प्रमाणपत्र लिन ६ हजार देखि ७ हजार मिटर उचाइको हिमाल आरोहण अनिवार्य
नेपाल सरकारबाट स्वीकृत गुरुयोजनाअनुरुप मुलुकका विभिन्न स्थानमा पर्वतीय प्रशिक्षण केन्द्र निर्माण गरिने, पर्वतीय क्षेत्र र पर्वतारोहण सम्बन्धि प्राविधिक (नन एकेडेमिक) शिक्षालय तालिमहरु संचालन गर्ने र विश्वमै पहिलो पर्वतीय पर्यटन र पर्वतारोहणसंग सम्बन्धित पर्वतीय विश्वविद्यालय स्थापना गरिने ।
दिनभरिको व्यस्तताका बाबजुत सिम्रिक एयरलाइन्सका पाइलट केशव गौचन शरीरमा थकान र अनुहारमा स्पूर्ति लिएर माउन्टेन एकेडेमी पुग्ने गरेका छन् । दिनभर आफ्नो कार्यव्यस्तताका वावजुद समय निकालेर उनी विहान बेलुका ब्याच्लर अफ माउन्टेनेरिङ स्टडी (बीएमएस) को कक्षा लिन सो एकेडेमी पुग्ने गरेका हुन् ।
उनीसहित अन्य दुई जना उनका सहपाठी इन्जिनियर पनि पूर्वाधार विकासको नक्सा कोर्न छाडेर सोही एकेडेमीमा विगत एक वर्षदेखि बीएमएसको कक्षा लिन पुग्ने गरेका छन् ।
पैसा र इज्जत जुन सुकै पेसामा कमाइने भएपनि नेपालको हिमाली पर्यटन क्षेत्रको विकास गरी नेपाललाई विश्वमा चिनाउने लक्ष्यका साथ उनीहरु आफ्नो व्यवसायमा दक्ष हुँदा हुँदै यो विषय पढ्न जाने गरेको बताउँछन् । उनीहरु जस्तै अन्य ५१ जना विद्यार्थी नेपाल माउन्टेन एकेडेमीले सञ्चालन गरेको ब्याच्लर अफ माउन्टेनेरिङ स्टडी (बीएमएस) को कक्षा लिइ रहेका छन् ।
महिलाको आकर्षण कम
महिलालाई शारीरिक रुपमा कमजोर मान्ने तथा यसको महत्वका बारेमा आवश्यक प्रचारप्रसार नहुँदा छात्रा यो विषयप्रति आर्कषित हुन नसकेको दोस्रो सेमेस्टरकी छात्रा डोमा लामा बताउँछिन् ।
२०३२ साल जेठ २ मा जापानी महिला जुन्को तावेईले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेकी थिइन् । नेपाली महिला पासाङ ल्हामु शेर्पाले २०५० वैशाख १० गते पहिलो पटक सगरमाथाको सफल आरोहण गरेकी थिइन् । तावेइ, पासाङलगायत अहिलेसम्म ४ सय ८ जना महिलाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।
यस वर्ष १७ नेपाली महिला सहित जम्मा ५२ जना महिलाले सगरमाथाको सफल आरोहण गरेका छन् । गत वर्षसम्म २६ नेपाली महिलाले सगरमाथाको आरोहण गरेको इतिहास हाम्रा सामु जीवित हुँदा हुँदै महिला यो शिक्षामा आकर्षित हुन नसक्नुमा प्रचारप्रसारको अभाव भएको लामाले दाबी गरिन् ।
नेपाली मुलकी अमेरिकी नागरिक लाक्पा शेर्पाले सर्वाधिक ९ पल्ट सगरमाथा आरोहण गरी महिलाले पनि पर्वतारोहणका लागि सक्षम छन् भन्ने प्रमाणित गरिसकेको हुनाले छात्रालाई बीएमएस शिक्षाको जरुरत भएको लामा बताउँछिन् ।
पर्यटन शिक्षालाई प्रवद्र्धन गरी देशको आर्थिक उन्नति गर्ने लक्ष्यका साथ यो विषय अध्ययन गर्न थालेको पर्यटन व्यवसायी तथा दोस्रो सेमेस्टरका छात्र प्रशान्त राउत बताउँछन् ।
सन् २००२ मा स्थापना भएका एकेडेमीेले प्रचारप्रसार, पूर्वाधार व्यवस्थापन र पाठ्यव्रmम निर्माण तथा स्वीकृतिमा ढिलाइ जस्ता समस्याका कारण २०१७ देखि मात्र बीएमएसको कक्षा सञ्चालन गरेको हो । बीएमएसको अहिले दोस्रो सेमेस्टर सञ्चालनमा रहेको छ । गत वर्ष २३ जना विद्यार्थी भर्ना भएकोमा २ जना छात्राले बीचैमा कक्षा छाडेपछि अहिले २१ जना विद्यार्थी मात्र अध्ययनरत छन् । भने, पहिले सेमेस्टरमा ३० जना विद्यार्थी भर्ना भएका छन् ।
