विद्यालय सुधारमा अभिभावक परिचालन–एक सफल प्रयोग(विद्यालय सुधार अभियानमा संलग्न अभिभावकको अनुभूति)

 

नयाँ विद्यालयः फोटो डा. मीनबहादुर शाही

भनिन्छ, जहाँ इच्छा त्यहाँ उपाय । मान्छेले दृण इच्छा शक्ति लिएर गर्न चाह्यो भने जस्तासुकै बिग्रिएका काम पनि सजिलै बन्छ बस त्यसका लागि काम गर्ने लगन र स्रोतको पहिचान गरी परिचालन गर्न सक्नु पर्यो । त्यसमा पनि अझ विद्यालय त समुदायको हो । अभिभावकको हो । व्यस्थापन तथा सञ्चालनमा अभिभावकको प्रत्यक्ष संलग्नता रह्यो भने सामुदायिक विद्यालय सबैको रोजाइको केन्द्र बन्न सक्छ । यसैको ज्वलन्त उदाहरण हो दैलेख दुल्लू नगरपालिका वडा नं १० सातखम्व गाउँ स्थित ‘श्री कृष्ण आधारभूत विद्यालय’ ! एक दशक यता विद्यालयको मुहार फेरिएको छ । विद्यालयले भित्र्याएको असल अभ्यासका कारण अभिभावकको दिनचर्या पनि फेरिएको छ ।

दाता तथा अभिभावक सूर्य र मनबहादुर शाहीको जग्गादानबाट निर्मित विद्यालय अहिले समुदायको आकर्षणको केन्द्र बन्न सफल भएको छ ।

कति यस्ता राम्रा सामुदायिक विद्यालय छन् जसको असल अभ्यास अनुकरण गर्दा अन्य विद्यालय सुध्रिन सक्छन् तर तिनीहरूको असल अभ्यास प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् ।

२०४५ सालमा स्थापना भएको यो विद्यालयको अवस्था २०६३ सालसम्म जीर्ण थियो । विद्यालय मेरो नजिकै घरदेखि करिव २०० मिटर तलतिर छ । आफ्नै घर छेवैमा रहेकोले त्यो विद्यालयले मलाई सधैं जिस्काई रहेको आभाष हुन्थ्यो । अभिभावकले २०६३ सालसम्म गरेको सहयोग खासै  प्रभावकारी हुन सकेन । विद्यालयको वाहिरी आवरणले नै कक्षा कोठा भित्र कस्तो होला भन्ने आङ्कलन गर्न सकिन्थ्यो । विद्यालय हाता, सरसफाई, पिउने पानी, शौचालय आदि कुराहरू त्यस विद्यालयका लागि एकादेशका कुरा थिए । तर यो विद्यालय अहिले वेग्लै बनेको छ । अहिले हरेक विद्यार्थीका लागि दैनिक कम्प्युटर कक्षा र पुस्तकालय सेवा दिन सक्ने भएको छ । पुस्तकालयबाट समुदाय समेत लाभान्वित भएका छन् । उनीहरू किताव छानेर लिन्छन् र पढेर फिर्ता गर्छन ।

स्थानीय अभिभावकले विद्यालय रूपान्तरण अभियान २०६५ सालमा सुरू गरे । विद्यालयको सारथि बने गाउँका अभिभावक र केही सहयोगी मनहरू । अनि यो सबै कुराको असल मियो बने विद्यालयका प्रधानाध्यापक लगदेव पुरी । किनभने म गाउँबाट टाढा थिएँ ।

 अभिभावक र समुदायका मानिसहरू छरिएका थिए । प्राप्त साधन स्रोत र सल्लाहहरू कार्यान्वयन गर्नमा प्रधानाध्यापकको महत्त्वपूर्ण भूमिका रह्यो । उक्त विद्यालयलाई रूपान्तरण गर्न धेरै प्रयासहरू गरिएका थिए । भौतिक सुधार मात्र होईन २०७६ सालमा दुल्लू नगरपालिकाका १५ ओटा विद्यालयका कक्षा १–३ मा गरेको सिकाई उपलव्धि परीक्षामा यस विद्यालयका विद्यार्थी दोस्रो स्थानमा परेका थिए । यसको सुधारको इतिहासमा धेरै कुराहरू भए ता पति अभिभावक कार्यक्रम निर्णायक बन्यो ।

