झन्डै तीन महिनादेखि विद्यालयहरु बन्द छन् । शिक्षक विद्यार्थीहरु घरमै बसेका छन् । विश्वव्यापी महामारीबाट अछुतो हामी पनि रहन सकेनौँ । विगत २ महिनादेखि देश लकडाउनमा छ । सुरु सुरुमा लकडाउन मात्रै विकल्प हो भन्ने बुझियो किनभने हाम्रो अवस्था पनि हामीले बुझेकै छौँ । समय बित्दै जाँदा यसका नकारात्मक असरहरु पनि देखिन थाल्यो । निम्न वर्गका असङ्गठित मजदुरहरु बढी मर्कामा परे , परिरहेका छन् । राहत नामको कनिकाले कति दिन पुर्याउनु ! हाम्रो मुलुकमा कोभिड आतङ्क प्रतिदिन जति उकालो लाग्दै छ त्यतिनै मानिसहरु अन्योलता, मानसिक समस्या, आर्थिक समस्या आदिले आक्रान्त हुन पुगेको अवस्था छ । कोरोना कहर बढ्दै जाँदा पनि पसल, बैंक , कार्यालय आदि निश्चित मिति र समयमा खुलेका छन् तर विद्यालय खोल्ने परिस्थिति छैन । विद्यार्थी मोबाइल र टिभीमा झुम्मिने समस्याले अभिभावक हैरान भएका छन् । शिक्षकहरू विद्यालय खुल्ने दिनको व्यग्र प्रतीक्षामा छन् । तर यो विषम परिस्थिति कहिलेसम्म हुने हो कसैलाई थाहा छैन ।
महामारीको अन्त्यको टुङ्गो छैन । हाम्रो देशमा पनि प्रतिदिन यसको भयावह रुप देखिँदै गएको अवस्था छ । शिक्षा क्षेत्र निकै संवेदनशील भएकाले अब विकल्पको खोजी गर्नुपर्ने देखिन्छ । यसको लागि विज्ञ वहस, गृहकार्य एवम् निचोडमा पुग्ने खालको छलफलमा सम्बन्धित पक्षले ढिलाइ नगर्नु राम्रो हुन्छ । अब कति महिनासम्म शैक्षिक गतिविधि ठप्प रहन सक्छ यसै भन्न सक्ने परिस्थिति छैन । ४ महिना, ६ महिना, १ वर्ष वा योभन्दा धेरै समय पनि विद्यालय खुल्ने परिस्थिति नबन्न सक्छ । विद्यालय नखोलेरै पनि शैक्षिक सत्र अगाडि बढाउन सकिन्छ कि सकिँदैन ? हो यही हो वहसको विषय । किनभने हामीसँग न कोरियाको जस्तो दूरी कायम गरी पढ्ने कोठा छन् न अस्ट्रेलियाको जस्तो दस दस दिनमा विद्यार्थी समूह परिवर्तन गरि परीक्षण गर्दै विद्यालयमा उपस्थित गराउन सक्ने खुवी नै छ ।
तर हामीसँग पनि विकल्प भने अवश्य छ । लगभग सबैजसो समस्यासँग केही न केही उपाय पनि टाँसिएर आएका हुन्छन् भनिन्छ । तर एकथरि समूह अहिलेको यो विषम परिस्थितिमा शिक्षाको चिन्ता लिइरहनु आवश्यक छैन, १ वर्ष विद्यालय बन्द भएर केही हुँदैन, बाँस रहे बाँसुरीको के चिन्ता भन्ने पनि नभएको होइन । विचार र तर्क ठिकै होला तर विकल्पको खोजी गरी घरमै बसेर विद्यार्थीलाई सिक्ने वातावरण निर्माण गर्नु उपयुक्त हुन्छ । हाम्रो देशको परिप्रेक्ष्यमा अनलाइन शिक्षण सबै क्षेत्रमा सम्भव देखिँदैन । एकादुई शहरी क्षेत्रमा केही अभिमुखीकरण गरि अनलाइन कक्षा चलाउन सकिन्छ । यसका लागि राज्यले क्षेत्र वर्गीकरण गरी गर्न सक्नेलाई छुट दिएर अघि बढ्नु उपयुक्त देखिन्छ ।