त्रिभुवन विश्वविद्यालयसँग अनुमति लिएर एकेडेमीले छुट्टै पाठ्यक्रम निर्माण गरी चार वर्षे बीएमएसको अध्यापन सुरु गरेको हो । पर्यटनविद् प्राध्यापक डाक्टर रमेशराज कुँवरको संयोजकत्वमा विज्ञहरूको सहभागितामा स्नातक तहको पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गरिएको हो । यो समितिले स्नातकोत्तर तहको समेत पाठ्यक्रम तयार गरिसकेको छ ।
पाठ्यक्रममा सैद्धान्तिकभन्दा प्रयोगात्मकलाई प्राथमिकता दिएको छ । कोर्स पूरा गर्दा पर्यापर्यटन, व्यवस्थापन, हिमालय हेरिटेज, वाल क्लाइम्बिङ, पैदल यात्रा, पर्वतारोहणमा मानवशास्त्र र समाजशास्त्र, नेपाली हिमालको भौगोलिक अध्ययन, नेपालको पर्यटन, साना हिमालसम्मको यात्रा र आरोहण गर्नुपर्ने जस्ता विषयलाई पाठ्यक्रमले समेटेकोे छ । पाँचौं सेमेस्टरमा फ्रेन्च भाषा, हिमाल, वातावरण र पर्यटन क्षेत्रको अध्ययन, आरोहणमा सुरक्षा, हिमालको आधारभूत आरोहण पढाइ हुन्छन् ।
६ सेमेस्टेरपछि पर्यटन कानुन, आरोहण व्यवस्थापन, मानवीय स्रोतको व्यवस्थापनदेखि ६ हजारदेखि ७ हजारसम्मका हिमालको सफल आरोहणसमेत गर्नुपर्ने छ। अग्ला हिमालैहिमालको देश नेपाल भएकाले विदेशीलाई हिमाल पढाउन नेपाल भित्र्याउने लक्ष्य यो विषयको रहेको छ। अधिकांश नेपालीलाई हिमालबारे जानकारी छैन, यसैले हिमालका संस्कृति, हिमालमा हुने र गर्न सकिने गतिविधि, हिमालको महत्व, संसारभर यो पढाइको अध्ययनबाट सन्देश पुग्ने छ।
तेन्जिङ नोर्गे र एडमन्ड हिलारीले सन् १९५३ मा सगरमाथाको सफल आरोहणदेखि हिमालसँग मानवीय सम्बन्ध आधिकारिक रूपमा जोडिएको ६६ वर्ष बिते पनि परम्परागत पद्धति मात्र भएकाले अध्ययनलाई प्रयोगात्मक रूपमा बढी जोड दिइएको हो। कीर्तिमान बनाउन मात्रै आरोहण गरिँदै आएको हिमाललाई अब नेपालबाटै विश्वभरका विद्यार्थीले पढ्न पाइने भएको छ। चार वर्षयतादेखि तयारी थालेको एकेडेमीले ०७३ माघमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको थियो।
मेनेजमेन्ट विषयअन्तर्गत पढाइ हुने बीएमएस पढ्न कक्षा १२ मा ४५ प्रतिशतभन्दा माथि अंक प्राप्त गरी पास गरेको र हिमालसम्बन्धी पढाइमा रुचि राख्ने विद्यार्थी भर्ना हुन पाउने व्यवस्था छ। विश्वमा हिमाल आरोहण र गाइड गर्ने आरोहीहरू परम्परागत र तालिम प्राप्त गरी दुई प्रकारका छन्। प्राकृतिक र परम्परागत रूपमा हिमाल आरोहण गर्ने गरे पनि मान्यताप्राप्त प्रमाणपत्र उनीहरूले पाउन सकेका छैनन् । प्रमाणपत्र अभावमा आरोही र गाइड मजदुरहरूले सरकारी सेवामा प्रवेश गर्न पाएका छैनन् ।
आरोहणका क्रममा दुर्घटनाहरू हुदाँ उच्च क्षेत्रमा उद्धारमा खटिने जनशक्ति सेना, प्रहरीसँग समेत छैन । उद्धारलाई व्यवस्थित गर्न पर्वतारोहीहरूलाई प्रयोग गर्नुको विकल्प छैन । यो विषय अध्ययनपछि सैद्धान्तिक र प्रयोगात्मक रूपमा दक्ष हुने हुनाले धेरै अवसर पाउनेमा दुई मत छैन । यो विषय अध्ययनपछि सरकारी सेवामा प्रवेशदेखि विश्वका हिमालमा आधिकारिक रूपमा आरोहण, गाइडजस्ता क्षेत्रमा रोजगारी पाउनुका साथै अध्ययन अवलोकन गर्न अवसर पाइने छ ।
पर्वतीय विश्वविद्यालय स्थापना हुने
