प्रहरीद्वारा पाल्पाका ४१ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बेझाड, ५ मङ्सिर (रासस) : भैरव नवदीप मावि रैनादेवी छहरा गाउँपालिका पाल्पाका ४१ विद्यार्थीलाई प्रहरीद्वारा शैक्षिक सामग्री वितरण गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पा र नेपाल पुस्तक तथा स्टेशनरी महासङ्घ पाल्पाको सहकार्यमा विद्यालयमा अध्ययनरत जेहेन्दार, गरीब, असहाय, विपन्न विद्यार्थीलाई सामुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बुधबार शैक्षिक सामग्री वितरण गरिएको हो ।

विभिन्न सङ्घसस्थाको सहयोगमा कापी, कलमलगायतका शैक्षिक सामग्री वितरण गरिएको छ । आर्थिक अवस्था कमजोर रहेका परिवारका बालबालिकालाई पढाइमा सहयोग पुगोस् भनेर विभिन्न सङ्घसंस्थाबाट शैक्षिक सामग्री सङ्कलन गरी विभिन्न विद्यालयमा पुगेर वितरण गरिरहेको पाल्पाका प्रहरी नायब निरीक्षक कृष्णराज सापकोटाले बताउनुभयो । संस्थाले यसभन्दा अघि पनि छ विद्यालयमा शैक्षिक सामग्री वितरण गरिसकेको छ ।