विद्यालय शिक्षामा भद्दा टाटाहरूको निरन्तरता

सामुदायिक विद्यालय घुम्ने क्रममा  भेटिएका र देखिएका जीवन्त दृष्टान्तहरूः

देशमा चुनावले रापताप दिईरहेको बेलामा म भने विद्यालय अवलोकन कार्यका लागि केही जिल्ला घुम्ने योजनामा तिहार लगत्तै निस्किए । विद्यालयमा गएको बेला कक्षामै समय विताउने बानीका कारण, पहिलो विद्यालय अवलोकन कै दिनमा एउटा विद्यालयको कक्षा तीनमा दोस्रो घण्टीमा पसें र करिव ४० मिनेट विताए । सिमेन्टले प्लास्टर गरिएको पक्कि कोठाको भुइमा कालो फर्म, त्यसमाथि कार्पेट र साना उमेर अनुसारका टेवल राखिएको कोठामा विद्यार्थीहरू आम्नेसाम्ने गरेर बस्ने योजना गरिएको थियो । आम्नेसाम्ने भएर बस्ने प्रावधान अनुसार दुईओटा टेवलको ४ जना विद्यार्थी सेतोपाटीतिर पिठ्युँ फर्काएर कक्षाको पछाडितिर फर्किनु पर्ने रहेछ । त्यो उनीहरूको स्थायी बसाइ व्यवस्थापन रे । तर शिक्षकको धेरै क्रियाकलाप भने सेतोपाटी र शिक्षक केन्द्रित नै थिए । ती चार जना विद्यार्थी भने १८० डिग्रीमा घुमी अगाडि फर्केर भित्ताको सेतो पाटीमा हेर्नुपर्ने र पुनः त्यतिकै फर्केर आफ्नो टेवलमा लेख्नु पर्ने । अनि शिक्षकले पढाइरहदा पनि शरीर बटारेर बस्नु पर्ने । यो अवस्था देखेपछि शिक्षकलाई भनेर उक्त बसाई व्यवस्था परिवर्तन गरिदिएँ । अनि मेरो मनमा थप कुराहरू खेल्न थाले । त्यसपछि विद्यालयहरू अनुगमन गर्दै जाँदा विद्यालयमा विगतदेखि अभ्यासमा रहेका भद्दा टाटाहरूतिर ध्यान मोडियो ।

यस्तै भद्दा टाटाहरूको निरन्तरताका कारण धेरैमा गरिएका नयाँ प्रयासहरू पनि प्रभावकारी हुन सकेका छैनन् । जस्तै २०४७ सालमा दरबन्दीमा कार्यरत सबैजनालाई एकैपटक स्थायी, आधारभूत तथा प्राथमिक शिक्षा परियोजना, सबै शिक्षकहरूलाई एकैपटक आधारभूत तालिम कार्यक्रम, विद्यालय सुधार योजना, विद्यालयको व्यवस्थापन समुदायलाई हस्तान्तरण र सरकारी विद्यालयको सामुदायिकीकरण, बालकक्षा व्यवस्था, दिवा खाजा, शिक्षक दरवन्दी थप, विद्यालय प्रविधि कार्यक्रम, वन ल्यापटप पर चाइल्ड, विद्यालय करेसावारी, शिक्षक तालिममा विशिष्टीकरण, पढ्दै कमाउदै  गर्ने व्यवसायिक विद्यालयको अवधारणा आदि ।

तर पनि कक्षा तीन÷चारमा अध्ययनरत विद्यार्थीले नाम लेख्न हात कमाउने र कितावको पहिलो हरफ राम्रोसंग पढ्न सक्दैनन् । कक्षा ९÷१० का विद्यार्थीलाई विज्ञान भनेको के हो ? भन्यो भने साइन्स भन्छन् । यिनै प्रतिनिधि असफलताहरूलाई हेर्दा शिक्षाको गुणस्तर खस्किनुका प्रमुख कारणहरू विगतबाट निरन्तरता पाउदै आएका सामुदायिक शिक्षा क्षेत्रका भद्दा टाटाहरू हुन भन्ने कुरामा दुईमत रहेन । केही प्रमुख भद्दा टाटाहरूः 