विगतलाई हेर्दा

पहिलाको विद्यालय भवन

२०५६ सालमा युनाइटेड मिसन टु नेपाल नामक संस्थाले छोटो समय गरेको थियो । अनि २०६१ सालमा रातो बङ्गलाले केही समय काम गरेर ज्ञान सिप र केही सामग्री दिएको थियो । त्यसबाहेक मैंले शिक्षा सरोकार केन्द्र नेपाल नामक संस्थाको नाममा लामो समय व्यक्तिगत सहयोग गर्दै आएको थिए ।

पहिलाको विद्यालय भवन

 

विद्यालयको आमूल रूपान्तरण गर्नका लागि एकजना अष्ट्रेलियन नागरिक गेरी मिलरको महत्त्वपूर्ण योगदान छ । उनले जीवनमा भेटघाट र चिनजान बीना नै विश्वासको भरमा सानो सानो आर्थिक सहयोग गर्दै गए । त्यसलाई अभिभावकसंगको श्रम सहकार्यमा विद्यालयमा विस्तारै सुधारका कामहरू हुदै गए । पुस्तकालय भवन निर्माण, करिव दुई किमि टाढाबाट विद्यालयका लागि पिउने पानी, शौचालय, खेलमैदान, शुक्रवार महोत्सव जस्ता काममा उनको लगानी भयो । एकजना फ्रेन्च नागरिक इङले पुस्तकालयमा पुस्तक र फर्निचर दिए ।

गत वर्ष मात्र स्थानीय गगन शाहीले विद्यालयलाई ५ थान कम्प्युटर सहयोग गरे । यो क्रम निरन्तर अगाडि बढ्दै छ । विद्यालय एउटा सपनाको सिँढि चढ्दै छ ।

सपना बाँडेको दिन

सबैभन्दा पहिले २०६३ सालमा अभिभावक र अगुवाहरूलाई विद्यालयकै प्राङ्गणमा जम्मा गरेर केही सपनाहरू बाढिएको थियो । वास्तवमा ती सपनाहरू आपूm जन्मेको गाउँबाट टाढा भएर पोखरा, काठमाडौं बस्दा आफ्नो मनमा उव्जिएका तरङ्गहरू थिए । बाहिरको विकास र आफ्नो गाउँको अविकासका कारण उव्जिएका प्रश्नहरू थिए । अनि आफ्नो गाउँमा बालबालिका र आमाहरूको दुःख सम्झिएर मनमा आएका तड्पाईहरू थिए । मनमा थुपरिएका समग्र कुराहरूको भेल ती समुदायका मानिसहरू बिच त्यो पहिलो दिन पोखेको थिए । अहिले फोटोलाई पल्टाएर हेर्दा कुनै गरीब गाउँ वा समुदायको आभाष हुने त्यो बसाइमा कुराहरू गर्दै जाँदा म भावुक बनेको थिएँ । यो स्वभाविक पनि थियो किनभने मैंले भोगेको वाल्यकाल र मेरा आमाबुबा दाजुभाई दिदीबहिनीको जीवन त्यसवेला पनि साक्षात्कार थियो जतिवेला म नेपालको राजधानी सहरका बारेमा कुरा गरिरहेको थिएँ । मैंले धेरै सोचें र अन्तरमनलाई सोधें । मैंले गाउँ रूपान्तरणको लागि साझा स्थलका बारेमा बार बार सोधें । अन्त्यमा मेरो मन र विवेक दुवैले स्कुल नै साझा स्थल र प्रवेश द्वार हो भन्ने उत्तर दिए । अनि म कर्म गर्न सहमत भएँ ।