विश्वमै पहिलो पर्वतीय पर्यटन र पर्वतारोहणसंग सम्बन्धित पर्वतीय विश्वविद्यालय स्थापना गर्नका लागि एकेडेमीले तयारी गरिरहेको छ । हिमाल आरोहण मात्र नभएर अध्ययनसमेत गर्न पाउने गरी विश्वमै पहिलो पटक स्नातकोत्तर तहको कक्षा सञ्चालन गर्न लागिएको हो ।
बीएमएसमा व्यवसायी, इन्जिनियर र पाइलट पेसामा आवद्ध स्वेदशी तथा भारत, पाकिस्तान,स्विजरल्याड, फ्रान्स, इटालीका विद्यार्थीको आकर्षण बढेपछि एकेडेमीले स्नातकोत्तरको कक्षा सञ्चालन गर्ने भएको हो । स्नातकोत्तरमा अध्ययनका लागि अहिले नै सय भन्दा बढी विद्यार्थी एकेडेमीको सम्पर्कमा आएका छन् । त्यस्तैगरी आगामी भाद्रमा भर्ना हुने पहिलो सेमेष्टरका लागि पनि दुई सयभन्दा बढी विद्यार्थी सम्पर्कमा आएको एकेडेमीका सूचना अधिकारी उत्तमबाबु भट्टराइले जानकारी दिए ।
उच्च शिक्षाका लागि विदेश भौतारिने विद्यार्थीलाई स्वदेशमा नै गुणस्तरीय तथा व्यवसायिक शिक्षा प्रदान गर्ने उद्देश्यले सञ्चालित सो एकेडेमीमा त्रिभुवन विश्वविद्यालयले नै प्रवेश परीक्षा लिने गरेको छ । त्रिविको प्रवेश परीक्षा मिति तोकिएको समय नहुनु तथा पटक पटक परीक्षा मिति परिवर्तन हुँदा विदेशी विद्यार्थी पढ्न आउन नसकेको भट्टराई बताउँछन् ।
शिक्षा किताब घोकेर मात्र होइन प्रत्यक्ष फिल्डमा घुमेर पनि आर्जन गर्न सकिन्छ । आधुनिक शिक्षण पद्धतिको प्रयोग गरी आर्जन गरिएको शिक्षाले जीवन निर्वाह गर्न सजिलो हुन्छ भन्ने लक्ष्यका साथ यो विषयको पढाइ सुरु गरिएको भट्टराईले बताए ।
नेपाल माउन्टेन एकेडेमीका सदस्यसचिव रोमनाथ ज्ञवाली भन्छन्,‘सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गर्दै नेपालमा पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले विश्वविद्यालयको अवधारणा ल्याइएको हो ।’ उनी भन्छन्,‘विश्वभरका २६ देशमा हिमाल छ, यीमध्ये नेपाल सबैभन्दा धेरै हिमाल भएको देशको हो ।’
सबैभन्दा अग्लो हिमाल सगरमाथादेखि आठ हजारभन्दा अग्ला ८ वटा हिमालसमेत नेपालमै छन् । हिमाल आरोहणअघि स्वदेशी तथा विदेशी आरोहीलाई आवश्यक पर्ने ज्ञान तथा तालिम प्रदान गर्नसमेत पवतीय विश्व विद्यालयको आवश्यकता परेको विज्ञहरु बताउँछन् । सम्भावव्यता अध्ययन, तथा आरोहीहरूलाई हिमालसम्बन्धी ज्ञान दिलाउन अध्ययनले सहयोग पु¥याउने ज्ञवालीले बताए ।
सरकारले ६ हजार ५ सयभन्दा माथिका चार सय ७६ हिमाल आरोहणका लागि उपयुक्त भनी पहिचान गरेको छ । भने चार सय तीन वटा पहिचान गरी आरोहणका लागि खुला गरिसकेको छ ।
हिमाल आरोहण क्षेत्रमा काम गर्दै आएका प्राविधिक जनशक्तिमध्ये ५८ जना पर्वतारोहण पथ प्रर्दशकका रूपमा अन्तर्राष्ट्रिय जगतले मान्यता दिइसकेको छ । दुई दर्जनबढीले अन्तर्राष्ट्रियस्तरको तालिम प्राप्त गरिसकेका छन् । तर यी जनशक्तिलाई नेपाल सरकारले कुनै पनि मान्यता दिन सकेको छैन । प्राविधिक शिक्षाको रूपमा सीप परीक्षण गरी सीटीईभीटीबाट मान्यता दिने निर्णय गरे पनि हालसम्म गाइडहरूको दक्षता प्रमाणित गर्न सकिएको छैन । यस्ता समस्या समाधानका लागि प्राज्ञिक जनशक्ति उत्पादन गर्न पर्वतीय विश्वविद्यालय सञ्चालन गर्न लागिएको एकेडेमीले जानकारी दियो ।