thuprai.com

नृत्यमा उच्च शिक्षा हासिल गर्नेको पर्याय बन्यो पद्म कन्या क्याम्पस

खुट्टामा घुंघरु, हेर्दै रोमाञ्चक पहिरन । आधुनिक बाजाको सुर, तालमा हाउभाउ मिलाएर शरिरका विभिन्न अंगलाई लचकदार रबर जस्तै तन्काउँदै चर्या, भारतनाट्यम् तथा कत्थक नाच्दै देखिन्छन् नृत्यांगना सूलोचना । उनको हरेक दिन पद्म कन्या क्याम्पसमा यसरी नै बित्छ । उनले यो नृत्य व्यवसायिक उत्पादन गर्नका लागि भने गरेकी होइनन् । आफ्ना विद्यार्थीलाई नृत्यका यी विधामा पारंगत बनाउने उद्देश्यले उनी विगत दुई वर्ष अघिदेखि यसरी नै नाच्दै आएकी छन् ।

मकावानपुरकी सुलोचनाले पद्म कन्याबाटै भरतनाट्यममा स्नातक गरिन् । तर उनलाई नृत्यमा स्नातकोत्तरको डिग्री हासिल गर्न भने त्यति सजिलोे थिएन । उनले पद्म कन्याबाट भरतनाट्यममा स्नातक गरेपछि स्नातकोत्तर गर्न भने सजिलो भएन । किनकि उनले स्नातक गरेका समयमा नेपालमा कुनै पनि विश्वविद्यालयले नृत्यमा औपचारिक स्नातकोत्तर कक्षा सञ्चालन गर्दैनथे । नेपालका विश्वविद्यालयले यो विषयमा उच्च शिक्षा प्रदान नगर्दा उनी बाध्य भएर उच्च शिक्षाको खोजीमा भारत पुगिन् । भारतको बनारस हिन्दू विश्वविद्यालयबाट शास्त्रीय नृत्यमा स्नातकोत्तर गरेर नेपाल फर्किइन् । उनको नेपाल आगमन सँगै नेपालमा नृत्यमा स्नातकोत्तरको पठनपाठन हुन थालेपछि अहिले दंग परेर पद्म कन्यामा नृत्य प्राध्यापकका रुपमा काम गरिरहेकी छन् ।

त्रिभुवन विश्वविद्यालयले नृत्य विषयमा स्नातकोत्तर तहको कक्षा सञ्चालन गरेपछि विदेश गएर नृत्यमा उच्च शिक्षा हासिल गर्नै पर्ने बाध्यता हटेको हो । त्रिविको आंगिक क्याम्पस पद्मकन्या बहुमुखी (पद्मकन्या कलेज) क्याम्पसले नृत्य विधामा स्नातकोत्तर तहको कक्षा सञ्चालन गर्न थालेपछि विद्यार्थीको यो बाध्यता हटेको हो ।

यसअघि पद्म कन्या, सरस्वती र सिर्जना फाइन एण्ड आर्टलगायतका केही कलेजले संगीतका विभिन्न विधामा औपचारिक शिक्षा प्रदान गर्दै आएका थिए । तर स्नातकोत्तरमा भने नेपालमा औपचारिक शिक्षा दिने शिक्षण संस्था थिएन । औपचारिक शिक्षण संस्था नभएपछि नेपाली विद्यार्थीहरू भारतको बनारस स्थित हिन्दू विश्वविद्यालय लगायत अन्य विद्यालयमा गई मंहगो शुल्क तिरेर पढ्दै आएका थिए । तर नेपालमा नै नृत्यका विभिन्न विधामा स्नातकोत्तर गराउन थालेपछि नेपालका व्यवसायिक नृत्यकारलाई आफ्नो व्यवसायलाई औपचारिकता प्रदान गर्न सहज भएको क्याम्पस प्रमुख धनप्रसाद पण्डितले बताए ।

