सार्वजनिक शिक्षा रुपान्तरणको खम्बा प्रधानाध्यापक

Thuprai - Books and E-books

२०५१ मा शिक्षक बनेर तत्कालीन जनकल्याण प्राथमिक विद्यालय हालको जनकल्याण माध्यमिक विद्यालयमा प्रवेश गर्नु भएकी कुमारीकमला राई  हाल सो विद्यालयको प्रधानाध्यापक हुनुहुन्छ । उहाँसंग विद्यालयको समग्र अवस्था तथा सार्वजनिक शिक्षा रुपान्तरणमा प्रधानाध्यापकको भूमिका विषयमा इडियुपत्र संवाददातासंग भएको कुराकानीको सारसंक्षेपः 

म लैङ्गिकतामा होइन आफैंमा विश्वास गर्छु ।

जनकल्याण माविको बारेमा बताइदिनोस् न ?

विद्यार्थीलाई खेल मैदानको अभाव छ । हामीले चाहेर पनि विद्यार्थीलाई आवश्यक खेल खेलाउन सकेका छैनौं । वार्षिक रुपमा एक हप्ता खेल खेलाउन बाहिर लिएर जान्छौं ।

विसं २०१० सालमा स्थानीय सत्तल (पाटी) बाट जनकल्याण माविको सुरुआत गरिएको हो । तत्कालीन समयमा कक्षा ५ सम्म पठनपाठन गराउने उद्देश्यले स्थापना भएको यो विद्यालय काठमाडौं बौद्ध महाङ्कालमा छ । जनकल्याण लामो समयसम्म प्राथमिक विद्यालयका रुपमा सञ्चालन भयो । यो विद्यालयले लामो संघर्षपछि २०५५ सालमा मात्र निम्न माध्यमिक कक्षा सञ्चालन गर्ने अनुमति पायो भने २०५७ सालदेखि कक्षा १० सम्म पठनपाठन सुरु गर्‍यो । यहाँका विद्यार्थीले २०५८ सालमा मात्र तत्कालीन एसएलसी हालको एसईई परीक्षा दिने अवसर पाए । हाम्रो विद्यालयले २०६४ सालदेखि कक्षा ११ को पठनपाठन सुरु गर्‍यो । अहिले ईसीडीदेखि कक्षा १२ सम्म पठनपाठन हुन्छ । अहिले हाम्रो विद्यालयमा ७७ जिल्लाका १ हजार ७२२ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयले माध्यम भाषाका रुपमा अंग्रेजीलाई चयन गरेको छ । अभिभावकको माग र विद्यार्थीको चाहानालाई आत्मसाथ गर्दै आगामी शैक्षिक सत्रदेखि कक्षा १० सम्म अङ्ग्रेजी माध्यममा पठनपाठन गराउने भएका छौं । कक्षा ११ र १२ मा मानविकी, व्यवस्थापन र शिक्षा समूहका विभिन्न विषयको पठनपाठन गराउँदै आएको छ । विद्यालयको भौतिक सम्पत्तिका रुपमा २ रोपनी १३ आना मात्र जग्गा छ । विद्यार्थीलाई खेल मैदानको अभाव छ । हामीले चाहेर पनि विद्यार्थीलाई आवश्यक खेल खेलाउन सकेका छैनौं । वार्षिक रुपमा एक हप्ता खेल खेलाउन बाहिर लिएर जान्छौं । आर्थिक अभावका कारण हरेक हप्ता विद्यार्थीलाई खेलाउन सकिने अवस्था छैन । २०७२ सालको विनासकारी भूकम्पको बाछिटा हाम्रो विद्यालयमा पनि पर्‍यो । २०६९ को भीषण वर्षाका कारण विद्यालयको भत्किएको भित्ता पुनः निर्माण हुन नपाउँदै भूकम्पले बस्नै नहुने बनाइदियो । त्यसपछि ठुलो संघर्ष गरेर भवन निर्माण गर्यौं ।

पुननिर्माण प्राधिकरण (शिक्षा ) ले भवन बनाइ दिएन त ?

दाताको रु. ३ करोड आर्थिक सहयोगमा भवन,  निर्माण कम्पाण्ड वाल, शौचालय, सीसीटीभी, फर्निचर, साइन्स ल्याब लगायतका पूर्वाधार विकासमा सहयोग गर्‍यो

