Scholarship edusanjal
Thuprai - Books and E-books

दीर्घकालीन योजना बनाउँदै पोखरा विश्वविद्यालय

Admission edusanjal

विगत एकवर्ष अगाडिदेखि १४ जना पदाधिकारी विहीन पोखरा विश्वविद्यालयमा सरकारले गत असोज १४ गते उपकुलपति नियुक्त गर्यो । उपकुलपति नियुक्तिपछि नवनियुक्त उपकुलपति प्राडा प्रेमनारायण अर्यालसंग इडियु सञ्जालले विश्वविद्यालयको भावी योजनाका विषयमा गरेको कुराकानीको सारसंक्षेपः

पोखरा विश्वविद्यालयमा नियुक्ति भएपछि दिनचर्या कसरी चलिरहेको छ ? 

कोभिड १९ ले असर नपारेको कुनै पक्ष नै छैन । विश्वमा यसले विद्यालय, विश्वविद्यालय तथा स्वास्थ्यकर्मी अनि सामाजिक कार्यकर्तालाई असर पारेको छ । यसले सम्पूर्ण क्षेत्रलाई तहसनहस पारेको छ तर यसका पनि सकारात्मक तथा नकारात्मक प्रभाव छन् । अहिले प्रविधिको विकासले तीव्र गतिमा फड्को मारिरहेको छ । धेरै मानिससंग सम्पर्क स्थापित गरेको छ । अहिले सिकाइ पुरानो शैलिमा नयाँ तरिकाले गरिरहेका छन् । हाम्रो पुरानो सिकाइ प्रणाली होम स्कुलिङ हो । अहिले महामारीले यही परम्परालाई भित्र्याएको छ । महामारीका कारण विश्वका जुनसुकै कुनाका व्यक्ति एकअर्कामा एकाकार भएका छन् । 

शिक्षा क्षेत्रमा कसरी लाग्नु भो ?

एसएलसीअघि टेष्टपछि विद्यालयको सेवामा प्रवेश गरेको हो । त्यो समयमा शिक्षण पेसामा ४५ वर्ष बिताए । सेवा प्रवेशपछि विद्यालयले सञ्चालन गरेको सेवा आयोगको परीक्षामा १४ जनामा दोस्रो नम्बरमा पास भए तर शिक्षक बन्न सकिन । तत्कालीन जिल्ला शिक्षा अधिकारीले मलाई बिएड नपढेको हुनाले अयोग्य घोषणा गरिदिए । त्यसपछि काठमाडौंमा आएर उच्चशिक्षा हासिल गरेँ र सेवा प्रवेश गरेको हुँ । शिक्षकलाई तालिम प्रयायक संस्थाको आवश्यकता महसुस गरी काठमाडौं शिक्षा क्याम्पसको स्थापना गरेँ । पुस्तकालयको स्थापना गरें । समुदायसंग जोडियो त्यसैले मेरो सिद्धान्त भनेको सक्षम क्याम्पसलाई जोडेर प्रादेशिक विश्वविद्यालय बनाउनु पर्छ भन्ने हो । यसका अलावा मैले विभिन्ने संघसंस्थामा प्रशिक्षकको भूमिका निर्वाह गरे । 

पोखरा विश्वविद्यालयका विद्यमान समस्या हरु के-कस्ता छन् ?

पोखरा विश्वविद्यालय सबन्धन प्राप्त क्याम्पसका विद्यार्थीको भरमा चलेको छ, सम्बन्धन शुल्क लिनुपर्ने अवस्था छ । यसलाई हेर्दा आंगिक क्याम्पसको संख्या बढाउनु पर्ने अवस्था छ । अनलाइन कक्षा भए पनि पदाधिकारीको अभावका कारण कक्षा प्रभावकारी हुन सकेको छैन । कोभिडका कारण स्थगित परीक्षा सञ्चालन हुन सकेको छैन । बौद्ध र सुदुरपश्चिम विश्वविद्यालयले जस्तै प्रभावकारी कार्यक्रम लिएर छिटै हामी अगाडि बढ्छौं । शिक्षक व्यवस्थापनमा समस्या छ । पाठ्यक्रम परिमार्जन हुन सकेको छैन । विद्यार्थीले आफ्नो पढाइको विषयलाई लिएर धेरै फोन गर्ने गरेका छन् । विद्यार्थी, प्राध्यापकदेखि लिएर थुप्रै समस्या छन् । 

विश्वविद्यालय सुधारका लागि विशेष कार्ययोजना बनाउनु भएको छ ?