यसअघि नेपालमा नृत्यमा औपचारिक शिक्षण संस्था नहुँदा कत्थक र भरतनाट्यममा दख्खल राख्ने कलाकार कम छन् । यो विधामा नृत्य गर्न चाहनेले बाध्य भएर नेपालका निजी संगीत इन्स्टीच्युट र भारतै जानु पर्ने बाध्यात्मक अवस्थाका कारण कम भएको नृत्य विभागका विभागीय प्रमुख उद्धप थापा बताउँछन् । उनका अनुसार नेपालमा कत्थकमा निकै कम कलाकार छन् भने त्यो भन्दा पनि कम भरतनाट्यममा छन् । तर नेपाली समाजले भने यिनै विधालाई मनपराउँछन् । ‘अरु नृत्य जस्तो यो विधा दुई–चार महिना सिकेर पूर्ण हुन सकिँदैन, त्यसैले पनि यसलाई संस्थागत रुपमा नै सिकाउन जरुरी छ,’ उनले भने, ‘कलाकार कम भए पनि लोकप्रिय छन् त्यसैले विदेशी कलाकारलाई नेपाल भित्र्याउनु भन्दा नेपालमा नै उचित प्रचारप्रसार गरी यो विधालाई संस्थागत गर्न जरुरी छ ।’

पद्म कन्यामा स्नातक तहमा करिब ५० वर्ष अघिदेखि गायन र नृत्यका विभिन्न विधामा पठनपठान हुँदै आएको छ । तर नृत्यमा स्नातकोत्तर भने गतवर्षबाट सुरु भएको हो । स्नाकोत्तरको पहिलो व्याच अहिले चौँथो सेमेष्टरमा पुगेको छ । स्नातकोत्तरका चारै सेमेष्टरमा जम्मा २५ जना विद्यार्थीले अध्ययन गरिरहेको विभागीय प्रमुख थापाले बताए । ‘हाम्रो पालामा स्नातकोत्तर गर्न भारत या अन्य देश जानै पर्ने बाध्यता थियो । आफूले भोगेको पीडा यो पुस्ता वा आगामी पुस्ताले नभोगोस् भन्ने उद्देश्यले त्रिविबाट सम्बन्धन लिएर स्नातकोत्तरको कक्षा गत सालबाट सुरु गरेका हौँं,’ उनले भने, ‘विदेशमा गएर पढ्दा विदेशी संस्कृति जबरजस्ती सिक्नै पर्ने हुन्छ भने पैसा पनि महंगो छ । नेपालमा जम्मा ८० हजार तिरेर विद्यार्थीले स्नातकोत्तर गर्न पाउँछन् भने विदेशमा यो पैसाले एक सेमेष्टर पुुरा गर्न पनि पुग्दैन ।’

महिला सशक्तीकरणलाई मुलमन्त्र बनाएर पद्म कन्याले विद्यार्थीको माग र रुचीलाई ध्यानमा राख्दै नयाँ नयाँ विषय थपिरहेको छ । ‘पद्मकन्यामा २०२० सालदेखि स्नातक तहमा नृत्य र गायन विषय पठनपाठन हुँदै आएको छ ।’ क्याम्पस प्रमुख पण्डित भन्छन, ‘नेपाली विद्यार्थीहरूले नृत्यमा औपचारिक स्नातकोत्तर गर्न विदेशतिर भौतारिने गरेको देखेर नै नृत्य विषयको पठनपाठन सुरु गरेका हौं । अबका २० वर्षमा हाम्रो क्याम्पसलाई संगीतका गायन र नृत्य विधाको अनुसन्धान केन्द्रका रुपमा विकास गछौं ।’