भूकम्पले हाम्रो विद्यालयलाई पूर्ण क्षति पुर्‍यायो । रातो स्टिकर टासिन पुग्यो । एउटा भवन भत्काउनु पर्‍यो । भूकम्पपछि विभिन्न संघ संस्था तथा दाता र राजनीतिक दलको सहयोगमा अस्थायी टहरा निर्माण गरेर टहरामा पढायौं । टहरामा लामो समय पढाउन सम्भव थिएन । त्यसैले भवनको पुनःनिर्माणका लागि शिक्षा विकास तथा समन्वय इकाइ, शिक्षा विभाग (शिक्षा तथा मानव स्रोत विकास केन्द्र), शिक्षा मन्त्रालय र प्रधान मन्त्रीलाई समेत हारगुहार माग्यौं तर भवन बनाउन कसैले चासो देखाएन । हामीलाई हाम्रा बालबालिकालाई सुरक्षित भवनमा राखेर पढाउन चुनौतीका रुपमा देखा पर्‍यो । भवन निर्माणका लागि भौतारी रहेका बेला एउटा चिनियाँ संस्था ‘नेपाल कैलाश चीन सांस्कृतिक सम्बर्धन विकास संघ’ ले विद्यालयको भवन निर्माणका लागि करिब रु. ३ करोड आर्थिक सहयोग प्रदान गर्‍यो । सोही रकमले हामीले भवन बनायौं । सो संस्थाले विद्यालयको भवनका साथै कम्पाण्ड वाल, शौचालय। सीसीटीभी, फर्निचर, साइन्स ल्याब लगायतका पूर्वाधार विकासमा सहयोग गर्‍यो । अहिले विद्यार्थीलाई भूकम्प प्रतिरोधी आधुनिक कक्षा कोठामा राखेर पढाउन पाएका छौं ।

कक्षा शिक्षणमा कस्ता विधि तथा प्रविधिहरू अपनाउनु हुन्छ नि ?

शिक्षणमा आधुनिकता भित्र्याउँदैछौं । पुरै भित्र्याउन सकेका छैनौं । तर प्रयत्नरत छौं । गुणस्तर सुधारका लागि निरन्तर पहल गरिरहेका छौं । नयाँ शिक्षकहरू पूर्ण रुपमा पूर्व तयारीका साथ आउनु हुन्छ । विद्यालयमा जागिर भन्दा पनि सेवा भावले छिर्छौं । हामीले आर्थिक अभावका कारण सबै कक्षामा स्मार्ट बोडको व्यवस्थापन गर्न सकेका छैनौं । एउटामा राख्ने तयारी गरिरहेका छौं । यसका लागि संघर्ष गरिरहेका छौं । सुखदुखलाई आत्मसाथ गर्दै विद्यार्थीलाई खुसी राखेर पढाउँछौं । अहिलेसम्म हाम्रो उपलब्धी मध्यम खालको छ । तर यो वर्षदेखि शिक्षण तरिका तथा समय परिवर्तन गरेका छौं । क्षमताका आधारमा समूह विभाजन गरेर विहान १० बजेदेखि साझ ६ बजेसम्म विद्यार्थीलाई समय दिन्छौं । यस बापत अभिभावककले केही आर्थिक सहयोग गर्नुहुन्छ यसैबाट अतिरिक्त समयको खर्च व्यवस्थापन गर्छौं । विद्यालयलाई प्रविधिमैत्री बनाई नमूना विद्यालयको रुपमा परिचित गराउन यस वर्षदेखि शिक्षणमा रुपान्तरण गरेका छौं । अबको युगको प्रविधिको युग हो । अहिले हप्तामा एकपटक विद्यार्थीलाई आइसीटी ल्याबमा लैजाने, नर्सरी तहका विद्यार्थीहरुलाई अडियो भिजुयल कक्षा सञ्चालन, बालमैत्री कक्षा, पुस्तकालय, विज्ञान प्रयोगशाला, प्रत्येक कक्षाकोठमा सीसीटीभी जडान, आइसीटी ल्याब, किनर गार्डेन लगायतका प्रविधिको प्रयोग गर्छौं ।

सरकार त माध्यमिक तहसम्म निशुल्क शिक्षा भएका कारण कुनै शीर्षकमा शुल्क लिन पाइँदैन भन्छ नि ?

सरकारको काम नीति बनाउने हो । कार्यान्वयनका जटिलता कस्ता छन् ? भनेर मूल्याङ्कन गरेको जस्तो लाग्दैन । किनकि मेरो विद्यालयमा सरकारले अहिलेसम्म सबै विषयका लागि विषयगत शिक्षक दरबन्दी दिन सकेको छैन । माग्दामाग्दा हैरान भइसक्यो अहिलेसम्म विषयगत शिक्षक दरबन्दी व्यवस्थापन हुन सकेको छैन । विद्यालयमा शिक्षक विद्यार्थी अनुपात मिलेको छैन । त्यसैले निजी स्रोतमा शिक्षक व्यवस्थापन गरेका छौं । उहाँहरूले खानु पर्‍यो , बाच्नु पर्‍यो बचाउनु पर्‍यो । हामीसंग वैकल्पिक आर्थिक स्रोत छैन । त्यसैले आर्थिक सहयोग लिन्छौं । त्यसमा पनि अभिभावकहरूले स्वतस्फुर्त रुपमा सहयोग गर्नुहुन्छ । हामी रहरले होइन करले आर्थिक सहयोग लिन्छौं । गुणस्तर सुधारका लागि प्रयत्नरत छौं ।

विद्यालयको उपलब्धी कस्तो छ नी ?

