Bachelors Portal

सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थी सरकारीभन्दा निजी क्षेत्रप्रति आकर्षित

Managed Admission 2022


काठमाडौँ, १६ पुस (रासस) ः त्रिभुवन विश्वविद्यालयबाट सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थीले सरकारी सेवाभन्दा निजी क्षेत्रप्रति आकर्षण देखाएका छन् ।

त्रिविको ४४ औँ दीक्षान्त समारोहमा सर्वोत्कृष्ट अङ्क ल्याएर विभिन्न पदक र पुरस्कार पाएकाले निजी क्षेत्रप्रति आकर्षण देखाएका हुन् । उनीहरुले सरकारी सेवा सीमित हुने भन्दै निजी क्षेत्रमा नै आफ्नो भविष्य देखेका छन् । 

समारोहमा ‘लोकराज ज्ञवाली स्वर्ण पदक’ प्राप्त गर्नु भएका प्रभा त्रिपाठीले सरकारी सेवाभन्दा निजी क्षेत्रमा सेवा गर्ने बताउनुभयो । नेपाल ल क्याम्पस काठमाडौँबाट कानूनमा स्नातक तह (बीएएलएलबी)मा सर्वोत्कृष्ट अङ्क ल्याउनु भएका त्रिपाठीले सरकारी सेवामा कामप्रति उत्प्ररेणा नजगाउने भएकाले निजी क्षेत्र आफ्नो रोजाई भएको बताउनभयो । 


सोमबार ललितपुरको पुल्चोक इन्जिनियर क्याम्पसमा त्रिभुवन विश्व विद्यालयको ४४औं दीक्षान्त समारोहमा उपस्थित विधार्थीहरु । तस्वीर ः चन्द्रकला क्षेत्री, रासस



उहाँले अहिले आफै साथीहरुसँग मिलेर ‘चिन्तन ल एसोसियट फर्म’ सञ्चालन गरेर वकालत गरिरहनु भएको छ । ‘‘सरकारी जागिरमा सेवा गर्ने भावनामात्र हुन्छ, अहिले म सरकारी जागिरमा गए भने मैले रचनात्मक कार्य गर्न सक्दैन’’, उहाँले भन्नुभयो, ‘‘त्यसैले अहिलेको उमेर केही नयाँ गर्ने समय भएकाले आफ्नै फर्म सञ्चालन गरेको हुँ ।’’ त्रिपाठीले बीएएलएलबीमा ७५ दशमलव ८३ प्रतिशत अङ्क ल्याउनुभएको छ । 

समारोहमा ‘इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक’ पाउनु भएका स्कुल अफ म्यानेजमेण्ट कीर्तिपुरकी अल्काश्री श्रेष्ठले पनि निजी क्षेत्र नै आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभयो । अहिले नबिल बैंकमा कार्यरत रहनु भएका श्रेष्ठले सरकारी सेवामा भन्दा निजी क्षेत्रमा अवसर बढी हुने गरेकाले आफ्नो रोजाई निजी क्षेत्र भएको धारणा व्यक्त गर्नुभयो । 

‘‘म आफै पनि धेरै काम गर्न सक्छु, निजी क्षेत्रमा जति पनि काम गर्न सकिन्छ, तर सरकारी सेवामा निश्चित काम तोकिएको हुन्छ’’, उहाँले भन्नुभयो, ‘‘त्यसैले सीमित कामभन्दा धेरै काम गर्नका लागि निजी क्षेत्र रोजेको हुँ ।’’ श्रेष्ठले व्यवस्थापन सङ्कायमा स्नातकोत्तर (एमबीए)मा ३ दशमलव ९४ सीजीपीए अङ्क ल्याउनु भएको छ । 

यसैगरी ‘भ्वाइथ सत्य माँ स्मृति स्वर्ण पुरस्कार’ प्राप्त गर्नु भएका शङ्करदेव क्याम्पसका राजेश पनेरुले पनि सरकारी स्थायी जागिरभन्दा निजी क्षेत्रको जागिर मनपर्ने बताउनुभयो । निजी क्षेत्रमा आफ्नो ज्ञानको अनुभवअनुसार काम गर्न पाइने भएकाले आफूले निजी क्षेत्र रोजेको उहाँको भनाइ छ । अहिले उहाँ उद्यमीसँग मिलेर विभिन्न अनुसन्धानात्मक कार्य गरिरहनुभएको छ । पनेरुले व्यवस्थापन सङ्काय, व्यापार प्रशासन (बीबीए) स्नातक तहमा ३ दशमलव ९५ सीजीपीए अङ्क ल्याउनुभएको छ । 

यस्तै समारोहमा ‘ललित चन्द पदक’ र ‘वडाकाजी मरिचमान सिंह पदक’ पाउनु भएका निर्देश सिलवाल पनि सरकारी सेवाभन्दा समाज परिवर्तन पेशा रोजेको बताउनुभयो । 

साझा विवेकशील नेपाल पार्टीका विदेश विभाग सदस्यसमेत रहनु भएका उहाँले सानैदेखि नै सरकारी सेवाप्रति रुचि नभएकाले समाज परिवर्तनका लागि राजनीतिक गर्न थालेको बताउनुभयो । सिलवालले त्रिवि केन्द्रीय क्याम्पसबाट स्नातकोत्तर तहमा राजनीतिक शास्त्रमा ३ दशमलव ८६ सीजीपीए अङ्क ल्याउनुभएको छ । 

यस्तै ‘नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिं स्वर्ण’ र ‘रामकृष्ण न्हुच्छे प्रधान पुरस्कार’ पाउनु भएका दुर्गा अग्रवालले सरकारी सेवामा रुचि भएको बताउनुभयो । सरकारी सेवामा पछिका लागि राम्रो भएकाले रुचि भएको धारणा व्यक्त गर्नुभयो । दमक बहुमुखी क्याम्पस, झापाबाट स्नातकोत्तर तहमा एमबीएसमा ७५ प्रतिशत अङ्क ल्याउनु भएका उहाँले बैंकिङ क्षेत्र रोजाई भएको बताउनुभयो । 

समारोहमा विभिन्न सङ्कायमा सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई ‘त्रिवि प्राध्यापक सङ्घ शहीद उपप्राध्यापक हरिराज अधिकारी स्वर्ण पदक’, ‘इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक’, ‘चान्सलर पदक’, ‘त्रिवि प्राध्यापक सङ्घ स्वर्ण पदक’लगायत ३१ वटा पदक तथा पुरस्कार वितरण गरिएको थियो । 


समारोहमा विभिन्न सङ्कायमा विद्यावारीधि गर्ने ६७ जनालाई विद्यावारीधिको उपाधि प्रदान गरिएको थियो । 

–शरद शर्मा 

Select college / campus