घण्टी खालि – घरतिर

पचासको दशकभन्दा पहिलेको चलन हो । चल्दै आएको छ । बहानाबाजी बन्दै आएको पनि छ । शिक्षकहरूलाई कक्षा र विषय विभाजन गरिएको हुन्छ । शिक्षकहरू कहिले अनुपस्थित हुने र कहिले छिटो जाने वा कुनै काम विशेष बाहिर जाने कुरा सामान्य हुन् । सबैलाई यस्तो पर्छ नै । उक्त कक्षा अरूले लिने चलन हुँदैन । त्यस्तो अवस्थामा दुईओटा विकल्प हुदो रहेछ । पहिलो स्कुलले थप सुविधा दिएर खालि बसेका शिक्षकलाई कक्षामा पठाउने । अनि दोस्रो विकल्प प्रधानाध्याकको आग्रह वा निर्देशनमा खालि घण्टी भएका शिक्षकले गएर विद्यार्थीलाई अलमल्याउने ।

यसै सन्दर्भमा प्रचलनमा रहेको एउटा अभ्यास हो खालि भएको शिक्षकले आफ्नो पछाडिको घण्टी अगाडि सार्ने र यसो गर्दै जाँदा कुनै कक्षाको अन्तिमतिरका घण्टी खालि हुन्छन् अनि विद्यार्थीहरू दुई तीन घण्टी पहिले नै घरतिर लाग्छन् । कहिलेकाही त कुनै कक्षाको चौथो र पाचौं घण्टी खालि हुने अनि पछाडिको घण्टीको लागि किन बस्ने भनेर विद्यार्थी घरतिर हिड्ने चलन पनि छ । सहर र सदरमुकामका केही विद्यालयहरूमा यस्तो भद्दा प्रचलनको अभ्यास घटेको वा हटेको भए पनि करिव ८० प्रतिशत सामुदायिक विद्यालयमा यो कायम नै छ । अभैm भन्ने हो भने वर्तमान अभ्यास अनुसार सानो कक्षामा कक्षागत शिक्षणको प्रचलन छ र कारणवश उक्त शिक्षक नआएमा वा छिटो गएमा कक्षा नै खालि हुने विदा हुने अभ्यास जिन्दावाद छ । यस्तो अवस्थामा वा सुशासनको अभावमा शिक्षामा सुधार र गुणस्तरका कुरा गर्नु वेतुकको कुरा हो । अगुवाहरूले जनता र सरोकारवालाहरूलाई हुस्सु बनाउने कुरा हो । आफ्नो दुनो सोझ्याउने कुरामात्र ।  

कक्षा कार्य (काम दिएको छु)

चुप लागेर यो काम गर्नु । हल्ला ग¥यो भने मैलें जानेको छु । यो पनि कल्पना गरिएको शव्दावली होइन । नेपालका सामुदायिक विद्यालयमा निकै प्रचलित शव्दावली हो । यसको प्रयोग विविध अवस्थामा हुने गरेको छ । खासगरेर तयारी विना नै कक्षामा जाने शिक्षकहरू विद्यार्थीलाई कितावबाट पाठ सार्ने, अभ्यास गर्ने, मन मनै पाठ पढ्ने, सेतोपाटीबाट सार्ने जस्ता कामहरू दिएर शिक्षक अफिस वा कार्यकक्षमा आएर बस्ने, छेउतिर गएर फोनमा कुरा गर्ने, बाहिर आएर अरू कक्षाको शिक्षकहरूसंग कुराकानी गर्ने, घाम ताप्ने, आदि काम गर्ने गरिएको पाइन्छ । यो कार्य अधिकांश घण्टीमा शिक्षकहरूले गर्दै जाँदा विद्यार्थीको पढाइमा कति असर पर्ला भन्न गारो छैन । साथै कहिले काही शिक्षक नभएको अवस्थामा अर्को कक्षाको शिक्षक गएर केही काम दिने गरिएको हुन्छ । यसलाई अन्यथा मान्न सकिँदैन ।

