After SEE Portal

नगरप्रमुखलाई खुला पत्र

Bridge Course

 श्री नगरप्रमुख ज्यु

गोदावरी नगरपालिका, ललितपुर

 विषय: ध्यानाकर्षण गरिएको बारे ।

विश्व समुदाय नै कोरोना भाईरस (कोभीड(१९)को महामारी विरुद्ध भिडिरहेको सन्दर्भमा नेपाल पनि यसको असरबाट अछुतो रहन सकेन र विगत ५४ दिन अघि देखि तपाईं हामी सबै सुरक्षाको नाममा आ–आफ्ना घर,कोठा र कम्पाउन्ड भित्रै बन्दी जीवन व्यतित गर्दै छौ ।

यस महामारी विरुद्धको लडाइँमा हामीलाई घरमा राखेर आफ्नै जीवन धरापमा हुदाहुदै पनि अग्रभागमा रहेर भिडिरहनु भएका स्वास्थकर्मी, सुरक्षाकर्मी, सन्चारकर्मी र अत्यावश्यक सेवा प्रदायक निकायका नायकहरु प्रति हार्दिक स्यालुट गर्न चाहन्छु । उहाँहरूको यो योगदानलाई राज्यले कहिल्यै भुल्नुहुँदैन र भुल्नेछैन पनि ।

गोदावरी नगरपालिकामा अल्पसंख्यक जनजातिको बसोबास भएको पर्यटकीय नगरी हो । देशको राजधानी लगायत अन्य जिल्लाहरुसंग प्रत्यक्ष भौतिक सम्बन्ध भएको नगरपालिका भित्र हामी छौं ।

चीनको वुहानबाट सुरु भई अहिले समग्र विश्वको मानव जातिको अस्तित्व माथि नै कोरोनाले आफ्नो प्रभुत्व जमाउन कोशिष गरिरहेको छ । यसको फैलावट दिन दुई गुणा रात चार गुणा जस्तै देखिएको छ । यसको रोकथामका लागि नेपाल सरकारले सिंगो देशलाई लकडाउन गरेको छ । सायद मानव जातिले आफ्नो उत्पत्ति देखि नै यति लामो समय एकैपटक समग्र विश्व नै स्थिर रहन पाएको यो पहिलो इतिहास हुनपर्छ । हामी मानवलाई अरु जे गर भन्दा नि तम्तयार हुन्छौैं तर यसरी घरमै लामो समय बस्न भने नसक्ने रहेछौं । एकतिर स्वास्थ्य संकटका कारण बन्दाबन्दी झेल्नु परेको छ भने अर्को तर्फ आज काम गरेर आजै खानु पर्ने हाम्रो बाध्यता छँदैछ ।

यस्तो विषम परिस्थितिमा गोदावरी नगरपालिका पनि अछुतो रहला भन्न सकिन्न । देशका ७७ नै जिल्लाका मानिसको बसोबास छ त्यसैले हाम्रो नगरपालिकाले पनि थप सावधानी अपनाउनु पर्ने देखिन्छ ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण हाम्रो नगरभित्र मानिसहरु बस्न रमाइलो गर्न आउँछन् । उनीहरुको स्वास्थ्य चेक जाँच गरी आशंका लागेका वा लक्षण देखिएका मानिसलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइयोस्, यदी चेक जाँचका क्रममा कोही कसैलाई आइसोलेसनमा राख्नु पर्ने भए सुरक्षित र पूर्ण प्रबन्धका साथ राखियोस् भनी यो ध्यानाकर्षण पत्र लेखेको छु ।

नगर प्रमुख ज्यु,

खाद्यान्न, तरकारी फलफूल तथा अन्य अत्यावश्यकीय वस्तुहरुको ढुवानी वाह्य भन्दा स्थानीय उत्पादनलाई प्रोत्साहन दिइ बजारीकरण गरियोस् । विदेशबाट निर्यात गर्नुभन्दा सीमा नाकालाई पूर्ण रुपमा बन्द गरी हाम्रो माटोमा हाम्रा लागि पुग्ने खाद्यान्न तथा तकारी स्थानीय स्तरमा  उत्पादन  गर्ने तर्फ हजुरको ध्यानाकर्षण होस् र कृषिलाई आधुनिकीकरण गर्ने योजना बनाउनेतर्फ ध्यान जाओस् भनी यो खुला पत्र लेखेको छु ।