त्यही उत्तरलाई सत्य मानेर म लागिरहें । मसंग कुनै गन्तव्य र उच्च महत्त्वकांक्षा थिएन । तर मसंग अविरल यात्राको कार्यसूची थियो । यात्रा बदलिएन र यात्रा रोकिएन भने त्यसले निकै लामो दुरी पार गर्ने र कुनै फरक र सफल गन्तव्यमा पुग्ने कुरा स्वभाविक नै हो । मेरो जीवन र कृष्ण आधारभूत विद्यालयको जीवनमा ठिक यही कुरा लागु भएको छ । मैंले निकै सक्षम र सफल सहयात्री भेटाएको छु । एकजना अमेरिकन नागरिक जेनी केजरको सवल साथ र नेतृत्व छ । उनलाई यो कुरा मन परेको छ । त्यसैले अहिले आएर ममा एउटा सपना छ कि एकदिन त्यो स्कुल काठमाडौंैंको नाम चलेका ठुला विद्यालय जस्तै धेरै जनाको छनोटमा पर्ने छ । दैलेख र छिमेकी जिल्लाहरूका लागि उत्कृष्ट गन्तव्य बन्ने छ । मेरा गाउँका पछाडि परेका र पारिएका बालबालिकाहरू राज्यको मूलधारमा हुनेछन् र उनीहरू पनि निर्णायक ठाउँमा हुनेछन् ।

नेपालमा २०३४ सालमा जम्मा १७ ओटा गैर सरकारी संस्था थिए भने २०७६ असारमा आईपुग्दा ५०,३५८ स्वदेशी गैर सरकारी संस्था नेपालमा कार्यरत भएको पाईन्छ । त्यसै गरेर २४५ ओटा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू कार्यरत छन् । वास्तवमा यि गैर सरकारी संस्थाहरू सूचना, चेतना, नयाँ ज्ञान, सिप र जानकारणका साथै अल्पकालीन र स–साना समस्या समाधानका लागि सहयोगी भएका छन् । तर त्यहाँ अपनत्व र दायित्वको अभावमा दिगो हुन नसकेको उदाहरणहरू सबैसामु छर्लङ छ ।

विद्यालयमा विद्यार्थी नियमित बनाउन, विद्यालय छाड्ने दर कम गर्न र सिकाइ उपलव्धि बढाउनका लागि अभिभावकको सहभागिता अनिवार्य ठानियो । साथै विद्यालय न्यून सङ्ख्यामा रहेको शिक्षक कर्मचारी पनि समस्याका रूपमा लिईयो र त्यसको समाधान खोजियो । एकजना शिक्षक थप्ने कुरा सजिलो थियो । आफ्नो र गेरी मिलरको सहयोगमा त्यो कुरा सहजै गरियो । तर अभिभावकसंगको सहकार्य र उनीहरूको सहयोग गारो कुरा थियो । किनभने गरीबी र पारिवारिक अस्तव्यस्तताले गर्दा उनीहरू आवश्यक सहकार्य गर्न र योगदान पु¥याउन सक्ने अवस्थामा थिएनन् । त्यसैले विद्यालयमा दिगो सुधारका लागि मुख्य गरेर दुई ओटा कुरामा जोड दिएं । पहिलो विद्यालयका सबै निर्माण कार्यमा अभिभावकको श्रम सहकार्य र दोस्रो अभिभावक आय आर्जन कार्यक्रम ।