त्रिविको इतिहासमा नै स्नातकोत्तर तहमा नृत्य विषयको पठनपाठन गराउने यो क्याम्पस पहिलो हो । यहाँ राजधानी लगायत विभिन्न जिल्लाबाट नृत्य तथा गायनमा स्नातक डिग्री हासिल गर्न विद्यार्थी आउने गरेका छन् । भने, स्नातकोत्तरमा व्यवसायिक रुपमा स्थापित कलाकारहरू अध्ययनरत भएको क्याम्पस प्रमुख पण्डित बताउँछन् । ‘हाम्रोमा विद्यार्थीहरू सस्तोमा राम्रो पढाइ हुने विश्वासका साथ अध्ययन गर्न आउँछन् ।’ उनले भने, ‘विद्यार्थीको भरोसा र विश्वास जित्न हामी निरन्तर प्रयासरत छौं । हाम्रो लक्ष्य भनेको यो क्याम्पसलाई महिला सशक्तीकरणको पहिलो आधार स्तम्भका रुपमा खडा गर्ने हो । त्यसैले निकै कसरत गरेर गत सालदेखि नृत्यमा स्नातकोत्तर कक्षा सञ्चालन गरेका हौं ।’

संगीत भनेको मानिसका लागि मनोवैज्ञानिक खुराक प्रदान गर्ने विज्ञान हो । तर नेपालमा यो विधा उपेक्षित छ । यसको स्कोप नभएको भने होइन । राम्रो छ । यसैमा लागेर बाच्ने नसकिने भने होइन अहिलेको प्रविधिको जमानामा यो क्षेत्रमा कमाइ राम्रो हुने विगत १५ वर्ष देखि कार्यरत नृत्य शिक्षक शान्ती बहादुर रायमाझी बताउँँछन् । ‘एउटा मात्र कलेजमा स्नातकोत्तरको कक्षा सञ्चालन हुँदा विद्यार्थीलाई मर्का परिरहेको छ,’ उनले भने, ‘देशका कुना कन्दरामा लुकेर रहेका प्रतिभा प्रस्फुटन गराउने अन्य कलेजले पनि यो विधालाई सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गर्यो भने नेपाली कलाकारले विश्वका जुनसुकै देशमा पुगेर पनि बाँच्न सक्छन् ।’

स्नातकोत्तर तहमा पठनपाठन सुरु भएसँगै नेपालको नृत्य परम्परा र यसको प्राज्ञिक स्तरमा नयाँ आयाम थपिएको छ । संगीत भनेको गायन, वादन र नृत्यको त्रिवेणी हो । यसको एक पक्षमात्र मजबुत भएर मात्र समाज परिवर्तन हुन नसक्ने चौँथो सेमेष्टरमा अध्ययनरत एक छात्रा बताउँछिन् । ‘म यो क्षेत्रमा व्यसायिक रुपमा लागेको १० वर्ष भयो । स्नातक गरेको पनि त्यति नै भयो । तर नेपालमा स्नातकोत्तरको पठनपठान नहुँदा औपचारिक उच्च शिक्षा हासिल नगरी व्यवहारिक प्रदर्शन गर्दै आए ।’ उनले भनिन्, ‘अब औपचारिक डिग्री लिएर एक शिक्षक, एक कलाकर्मीको रुपमा काम गर्न पाउँदा खुसी छु । उत्साहका साथ अध्ययन गरिहेकी छु ।’

अभिभावकको चाहाना, डाक्टर, इन्जिनियर, पाइलट तथा बैंकर बनाउने भए पनि आपूmहरू संगीतमा नै भविष्य देखेर यो कलेजमा संगीत पढ्दै आएका विद्यार्थीहरू बताउँछन् । प्लसटुमा व्यवस्थापन, विज्ञान, शिक्षा तथा मानविकी पढेका २ सय ८७ विद्यार्थी नृत्य तथा गायनमा स्नातक गरिरहेका छन् । उनीहरू सबै बलिउड कलाकारले जस्तै दक्षता हासिल गरी रंगकर्मी तथा संगीत कर्मी बन्ने लक्ष्य रहेको बताउँछन् । व्यवस्थापनमा प्लस टु गरेकी सोह्र खुट्टेकी सिर्जना केसी भन्छिन्, ‘मेरो बुबाआमा मलाई व्यवस्थापनमा उच्च शिक्षा गराउन चाहनुहुन्छ तर म मेरो भविष्य संगीतमा देख्छु त्यसैले स्नातकमा नृत्य विधा छनोट गरेँ ।’