त्यसैले शिक्षकहरूको “काम दिएको छु” भन्ने निकै प्रचलित छ । अभ्यासमा छ । यसबाट शिक्षकरूलाई केही सहजता पनि छ । तर यसको असर भविष्यका बालबालिकामा कसरी परिरहेको छ भन्ने सजिलै आंकलन गर्न सकिन्छ । यसका प्रमाणहरू छ्याप्छ्याप्ति पाइन्छन् । हालैमात्र कर्णाली प्रदेशका केही विद्यालयहरूमा कक्षा तीन चारका विद्यार्थीहरूलाई तिनीहरू कै कितावको पाठ पढ्न लगाउँदा केही विद्यार्थी अक्मकिएर अक्षर अक्षर पढ्दै थिए भने काठमाण्डौं त्रिपुरेश्वरको एउटा सामुदायिक स्कुलमा अध्ययनरत आमासंगै अरूको घरमा काम गर्दै पढ्ने कक्षा तीनको छात्रालाई पढ्न लगाउँदा धारा प्रवाह पढ्न सकिन् । यो त्यसैको प्रभाव हो भन्नेमा शंका गर्ने ठाउ छैन ।   

जाँच्ने हो

सामुदायिक विद्यालयमा यो पनि निकै प्रचलित शव्द हो । खासगरेर शिक्षकले विद्यार्थीको कापी जाँच्ने सन्दर्भमा यो प्रयोग हुन्छ । गृहकार्य वा कक्षा कार्य जाँच्ने काम पनि विद्यालय प्रणालीमा एउटा काम हो । तर यसमा पनि शिक्षकहरूमा हुन नसकेको परिवर्तन र बीना तयारी कक्षामा जाने बानी नै प्रमुख कारण हो ।

शिक्षकको पाटोबाट हेर्दा निकै सजिलो र रमाइलो काम छ । कक्षाको एउटा कुना वा अगाडि कुर्चीमा वा वाहिर घाममा कुर्ची राखेर पालो पालो विद्यार्थीको कापी लिएर ठिक र बेठिकका धर्का तान्दै दुइचार शब्द भन्दै कापी फिर्ता दिने काम रमाइलो होला । अभैm धेरै विद्यार्थी भएको कक्षामा त शिक्षकलाई चारैतिरबाट विद्यार्थीहरूले घेरेका हुन्छन् । शिक्षकलाई कापी दिन कै लागि ठेलमठेल हुन्छ । कापी जचाई सकेका भने एकातिर गएर  खेल्न थाल्छन् । कतै त शिक्षकले कक्षा समयभर पनि कापी जाँच्न नसकेर बोकेरै कार्यकक्षमा आउने चलन छ । यसका धेरै फाइदा देखिन्छन् । शिक्षक कक्षामा । विद्यार्थी कापी जचाउने काममा । विद्यार्थी विना रोक टोक खेल्न पनि पाउने । शिक्षकलाई पनि आनन्द ।

तर यसको वर्तमान र प्रकारान्तरमा हुने असरको कुरा गर्दा निकै घातक छ । सरकारले पाठ्यक्रम निर्माण गर्दा कतै पनि यस्तो कामका लागि समय व्यवस्था गरेको छैन । सरकारी प्रावधान अनुसार विद्यालय खुला हुने समय भनेको नियमित शिक्षण सिकाई क्रियाकलाप र सीमित समय मूल्यांकनका लागि व्यवस्था गरिएको छ । यदि शिक्षकले कक्षा कार्य जाच्दै गरेको भए, एउटा कापीलाई २ मिनेटमात्र दिने हो भने पनि २० जना विद्यार्थी भएको कक्षामा ४० मिनेट समय जान्छ । यो ४० मिनेटको समयमा एउटा विद्यार्थीले २ मिनेटमात्र समय प्राप्त गर्दछ । वाकी समय उसका लागि अनुुत्पादक हो किनभने शिक्षकले कुनै काम गर्न लगाउने होइन र उसले आपैmले जानेर गर्ने पनि होइन ।

