यापक हुनका लागि शिक्षकले विद्यालय विकास प्रस्ताव सहित दरखास्त दिने, उक्त छनौट समितिले प्रस्तावको मूल्याङ्कन गर्ने र प्रस्तावमा रहेका सुचकहरु पूरा गर्ने कार्यदक्षता करार गरी विद्यालय व्यवस्थापन समितिले नियुक्ति गर्ने प्रावधान छ । नमुना विद्यालय विकास एवं सञ्चालन निर्देशिका २०७४ (पहिलो संशोधन २०७५ सहित) निर्देशन नं. ८.१ को (ख) मा नमुना तोकिएका विद्यालयमा विद्यालय प्रधानाध्यापक करारमा नियुक्ति गर्न प्रधानाध्यापक हुन चाहनेले विकास प्रस्ताव पेस गर्नुपर्ने र उक्त प्रस्तावको मूल्याङ्कनका आधारमा मात्र प्रधानाध्यापक नियुक्त गर्ने प्रावधान छ ।  प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम पाठ्यक्रम, २०७३ मा प्रधानाध्यापकको सेवाकालीन तालिमको दोस्रो खण्ड स्वाध्यायन अभ्यास खण्डमा विद्यालय विकास प्रस्ताव तर्जुमा गर्नुपर्ने उल्लेख छ । तर प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम, २०६६ मा तालिममा छनौट भएपछि सहभागी हुन आउनुअघि नै शिक्षकले विद्याल विकास प्रस्ताव तयार गरी तालिममा पेस गर्नुपर्ने प्रावधान थियो । ३० दिनको लागि निर्मित पाठ्यक्रममा विद्यालय विकास प्रस्ताव तयार गर्ने कार्यका लागि विद्यालयमा आधारित ५ दिन बराबरको तालिम दिनको रुपमा गणना गर्ने व्यवस्था थियो । 

विद्यालय विकास प्रस्तावको ढाँचा

विद्यालय विकास प्रस्तावको कार्यमूलक ढाँचा प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम, २०६६ ले पहिलोपटक जारी गरेको थियो । त्यसपछि शिक्षा नियमावली, २०५९ (छैठौँ संशोधन २०६७) को नियम ९३ को उपनियम (३) प्रधानाध्यापक नियुक्तिका लागि निवेदन सहित विद्यालय विकासको प्रस्ताव पेस गर्नुपर्ने प्रावधान आयो । प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम, २०७३ ले  २०६६ को प्रधानाध्यापक तालिम पाठ्यक्रममा तोकिएको ढाँचालाई निरन्तरता दियो । त्यसपछि बनेको नमुना विद्यालय विकास एवं सञ्चालन निर्देशिका, २०७४ ले केही फरक किसिमको ढाँचा प्रस्तुत गरेको छ  ।

१. शिक्षा नियमावलीमा दिइएको कार्यढाँचा: (क) वर्तमान शैक्षिक र आर्थिक अवस्था (ख) विद्यालयले हासिल गर्नुपर्ने अपेक्षित उपलब्धि (ग) वर्तमान अवस्था र अपेक्षित उपलब्धिका सुचकगत अन्तर (घ) अपेक्षित उपलब्धि हासिल गर्ने स्रोत पहिचान सहितको कार्य योजना र (ङ) कार्ययोजनाको मूल्याङ्कनका सूचकहरु ।

२. प्रधानाध्यापकहरुको सेवाकालीन तालिम पाठ्यक्रममा दिइएको ढाँचा: विद्यालयको नाम, विद्यालयको पृष्ठभूमि (विद्यालय विकास योजनाको औचित्यपूर्ण परिचय, स्थापना, कार्यक्षेत्र, दूरदृष्टि, लक्ष्य तथा प्रमुख क्रियाकलाप), प्रमुख विद्यमान अवस्था, समस्या तथा चुनौतीहरु (विद्यालय विकासका पक्षहरु, तिनका सबल पक्ष, र तत्कालिक योजना, आगामी दुई वर्षका लागि सुधारका क्षेत्रहरु), लक्ष्य निर्धारण (अपेक्षित नतिजा, कार्यहरु, कार्य प्रक्रिया, समयावधि, सुचक), विद्यालय विकासका पक्षहरु, विद्यालयसँग सम्बन्धित योजना निर्माण, स्रोत व्यवस्थापन, शिक्षक विकास तथा पेसागत सहयोग, विविधता व्यवस्थापन, विभिन्न निकायहरुसँगको समन्वय, शैक्षणिक व्यवस्थापन  तथा अन्य विविध पक्षहरु ।

३. नमुना विद्यालय विकास एवं सञ्चालन निर्देशिकामा दिइएको ढाँचा : परिचय, दूरदृष्टि, लक्ष्य, उद्देश्य, विद्यालयको विद्यमान अवस्था,  प्रस्तावित योजना, वार्षिक कार्यान्वयन योजना र संस्थागत क्षमता विकास ।

मूल्याङ्मन आधार र महत्व

शिक्षा नियमावलीको अनुसूची १३ मा कुल १०० पूर्णाङ्कमध्ये विद्यालय विकास प्रस्तावका लागि १४ अङ्क तोकिएको छ । नमुना विद्यालय विकास एवं सञ्चालन निर्देशिकाको अनुसूची-८ मा ७० अङ्क भार प्रदान गरिएको छ । प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम, २०७३ को पाठ्यक्रममा अनिवार्य परियोजना कार्यका रुपमा २.५ अङ्क राखिएको छ । तर २०६६ को प्रधानाध्यापक तालिम पाठ्यक्रममा १० अङ्क प्रदान गर्ने प्रावधान थियो ।

निष्कर्ष

शिक्षा नियमावली, प्रधानाध्यापक तालिम पाठ्यक्रम तथा नमुना विद्यालय विकास तथा सञ्चालन निर्देशिकामा दिइएका खाकाहरु फरक फरक छन् । महत्वका हिसाबले नमुना विद्यालयका लागि विद्यालय विकास प्रस्तावको मूल्याङ्कन भार बढी भएको हुन सक्छ । तर तालिम पाठ्यक्रममा यसको महत्व घटीबढी हुन नपर्ने हो । साविक र हालको प्रधानाध्यापक तालिममा विद्यालय विकास प्रस्ताव अनिवार्य छ । वि.सं. २०६६ को पाठ्यक्रममा पूर्णाङ्क १० अङ्क र २०७३ को पाठ्यक्रममा पूर्णाङ्क २.५ बनाइएको छ । के यसले प्रधानाध्यापकको क्षमता विकासमा विद्यालय विकास प्रस्तावको महत्व घटेको अनुभूत हुँदैन र !

लेखक कोहलपुर नगरपालिकाका शिक्षा प्रमुख हुन् ।

A Levels MA
Thuprai - Books and E-books