हाम्रो उपलब्धी सुधारउन्मुख छ । गत वर्ष सय जनाले एसईई दिएकोमा ३.५ जीपीएभन्दा माथि जीपीए ल्याउन सकेनौं । त्यसैले यो वर्षदेखि फरक अभ्यास गरेका छौं । विहान १० देखि बेलुका ६ बजेसम्म अङ्ग्रेजी, नेपाली, गणित र विज्ञान विषयको अतिरिक्त कक्षा सञ्चालन गरेका छौं । यो वर्षको एसईईमा केही विद्यार्थीले विगतमा भन्दा राम्रो नतिजा ल्याउनेमा विश्वस्त छौं । यो वर्ष ११३ जना विद्यार्थीले एसईई दिँदैछन् । हरेक वर्ष हाम्रो नतिजा सुधार हुँदै आएको छ । यो वर्ष अझ राम्रो हुनेमा आशावादी छु ।

सामुदायिक विद्यालयको गुणस्तर सुधारमा प्रधानाध्यापकले कस्तो भूमिका खेल्नु पर्छ ?

पाठ्यक्रम कार्यान्वयनको प्रमुख थलो कक्षाकोठा हो । कक्षाकोठाको सुधार, विकास र व्यवस्थापनको जिम्मा प्रधानाध्यापकको हो । किनकि विद्यालय सुधारको प्रमुख खम्बा प्रधानाध्यापक नै हो । प्रधानाध्यापकमा लिङ्गकता होइन क्षमता, सहनशीलता र धर्यता, काम गर्ने इच्छा शक्ति चाहिन्छ । यति भएमा सामुदायिक विद्यालय अवश्य सुध्रिन्छ । तर यसको प्रत्यक्ष अवालोकन, नियमन तथा निरीक्षण सरोकारवालाले गर्नुपर्छ । विद्यालयका हरेक गतिविधिमा विद्यालय व्यवस्थापन समितिलाई अंकुश लगाउने अधिकार छ । मूल्याङ्कन गर्ने अधिकार छ । विना पूर्वाग्रह केवल विद्यालय सुधारका लागि प्रधानाध्यापकलाई विद्यालय व्यवस्थापन समितिले मार्ग दर्शन, सहयोग र साथ दिएमा विद्यालयको गुणस्तर सुधार सम्भव छ ।

लैङ्गिकताका कारण काममा असहजता महसुस गर्नु भएको छ ?

छैन, म लैङ्गिकतामा होइन आफैंमा विश्वास गर्छु । योजनामा भर पर्छु । अन्य राम्रा अभ्यास गरेका विद्यालयको अभ्यासलाई अध्ययन अवलोकन गरेर योजना बनाउँछु व्यवस्थापनले पूर्ण सहयोग गरेको छ । त्यसैले मलाई म महिला भएका कारण केही गर्न सक्दिन कि जस्तो लागेन र लाग्दैन पनि । सरकारको सार्वजनिक शिक्षा रुपान्तरणको कार्यक्रमलाई म आफ्नो विद्यालयलाई नै एक नमुना विद्यालय बनाएर देखाउन सक्छम हुनेछु छु भन्नेमा विश्वस्त छु ।

सरकारको सार्वजनिक शिक्षा रुपान्तरणको नारा सम्भव छ त ?

सम्भव छ, तर यसका लागि सरकारले विषयगत शिक्षक दरबन्दी व्यवस्थापन गर्नुपर्छ । प्रधानाध्यापकलाई हतोत्साही तथा निरास बनाउनुको सट्टा प्रोत्साहन गर्नुपर्छ । प्रधानाध्यापकले आफ्नो कौशलको प्रयोग गरी शिक्षकको मनोविज्ञान, अभिभावकको मनोविज्ञान बुझेर योजना बनाउनु पर्छ । सेवा गरे मेवा पाइन्छ भन्ने मूल मन्त्रलाई आत्मसाथ गरी शिक्षकले सेवाभावले विद्यार्थीमैत्री, प्रविधिमैत्री शिक्षण सिकाइ गर्नुपर्छ । अवश्य सुध्रिन्छ तर जुन विषय पढेकाले पनि नेपाली त हो पढाइ हाल्छन्, योग्यता छ पढाइ हाल्छ भनेर शिक्षक दरबन्दी मिलान गर्नुभन्दा सम्बन्धित विषयकै शिक्षक नियुक्त गर्नुपर्छ । सरकारले शिक्षामा गरिएको लगानी खेर जानेभन्दा पनि भविष्यका लागि हो भनेर लगानी गर्नुपर्छ । विषयगत शिक्षक तालिम तथा पुनर्ताजगी तालिमको व्यवस्थापन गर्नुपर्छ । तालिम प्राप्त शिक्षकले तालिमको उपलब्धिको प्रयोग कक्षाकोठामा गरेकी गरेनन् भन्ने कुराको प्रभावकारी अनुगमन तथा निरीक्षण गर्नुपर्छ । सुध्रिन्छ । सम्भव छ ।