यो कलेजमा राजधानी बाहेक अन्य जिल्लाबाट पनि विद्यार्थीहरू अध्ययन गर्न आउँछन् । कलेजको सुविधा सम्पन्न दुई सय जना विद्यार्थी अट्ने छात्रावास छ । तर पहुँच नभएका विद्यार्थीहरूले छात्रावासमा बस्न नपाउने नेपालगन्जबाट नृत्य अध्ययन गर्न आएकी छात्रा अन्जु श्रेष्ठ बताउँछिन् । ‘छात्रावासमा सिट पाउँनै गारो छ । उत्कृष्ट विद्यार्थीलाई पनि व्यवस्थापनले होस्टलको सिट दिँदैन । त्यसैले कहिले काही समस्या हुन्छ । तर डान्सको प्रायोगात्मक कक्षा चाही सोचे जस्तै राम्रो छ ।’

‘नेपालमा महिला विश्वविद्यालयको अवधारणा बोकेर अघि बढिरहेको पद्म कन्याले नेपाली विद्यार्थीको मागलाई ध्यानमा राखी यो विषयमा उच्च शिक्षा प्रदान गर्न थालेको हो,’ क्याम्पस प्रमुख पण्डित भन्छन्, ‘नेपाली विद्यार्थीहरू भारतका विश्वविद्यालयमा गएर महंगो मूल्य तिरेर पढ्दै आएका थिए । तर हाम्रोमा भारतमा ६ महिना पनि नपुग्ने पैसाले उच्च शिक्षा प्रदान गर्ने गरेका छौं ।’

मानविकीतर्फ नृत्य र व्यवस्थापनमा बीसीए, वीएस्सी सियसआइटी लगायतका नयाँ विषय र पुराना विषय अन्तर्गत मानविकीतर्फ स्नातकमा अंग्रेजी, नेपाली, समाजशास्त्र, ग्रामीण विकास, गृहविज्ञान, बौद्ध अध्ययन, हिन्दी, संस्कृत, नेपाल भाषा,संस्कृति, जनसंख्या, राजनीतिशास्त्र, वाद्यवादन, संगीत, नृत्य, पत्रकारिता, अर्थशास्त्र, मनोविज्ञानलगायत कक्षा सञ्चालनमा छन् ।

त्यसैगरी नृत्यसहित दस विषयमा स्नातकोत्तर गराइन्छ । त्यस्तै व्यवस्थापनतर्फ स्नातकमा बीबीए, बीबीएम र बीबीएस, बीएचयमको कक्षा हुन्छ भने स्नातकोत्तरमा एमबीए सञ्चालन गर्ने गरिएको छ । विज्ञानतर्फ बीएस्सी सियसआइटी, बीएस्सी, माइक्रोबायोलोजी, वातावरण विज्ञान विषयमा पठनपाठन हुँदै आएको क्याम्पस प्रशासनले जानकारी दियो । प्रशासनका अनुसार अहिले तीन संकायका ३४ विषयमा पठनपाठन हुँदै आएको छ । प्राध्यापक केशवराज सापकोटा भन्छन्,‘पुराना विषयमा विद्यार्थीको आकर्षण घटेको छ । तर नयाँमा चाप खेपिसक्नु छैन । त्यसैले पुराना विषयको पाठ्यक्रम परिमार्जन गर्नुपर्ने देखिएको छ ।’ अहिले यो क्याम्पसमा ५ हजार ४ सय विद्यार्थी अध्ययनरत छन् ।