पहिलो कार्यक्रम अन्तर्गत समुदायका हरेक आवश्यकतामा रहेका परिवारका मानिसहरू निर्माण कार्यमा सहभागी हुनु पर्दथ्यो र उनीहरू त्यसवापत चलनचल्तिको ज्याला प्राप्त गर्दथे । यो नियम अनिवार्य थियो । बाहिरको मानिस ल्याएर काम गराउन पाइदैनथ्यो । स्थानीय समुदायमा प्राप्त नहुने सिप र दक्षता भएको मानिसमात्र बाहिरबाट ल्याउन पाईन्थ्यो । वर्तमान समयमा जस्तो त्यस गाउ“मा बजारको सुगमता नभएकाले मानिसलाई पैसा कमाउन र खानेकुरा किन्न गारो थियो । त्यसैले उनीहरू दैनिक कामबाट प्राप्त ज्यालाबाट खानेकुरा किनेर खर्च टार्ने गर्दथे । यो एउटा सानो तत्कालीन राहत जस्तो काम थियो । मानौ धेरै दिनदेखि ६–८ सय रूपयाँ नभएर दाल, चामल, कोदो, मकै किनेर चुलोमा अलि राप र ताप सहितको आगो बाल्न नपाएका अभिभावकका लागि ठुलो राहत थियो । भारत काममा गएका पुरूषले पैसा नपठाउने र घरमा पैसा कमाउने अन्य केही पनि उपाय नभएका महिलाको लागि ठुलो खुशी पनि थियो । तर यो कुरा क्षणिक थियो । परिवारको जीवनस्तर उठ्ने कुरा थिएन । दिगो आर्थिक व्यवस्थाको कुरा थिएन । परिवारमा पुरूष अभिभावकले गर्ने अनियमिततालाई व्यवस्थित र नियन्त्रण गर्ने उपायहरू पनि त्यसमा थिएनन् । खास गरेर पुरूष अभिभावक रक्सि र जुवा तासको कुलतमा लागेर आय आर्जन गर्न नस्कने, युवाहरूमा घरको काम गर्न हुदैन भन्ने मानसिकताले गर्दा आमाहरू सधैं अभाव र पिंडामा रहनु पर्ने वाध्यता थियो । अनि यसको प्रत्यक्ष असर बालबालिकामा पर्दथ्यो र उनीहरूको शिक्षा अवरूध्द हुन्थ्यो ।

यसको दोस्रो कुरा एक्ष्न्ए निकै उपयोगी र सफल बन्न गयो । यसका लागि विद्यालयमा रू ५०,००० (पचास हजार) को कोष खडा गरियो । बिना कुनै औपचारिकता । थियो त केवल मानवता र विकास मात्र । त्यसैले विद्यालयको अति नै आवश्यकतामा परेको अभिभावकले पाँच देखि दश हजार रूपियाँसम्म बढीमा ६ महिनाका लागि सापट लिन सक्थे । यसरी सापट लिने मानिसलाई केही कुरामा निर्देश गरिन्थ्यो कि उनीहरूले स्थानीय जातका कुखुरा किनेर पाल्ने, अदुवा, वेसार, आलु आदि नगद प्रदायी खेती गर्ने अथवा बाख्रा र सुंगुरका पाठापाठी किनेर पाल्नु पर्ने हुन्थ्यो । त्यसैले उनीहरू यही सिमाभित्र रहेर काम गर्न प्रेरित हुन्थे । तर मानवताको भावनाले बढी प्रेरित कार्यक्रम भएकाले कहिले काही एउटा अभिभावकको नामबाट रकम लिएर गैर अभिभावकले काम चलाउने गर्थे । एकै जनाले धेरै पटक पनि सापट लिन्थे । सापट लिएको रकमले बालबालिकाको स्कुलको कापी, किताव, झोला, कपडा आदि किन्थे । कतै पहिले लिएको सापट तिर्ने जस्ता कामहरू पनि भएका थिए । यस्ता विविधतताका बावजुद सबैले समयमा नै रकम फिर्ता गर्ने गर्दथे र कसैले त खुशीयाली स्वरूप तिन चार सय रूपियाँ थपेर दिने गरेका थिए । यसरी थपेर दिएको रकमले विद्यालयले आफ्नो व्यवस्थापन खर्च गर्दै आएको थियो ।

समीक्षा बैठक जसले भावुक बनायो

यो कार्यक्रम सञ्चालनको लामो समय भए ता पनि ती आमा बुबा र दाजुभाई दिदीबहिनीहरूसंग साक्षात्कार हुन पाएको थिइन । अकस्मात गत माघ ११ गतेका दिन त्यो समय जुर्यो । त्यस दिन सापट लिएर काम गर्नु भएको अभिभावकलाई मात्र बोलाइएको थियो । तर अरू मानिस झन धेरै आए । सबैको मनमा कौतुहलता थियो । सबैजना खुशी देखिन्थे । सापट लिएर काम गरेका मानिसलाई स्वयं सुखद अनुभव थियो भने अरूलाई त्यो कार्यक्रममा समेटिने रहर ।

