अब्बल महिला नेतृत्व

महिलाले नेतृत्व सम्हालेका पूर्व प्राथमिक कक्षा पनि कम लोभलाग्दा र मनमोहक छन् ।  आफूले सञ्चालन गरेको  विद्यालयको उज्वल भविष्यका लागि योजना निर्माण, सामूहिक छलफल शिक्षामा भित्रिएका नयाँ आयामको अध्ययन गर्दै  विद्यालयकै लागि दैनिक १६ घण्टा काम गर्छन् नृतृत्वमा पुगेका महिला शिक्षक तथा व्यवस्थापक । 

नेपालमा शैक्षिक सत्र २०७८ मा ३० हजार १८ सामुदायिक र ५ हजार २५७ ओटा संस्थागत पूर्वप्राथमिक कक्षा सञ्चालनमा छन् । यी सबै कक्षामा शिक्षक भने महिला नै रहेका छन् । ती सबै कक्षाको वातावरण बालमैत्रीपूर्ण, सिकाइ मैत्रीपूर्ण छन् । कक्षाको सजावट कुनै संग्रहालय भन्दा कम छैन । 

प्रधानाध्यापक बन्न स्थानीय सरकारले उत्पे्ररित गर्नुपर्छ

आर्थिक सर्वेक्षण २०७८ अनुसार नेपालमा विद्यालयको संख्या ३४ हजार ३६८ रहेको छ । सामुदायिक विद्यालय २६ हजार ४५४ छन् भने संस्थागत विद्यालयको संख्या ६ हजार ७६० र धार्मिक विद्यालय १ हजार १५४ ओटा रहेका छन् ।

सर्वेक्षणका अनुसार, शैक्षिक सत्र २०७७ मा सामुदायिक र संस्थागत विद्यालयमा गरी कुल ३ लाख २० हजार ५ सय ७६ शिक्षक रहेकोमा शैक्षिक सत्र २०७८ मा यस्तो सङ्ख्या २ लाख ८० हजार ७ सय ६५ रहेको छ। सो मध्ये पुरुष र महिला शिक्षकको अनुपात क्रमशः ६१.०२ प्रतिशत र ३८.९८ प्रतिशत रहेको छ । शैक्षिक सत्र २०७७ मा यस्तो अनुपात क्रमशः ६०.५ प्रतिशत र ३९.५ प्रतिशत रहेको थियो । तथापि विद्यालयको नेतृत्वमा सीमित महिला शिक्षक मात्र पुगेका छन् ।

महिला शिक्षक समाजका अध्यक्ष डा.जानुका पौडेलका अनुसार देशभरि करिब एक सय महिला शिक्षक मात्र नेतृत्वमा पुगेका छन् । मावि तहको विद्यालय सञ्चालन भएका विद्यालयमा प्रावि तहका शिक्षकले धेरै विद्यालयमा वर्सैंदेखि नेतृत्व सम्हालिरहेका छन् । तर पनि महिला शिक्षकले नेतृत्व लिन चाहेका छैनन् ।

नेतृत्वमा आउन चाहने नयाँ शिक्षकलाई एकातिर विद्यालयमा कार्यरत अनुभवि शिक्षकले नपत्याउने अवस्था रहेको छ भने अर्कोतर्फ महिला आफै नेतृत्वमा आउन नचाहने महिला शिक्षक समाजका उपाध्यक्ष रिता तिवारी बताउँछिन् ।

उनका अनुसार, विद्यालय शिक्षा व्यवस्थापन तथा सञ्चालनको पूर्ण जिम्मेबारी सम्हालेको स्थानीय सरकारले उत्प्रेरणा प्रदान गर्नुपर्छ ।

प्रधानाध्यापक भनेको प्रशासनिक  दायित्व बहन गर्ने भएको हुँदा महिला शिक्षकले आत्माविश्वास विकास गर्नुपर्छ । आफैंमा केही गर्न सक्छु भन्ने प्यासन शिक्षकमा विकास हुनुपर्ने उपाध्यक्ष तिवारीको भनाइ रहेको छ ।

फरक परिवार र संस्कृतिमा आफूलाई समायोजन गरेर घुल्न सक्ने महिलाले समुदायसंग सजिलै सम्बन्ध स्थापित गर्न सक्ने प्राकृतिक बरदान पाएका छन् । त्यसैले महिलाले नेतृत्व सम्हालेका विद्यालयको समुदायसंगको सम्बन्ध राम्रो हुने त्रि–पद्य माध्यमिक विद्यालयका प्रधानाध्यापक कदमबाबा जोशी बताउँछिन् ।