सर्वप्रथम त रोकिएको परीक्षा अगाडि बढाउने योजना छ । दोस्रो पूर्वाधार विकासको काम गर्नुपर्ने छ । भौतिक पूर्वाधारको अभावमा विश्वविद्यालयबाट  लाखौं रुपियाँ भाडामा गएको छ । त्यसैले अहिले एउटामात्र आंगिक क्याम्पस छ अब यसको संख्यामा वृद्धि गर्नुपर्छ । यसका अलावा अनुसन्धानलाई प्रभावकारी बनाउने र पाठ्यक्रम परिमार्जन गर्नुछ । विश्वविद्यालयमा नर्सिङ लगायत मेडिकलका कार्यक्रम छन् यसका अलावा विभिन्न चारवटा फ्याकल्टिी छन् । ती सबैमा पाठ्यक्रम परिमार्जन गर्ने सोचमा छु । शिक्षकको पेसागत सुरक्षा गर्दै पाठनपाठनलाई प्रभावकारी बनाउँनैपर्छ । विश्वविद्यालयमा अहिले १४ वटा पदाधिकारी हुनुपर्नेमा दुईतीन जना मात्र हुनुहुन्छ त्यसैले फेरी विद्यार्थीले पढाइ भएन, परीक्षा भएन भनेर पदाधिकारी कार्यकक्षमा ताला लगाउने अवस्था सिर्जना हुन नदिन पदाधिकारी तत्काल नियुक्त गर्ने पहल गरिरहेका छौं । सिंगो विश्वविद्यालयको उन्नयका लागि पञ्चवर्षीय तथा दीर्घकालीन योजना बनाउने सोचमा छौं ।

दीर्घकालीन सोच ?

शिक्षकले पढाउनु पर्यो । विद्यार्थीले पढ्नु पर्यो । विद्यार्र्थीलाई व्यस्त राख्नु पर्यो । विद्यार्थीको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्नुपर्छ । प्राध्यापकले अनुसन्धान गरिरहनुपर्छ । हाम्रा कार्यक्रमले सामुदायिक क्षेत्रमा व्यवहारिक ज्ञान प्रदान गर्न सक्यो भने शिक्षा जीवनको तयारी मात्र होइन जीवन निर्माणको आधार हो । हाम्रा विश्वविद्यालयका विद्यार्थीका लागि स्थानीय परिवेश तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेशमा माग आउने गरिका जनशक्ति उत्पादन गर्नुपर्छ । यसका लागि आवश्यकता अनुसार छात्रवृत्तिको व्यवस्था गर्नुपर्छ । हाम्रो विश्वविद्यालयले अहिलेको प्राविधिक युगमा प्रविधिमैत्री शिक्षा प्रदान गर्ने योजना बनाउने सोचमा छु । हामी विशेषगरी अनुसन्धानमा जोड दिन्छौं । अहिले प्राकृतिक प्रकोप सम्बन्धी युजिसीको प्रोजेक्ट छ । यसका अलावा शिक्षकले अनुसन्धान गर्दै जाने, विद्यार्र्थीलाई गराउने । अनुसन्धान गर्दै जाने विद्यार्थीले अन्य क्षेत्रमा ध्यान दिनै सक्दैनन् । त्यसैले विद्यार्थीले विश्वविद्यालयमा ताला लगाउँदैनन् । यसका लागि विभिन्न खालका योजना निर्माण गरिरहेका छौं । हामी पञ्चवर्षीय योजना, १५ वर्षीय तथा दीघकालीन योजना बनाएर सन् २०४५ सम्म विश्वविद्यालयलाई कहाँ पुर्याउने भन्ने परिकल्पना गरी योजना बनाउने लक्ष्यमा छु । 

योजना कार्यान्वयनका लागि आर्थिक व्यवस्थापन कसरी गर्नुहुन्छ ?