त्यसैले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्न कम्मर कसेर लागेका सबैले संस्थागत स्कुलको विरोध गर्नमा समय खर्चनु भन्दा यस्ता कुराहरू कसरी व्यवस्थापन गरिएको छ, त्यहाबाट सिक्न राम्रो हुन्छ । एउटा विद्यार्थीका लागि ४५ मिनेटको कक्षा समयमा जम्मा दुई चार मिनेटमात्र सदुपयोग हुन्छ भने तयारी बीना नै कक्षामा जाने शिक्षकबाट कसरी पाठ्यक्रमका कुरा आशा गर्न सकिन्छ र कसरी समग्रतामा तयार गरिएको पाठ्यपुस्तक पूरा हुन्छ ।

भोलि बिदा छ

यो पनि निकै प्रचलित शव्दावली हो । सामुदायिक विद्यालयको सन्दर्भमा । यतिसम्म प्रचलित छ कि कतै विद्यार्थीलाई घरमा आमाबाबुले वा कसैले कतै “तिमीहरूको विद्यालय किन बन्द भयो” भनेर सोध्यो भने उनीहरूलाई थाह नै हुँदैन । यसको मतलव विद्यालय बन्द रहने धेरै कारण छन् । भर्खरै केही सामुदायिक विद्यालयहरू अवलोकनमा गएको बेला तीनओटा जबरजस्त कारणहरू फेला परे । मैले विद्यालयहरू अवलोकन गरिरहदा कतै कक्षामा २ जना त कतै १ जनामात्र त्यो दिन विद्यार्थी आएको भेटियो । तीन चार सय विद्यार्थी भएको स्कुलमा साठी सत्तरीजनामात्र भेटियो । कारणहरू भने रमाइला थिए – चार दिन पहिले गाउमा जात्रा थियो, आज स्कुल नजिकै एउटाको घरमा बच्चाको भात ख्वाई छ, तिहार विदा पछि आएकै छैनन् आदि । जवकि म विद्यालय सञ्चालनमा आएको धेरै दिनपछि स्कुल पुगेको थिए ।

यिनीहरू त विद्यार्थी अनुपस्थित हुने कारणहरू थिए । तर विद्यालय नै बन्द हुने कारण पनि यस भन्दा फरक छैनन् । गाँउमा कुनै मानिस वितेको, थोरै विद्यार्थी आएकोले, विहीवार विदा छ । अनि शनिवार भै हाल्यो । शुक्रवार एकदिन (कतै आधा दिन) हो त्यो पनि विदा, अनि एकै पटक आईतवार आउने । यस्तो अवस्थामा विद्यार्थीलाई के थाह कि शुक्रवार के को विदा हो ।   

हिसाव नहुने हिसाव

शिक्षकहरू कार्यकक्षमा केही समय बस्ने, अनि ४५, ५०, कतै एक घण्टा तोकिएको समय पनि पूरा पूर कक्षामा नबिताईने भएपछि शिक्षण सिकाई प्रभावकारी हुने र विद्यार्थीको सिकाई उपलव्धि बढ्ने कुरै भएन । तर यसरी स्कुलमा भएर पनि शिक्षक कक्षामा उपस्थित नहुने सन्दर्भका कारणहरू भने विगतदेखि निरन्तरता पाउँदै आएका कारणहरू नै हुन । भर्खर आएको, पसिना ओभाउन दिउँ, अहिले विद्यार्थी नै थोरै छन्, आउँदै छन्, आज सङ्ख्या नै थोरै छ, भोलि फेरी दोहोर्याउनु पर्छ, ....... आदि व्यक्तिगत र विषयगत कारणहरू हुन्छन् ।