यसै क्रममा सबैको इतिहासतिर जान थालियो । सबैले पालैपालो आफ्नो त्यसबेलाको पारिवारिक अवस्था र सापट लिएर गरेको काम भन्न थाले । विसौंजनाको प्रस्तुतिमा एकजनाले पहिले लिएको सापट तिरेको र अर्को एकजनाले शैक्षिक सत्रको सुरूवात भएकाले कापीकलम किनिदिएको बाहेक सबैजनाले निर्देशित उद्देश्य अनुसार नै काम गरेको बताए ।

यसै सन्दर्भमा एकजना पुरूष अभिभावकले  भने,  “पाँचहजार सापट लिएर बाख्राको तिनओटा पाठी किनेको हु“ । धेरै पटक बच्चा दिए । कति पाठा बेचें देवताको पूजा गर्न । माउ नै बेचें । काम परेको वेला बेच्दै गएँ । अझै पनि त्यसैको बीउ छ । केही परेको वेलामा गर्जो टार्न सजिलो भएको छ ।”

अर्की महिला अभिभावक भन्छिन्, “श्रीमान नकमाउने । कमाएको पनि खाएर सक्ने । केटाकेटी धेरै । स्कुल पठाउन पनि गारो । का“बाट पैसा पाएर पढाउने हो र । अरूका केटाकेटी स्कुल गएको वेला आफूलाई वैराग लाग्ने । अनि स्कुलले सापट दिन्छ भन्ने सुनेर आशा लाग्यो । मनमा केही गर्ने आ“ट त थियो । अनि पा“च हजार सापट लिएर आलु लगाए“ । कुखुरा किनें । आलु पनि राम्रो भयो । कुखुराले पनि अण्डा दिए । चल्ला भए । ठुला बनाएर बेचें । अलि पैसा भएपछि बाख्रा किन्ने मन लाग्यो । बाख्रा किनें । त्यसबाट पनि फाईदा भयो । अनि अर्को ठाउ“बाट सापट थपेर भैसि किनें । अहिले दूध बेच्छु । बाख्रा पनि छन् । कुखुरा पनि छन् । तरकारी खेतीपाती पनि छ । कसैको सापट पनि छैन । छोरी पनि पढाई सकेर त्यही स्कुल मै पुस्तकालयमा काम गर्छे । मेरो लागि त यो भगवान ।”

नयाँ अवसर र चुनौती

आफ्ना खुशी र सफलता भन्दै जाने क्रममा धेरै अभिभावकले सफलताभित्रको पिडा पनि भनेका थिए । मुख्य गरेर उनीहरू उत्पादन गर्न सफल भए तर उत्पादनले बजार पाएन । यसै क्रममा अर्का अभिभावक भन्छन्, “मैंले सुरूको वर्ष थोरै अदुवा लगाए“ । राम्रो भयो । विक्रि पनि भयो । अनि हौसिएर अलि धेरै लगाए“ । धन्नै १२ क्वीन्टल फल्यो । तर विक्रि भएन । अनि सबै मल भयो । दिक्क लाग्यो ।”

अब प्रकृया र राहतमूखि विकास चाहिँदैन । अब त नतिजामूखि विकासले काम गर्छ । अब अगुवा अभिभावकको काम भनेको विक्रियोग्य वस्तु तयार गर्ने र बजार खोज्ने हो । विद्यालयको सहयोगमा धेरैजना आमाको मुहारमा सानो कामले खुशी दिएको छ ।

नेपालको सन्दर्भमा करिव २७ हजार सामुदायिक विद्यालय र करिव १८ प्रतिशत जनसङ्ख्या गरीबीको रेखामुनि भएकाले विद्यालय मार्फत् समुदायलाई उत्पादनमा जोड्न सक्यो भने त्यो अवधारणा दिगो विकासको एउटा मोडेल हुन सक्छ ।