आर्थिक पाटोलाई पारदर्शी बनाउन सरकारको न्यून लगानी बढाउने र राष्ट्रिय स्तरमा आंगिक क्याम्पसको संख्या वृद्धि गर्ने र विभिन्न मल्टिनेसनल कम्पनीसंग सहकार्य गरी आर्थिक उपार्जन गर्ने कार्यक्रम भित्र्याउनुपर्छ । यसका साथै विश्वविद्यालयको जग्गा अथाहा छ त्यो कहाँ कहाँ छ ? खोजी गर्नु छ । यसबाट खर्च व्यवस्थापन हुन सक्छ । विश्वविद्यालयको अहिले अवस्था सोचे जस्तो छैन । विश्वविद्यालयको मातहतको अस्पतालका लागि भवन शिलान्यास गरिएको छ तर यसलाई बनाउन खर्च कहाँबाट ल्याउने ? कसरी जुटाउने ? न त सरकारसंग नै योजना छ नत विश्वविद्यालयसंग नै ? त्यसैले विश्वविद्यालय आफैं आत्मानिर्भर बन्ने खालका व्यवस्थापन, मेडिकल, इन्जिनियरिङ,आयुर्वेद तथा प्रविधिक शिक्षा प्रदान गर्ने पाठ्यक्रम निर्माण गर्न जरुरी छ । जसबाट शिक्षा प्रदान पनि गर्न सकियोस र आर्थिक उपार्जन पनि गर्न सकियोस् । 

वैकल्पिक शिक्षाको अवस्था कस्तो छ ?

अनलाइन कक्षा प्रभवकारी हुन सकेको छैन । अनलाइन कक्षाले वैधानिकता पाएको छैन । विश्वविद्यालय पदाधिकारी नहुँदा आवश्यक प्रक्रिया पुरा गर्न सकिएको छैन । कोभिड १९ को महामारीका कारण विद्यार्थीले गतवर्षदेखि प्रमाण पत्र नपाएर समस्या झेलीरहेका छन् । अहिले अन्य विश्वविद्यालयले अनलाइन कक्षा र अनलाइन परीक्षा सञ्चालन गर्न थालिसकेका छन् । हामी पनि यसैअनुसारका अनलाइन कक्षा र परीक्षा लिने तयारी गर्दैछौं । विभिन्न विश्वविद्यालयको सहयोगमा शिक्षक विद्यार्थीलाई तालिम दिएर अनलाइन तथा फेसटुफेस अनलाइनबाट तत्काल परीक्षा सञ्चालन गर्ने योजना बनाउँदै छौं । चालु शैक्षिक सत्रको कोर्ष सकिने बितिकै परीक्षा सञ्चालन गर्ने र कोर्ष सकिसकेका विद्यार्थीले परीक्षाको तयारी गर्दै गरे हुने गरिको तयारीमा छौं ।

पोखरामा गण्डकी विश्वविद्यालय र पोखरा विश्वविद्यालय छ, अब दुवै विश्वविद्यालयको गतिविधि कसरी अगाडि बढ्लान् ?

एकै ठाउँमा दुई विश्वविद्यालय भए पनि फरक पर्दैन । तर दुईटा विश्वविद्यालयले एउटै पाठ्यक्रम पढाउनु हुँदैन । फरक फरक विषय तथा पाठ्यक्रम प्रभावकारी कार्यान्वयन गर्न सकियो भने पोखरालाई शैक्षिक हबका रुपमा विकास गर्न सकिन्छ । दुइटै विश्वविद्यालयले सहकार्य गरेर एक प्रदेशमा पढाइ भइरहेको राम्रो पाठ्यक्रम प्रदेश तथा देशभरिका विद्यार्थीलाई स्थानीय स्तरमा नै गुणस्तरीय शिक्षा हासिल गर्न अवसरको सिर्जना गर्न सक्छौं । यो सकारात्मक कुरा हो । सहकार्य र समन्वयले दुवै विश्वविद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न सक्छन् भन्नेमा म विश्वस्त छु ।

Courses edusanjal
Select college / campus
Schools edusanjal