त्यसैले यस्तो एकछिन भन्ने समयको हिसाव नै हुँदैन । शिक्षकहरूका लागि यो सामान्य हो । तर यसको असर विद्यार्थीको सिकाइ र विद्यालयको वातावरण निर्माणमा निकै दूरगामी परिरहेको हुन्छ । यो शिक्षकरूका लागि मात्र होईन । यो त विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र अन्य सरोकारका लागि पनि “एक छिन” हिसाब बिनाको हिसाब हो । अभिभिावकले बालबालिकालाई दिनु पर्ने सामग्रीमा पनि एक छिन लागु हुन्छ । उनीहरूलाई एकदिन बिना सिकाई सामग्री स्कुल जाँदा शिक्षण सिकाइ कति प्रभावित हुन्छ भन्ने थाह नै छैन । तर यसको असर बालबालिकाको सिकाइमा कति परेको छ भन्ने कुराको हिसाब किताब नै छैन । यसको सोझो अर्थ हाम्रा चार पाच कक्षाका विद्यार्थीले पनि धारा प्रवाह पढ्न सक्दैनन् र पढेको कुरालाई अर्थपूर्ण रूपमा भन्न सक्दैनन् ।

हिसाब नहुने हिसाबमा सरकार पनि कम छैन । पाठ्यपुस्तक केही दिन वा महिना ढिलो पुगेर के हुन्छ र आखिर पुराना छन् होला । शिक्षकले पढाउन चाहेमा त्यहीबाट पढाए हुन्छ । शिक्षकहरू नै खालि बहानामात्र बनाउँछन् भन्छ । यो कुरा यति मै सीमित रहदैन । पाठ्यक्रम, शिक्षक निर्देशिका, नया पाठ्यक्रममा शिक्षक अभिमुखीकरण, आदि हुदै शिक्षकले तलव सुविधा पनि महिना सकिने वित्तिकै पाउनु पर्दैन । तीन चार महिनाको एकपटक पाए हुन्छ । स्थानीय सरकारले नजिकबाट विद्यालयहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सक्छ भन्ने मान्यता रहेको बेलामा शिक्षकहरूले पाँच छ महिनासम्म तलव सुविधा नपाएका उदाहररणहरू पढ्न परेको छ । त्यसैले विद्यालय सम्वध्द सबै सरोकारवालाहरूको हिसाव नहुने हिसावले नेपालको मूलधारको शिक्षा ओरालो बाटो लागेको छ । 

हाफछुट्टीमा घरतिर (दिउँसोको खाजा खाने बेला घरतिर टाप)

हाम्रा विद्यालय खुला छन् । त्यहाँ कतै बार बन्देज छैन । भौतिक रूपमा होस वा मानसिक वा नीतिगत रूपमा कतै बन्देज छैन । भएको बन्देज पनि कागजमा सीमित छ । त्यसैले हाम्रा सामुदायिक विद्यालयका बालबालिका दिउँसोको खाजा खाने बेलामा घरतिर जान स्वतन्त्र छन् । कोही भोक लागेर जान्छन् त कोही पढ्न मन नलागेर र अनि कोही साथीको लहलहैमा लागेर । किन छिटो आएको भनेर कसैले सोध्यो भने उनीहरूको छिटो उत्तर हुन्छ, “सरसंग बिदा मागी आएको हुँ” । यो त तीन दशक पहिलेको अवस्था होइन र । अहिले पनि हाम्रा सामुदायिक विद्यालयहरू यस्तै गतिविधिलाई निरन्तरता दिइरहेका छन् भने किन शिक्षाको  गुणस्तरको आशा गर्नु । कर्तव्यको पोका सानो बनाउँदै लगेका विद्यार्थीहरूमा यो पक्ष पनि खुला गरिदिने हो भने उनीहरूमा पढ्ने र सिक्ने चाहना  र वाध्यता  कहाँबाट उत्पन्न हुन्छ र ?