बालबालिकाको पहिलो विद्यालय घर नै हो । यतिबेला नतिजा पाएर विद्यार्थीहरु घरमै बसेका छन् । उनीहरुलाई घरमै बसेर पढ्ने वातावरण बनाउनु आवश्यक छ । ल्यापटप र स्मार्ट फोन सबैसँग छैन तर साधारण मोबाइल हरेक घरमा छ । त्यसैको उपयोग गरेर पनि शिक्षाको गतिरोधलाई हल गर्न सकिन्छ । नतिजापछि भर्नाको काम फोनबाटै गरेर अहिले घरमा बसेका विद्यार्थीलाई सर्वप्रथम पुस्तक पुर्याइदिने काम गर्नुपर्छ । यति गर्न कुनै समस्या छैन । स्थानीय तहले समन्वय गर्नु आवश्यक छ ।नयाँ कक्षाको पुस्तक पाएपछि विद्यार्थीको उत्साह थपिन्छ । नेपाल टेलिकम र एनसेलसँग शिक्षा मन्त्रालयले समन्वय गरि शिक्षक र विद्यार्थीसँगको निशुल्क संवाद अन्तरक्रिया गराउन सम्भव छ । स्मरणीय छ अहिले पनि निकै सस्तो दरमा दिनभर कुरा गर्न मिल्ने भ्वाइस प्याक एनटिसी र एनसेलले उपलब्ध गराइरहेका छन् ।
शिक्षक सहजकर्ता हो । सहजीकरण गर्न दैनिक कक्षाकोठामा बस्नैपर्छ भन्ने सोच त्याग्नु आवश्यक छ । एउटा शिक्षकलाई १५/२० घरको जिम्मा दिएर भए पनि विद्यार्थीहरुको बाटो भत्किन दिनुहुन्न भन्ने विचारहरु पनि पोखिएको देखिन्छ । वहस गर्नु आवश्यक छ । उपयुक्त बाटो पहिल्याउन कुनै न कुनै तरिका अपनाउनै पर्छ । विद्यालयहरुको सेवा क्षेत्र अनुसार इन्टरनेटको पहुँच, विद्युतको पहुँच आदिको विश्लेषण गरी वर्गीकरण गरी ईन्टरनेट, टेलिभिजन, एफ एम रेडियो वा मोबाइल फोनबाटै भए पनि विद्यार्थीहरुको शैक्षिक गतिविधि अगाडि बढाउनु आवश्यक देखिन्छ ।
टेलिभिजन र स्थानीय रेडियोबाट स्थानीय तहको समन्वयमा तालिका बनाएर शिक्षण कार्य गर्न सकिन्छ । यसो गर्दा दोहोरो अन्तरक्रिया हुन नपाउने भएकाले फोनबाट समस्या समाधान गर्न सकिन्छ । यसका लागि शिक्षा क्षेत्रका सरोकारवाला एवम् मन्त्रालय र मातहतका निकायहरु निदाएर बस्नु हुँदैन । चाँडै वहस र गृहकार्य होस् । विद्यालयलाई स्थानीय तहले क, ख, ग, घ वा यस्तै वर्गीकरण गरेर ईन्टरनेट, टेलिभिजन, स्थानीय रेडियो र निशुल्क फोनबाट शिक्षा दिने व्यवस्था मिलाउन अनिवार्य छ । शिक्षकहरू जुनसुकै माध्यमबाट सिकाइ सहजीकरण गर्नका लागि तयार हुनैपर्छ । बालबालिकाहरुले भविष्य कोर्ने समय खोला खोला डुलेर, मोबाइल गेम खेलेर, टिकटकमा भुलेर, कार्टुनमा अल्मलिएर, गाइबाख्रासँग डुलेर, बन बन चराको गुँड खोज्दै हिंडेर बिताउनु हुँदैन ।