जो जसरी पो बसोस्

ढुङ्गाको बेन्च बनाएर बस्दै आएका विद्यार्थी अहिले विभिन्न खालका बेन्च हुँदै सानो कक्षालाई कार्पेटमा सानो टेवल सहितको कोठामा राख्नेसम्म गरिँदै आएको छ । खालि कार्पेटमा बस्दा भुईको चिसोले सताउँने, टेवलमा आम्ने साम्ने भएर बस्दा हाम्रो शिक्षक केन्द्रित शैलिमा टाउको बटारेर अगाडि हेर्नु पर्ने, सिधा रेखामा बस्दा साथीको घोप्णी हेरेर कक्षा समय सकिने, कतै कोठा ठुलो भएर भएका थोरै विद्यार्थी एउटा कुनामा बस्दा शिक्षकलाई सुन्ने गारो, सेतोपाटी हेर्नै गारो, कतै कोठा र बस्ने ठाउँ सीमित भएर विद्यार्थी बिच नै खोसा खोस र अटसमटर भएर बस्नु पर्ने आदि समस्या । कक्षा शिक्षण सुरू गर्नुभन्दा पहिले पाठले मागे अनुसार बसाइ व्यवस्था मिलाउने चलन कतिजना शिक्षकबाट हुन्छ होला । यो महत्वपूर्ण प्रश्न हो । किनभने सहज बसाई बीना सहभागितामूलक सिकाई हुँदैन । अनि सहभागिता बिना सिकाइ नगण्य हुन्छ । यो त शिक्षक तालिमको विषयवस्तु नै बन्नु पर्ने हो र कक्षा कोठा शिक्षण सिकाईको न्यूनतम मापदण्ड बन्नु पर्ने हो । साम्रा सामुदायिक स्कुलहरूमा यसको तालमेल नगण्य पाइन्छ ।

यसै गरेर अरू धेरै भद्दा टाटाहरूले निरन्तरता पाईरहेका छन् । यसमा  बढी प्रचलनमा रहेका भद्दा टाटाहरूमध्ये शिक्षकबाट प्रयोग हुनेः बगाले भाषा, समय कटाइ – सुगा रटाइः एक एक एघार, विद्यार्थी अलमल्याउने कामः यति पाठ सार, अंकमा रूपान्तिरित विद्यार्थीः एक दुई तिन ..... हाजिर, समुदायको नाममा सुविधाः आज गाउँमा मरेको÷पूजापाठ÷विहेको भोज आदि छ, अर्को हिसाव बिनाको हिसाबः शुक्रवार त हो, विद्यार्थीलाई देखाएर आत्मशान्तिः यो त जान्दै जान्दैन, एक दिन आउँछ चार दिन आउँदैन, पाना पल्टाउने किताव सक्नेः किताव नसके सरकारको दोष, सरकारले गर्दा विद्यार्थी नजान्ने भएः फेल बनाउँन पाइदैनः उदार कक्षोन्नति आदि ।

यसरी केही पुराना भद्दा टाटाहरूले निरन्रतता पाएका छन् भने केही नयाँ सिर्जित मुद्दाहरू पनि भद्दा टाटा बन्न पुगेका छन् । यि सबैका कारण शिक्षाको गुणस्तर कमजोर बन्दै छ र माथि उठ्नै सकेको छैन । यिनीहरूको समाधानको उपायहरू धेरै होलान् । जिम्मेवार निकायले सोचिरहेका पनि होलान् । तर ढिलो भैसक्यो । छिटो सुरू गरौं र मुहानबाट सुरू गरौं । अनि प्रणाली मै परिवर्तन गरौं । किनभने २०२८ सालदेखि टालो हाल्दै, गुजारा गर्दै आएको हाम्रो शिक्षा ऐन प्रणालीमूखि छ । यो कहिले पनि नतिजामूखि हुन सकेन । कुर्चीमा बस्नेहरू भगवान बन्न चाहन्छन् । जनताको करको रकम जनतालाई नै दिएर वा उनीहरूको टाउकोमा ऋणको भारी चढाएर केही दिएकोमा गर्व गर्दछन् । नतिजाको खोजि गर्दैनन् । त्यसैले यस्ता भद्दा टाटाहरूको अन्त्य र शिक्षाको गुणस्तर सुधारका लागि प्रणाली बदलौं । आजै बदलौं ।

(लेखक शिक्षाविद् तथा शिक्षा सरोकार केन्द्र नेपालकाकार्यकारी निर्देशक हुन् ) 

I Tech store