यस नगरपालिका भित्र हाल सञ्चालनमा रहेका निर्माण आयोजनामा कार्यरत मजदुर र अन्य सेवा प्रदायक निकायहरु (बैंक, बित्तीय सस्था, अस्पताल, पसल, डेरी) मा सामाजिक दुरीको सिद्धान्त अवलम्बन भएको जस्तो लाग्दैन । तसर्थ ती स्थान नै कोरोना प्रसारणको बिन्दु बन्न नदिन बेलैमा सचेत र सावधान रहनु पर्दछ । केही दिन यता स्वास्थकर्मी, सुरक्षाकर्मी र पत्रकारहरु नै संक्रमित हुन थालेका समाचार आइरहदा उहाँहरु आफैमा सुरक्षित रहन र आम नागरिक समाजलाई सुरक्षित राख्न आवश्यक कदम तत्कालै आवश्यक देखिन्छ । निजहरुको मनोवल उच्च राख्न र कार्यक्षेत्रमा डटेर लाग्ने वातावरण बनाउनु अबको चुनौती थपिएको छ।

एउटा रोचक पक्ष नगरप्रमुख ज्युलाई अवगत भएकै कुरा हो, गोदावरी नगरपालिका सम्भवत नेपालकै प्राकृतिक स्रोत साधनमा धनी नगरपालिका होला तर यति खेर मुल बाटो सुनसान हुने र त्यही हरियाली बन जङ्गल, खोला नाला, झोलुङ्गे पुल, चौर र खानी क्षेत्रहरु युवाहरु जमघट हुने लागुपदार्थ सेवन गर्ने, जुवातास खेल्ने र बनभोज गर्ने स्थलको रुपमा रुपान्तरित भएका छन् । के थाहा भोली तिनै स्थान कोरोना सार्ने हट स्पोर्ट पो बन्छ्न कि? त्यसैले केही समयका लागि नगरभित्र यस्ता प्रवृत्ति रोक्ने तर्फ हजुरको ध्यान जानु पर्ने पो हो की ?

आफैलाई नपरी चेत खुल्दैन भन्ने उखान यथार्थ नै रहेछ क्यार कि के हो विश्व भर र नेपाल भित्र पनि यति छिटो रोग फैलिरहेको सुन्दा सुन्दै पनि हाम्रा गाउँघर तिर खुलेका चिया पसल, भटटि पसल, दुध संकलन केन्द्र, चौतारो, धारा, कुवा र पधेरामा भिडभाड घटेको छैन ।

एउटा शिक्षकको नाताले शिक्षा क्षेत्रको प्रसङ्ग उठान नगरी पनि चित्त बुझेन । यति खेर गोदावरी नगरपालिकाका मात्रै होइन देशभर विद्यार्थीहरु घर भित्र थुनिएर बसेका छन् । गोदावरी नगरपालिका भित्र मात्रै यो संख्या ३०००० भन्दा माथी हुनु पर्दछ ।

मनोवैज्ञानिकहरुका अनुसार चन्चल उमेर, खेल उमेर, साथी समूहको उमेर, उत्सुकताको उमेरका ती केटाकेटीहरुलाई घर (कोठाकै चार दिवार भित्र सीमित गर्दा बाल मानसिकतामा पर्ने असरको दुरगामी प्रभाव पक्कै पर्दछ । त्यसैले अबको तत्कालीन आवश्यकता भनेको ती विद्यार्थीहरुलाई सिकाई वातावरण तयार गर्नु हो । यसका लागी भौतिक उपस्थिति बिना हुने दुर सिकाई र अनलाइन सिकाई वातावरणको सहजीकरण हो । मेरो जानकारीमा भए सम्म तपाई लगायत गोदावरी नगरपालिकाको स्थानीय सरकारमा प्रतिनिधित्व गर्ने सबै राजनैतिक दलका चुनावी घोषणा पत्रमा ईन्टरनेट र फ्री वाईफाईको अवधारणा थियो । अब त्यसको कार्यान्वयन गर्ने उपयुक्त समय आएको छ।

केन्द्रमा शिक्षा मन्त्रालयले सबै बालबालिकाहरुमा ईन्टरनेट सुविधा नपुगेकाले अनलाइन सिकाई नगर्नु मात्र भनेको हो यदि हामी गोदावरी नगरपालिकाका सबै बस्तीमा यो सुविधा बिस्तार गर्न सक्छौं भने आट गरौ एकपटकको यो प्रयासबाट नेपालकै पहिलो प्रविधिमैत्री सिकाई गर्ने स्थानीय निकाय बन्ने अवसर पनि छ । यसको लागी इच्छाशक्ति भयो भने असम्भव छैन है दी ।यस्तो सिकाई वातावरण बनाउने पहल गर्ने हो भने हामी शिक्षक आफ्नो तर्फबाट जुनसुकै किसिमको योगदान गर्न तत्पर रहेको प्रतिबद्धता जनाउन चाहन्छु ।

भर्खरै एउटा अन्लाईन समाचारमा तपाईंले सम्पूर्ण नगरबासीहरुको कोभीड –१९ परिक्षण गर्न इच्छुक भएको तर सामग्रीको अभाव भएको कारण निर्णयमा पुग्न नसकेको समाचार सुने । यो आफैंमा अत्यन्त आशालाग्दो छ । तपाईंको इच्छाशक्तिले यो चाहना वास्तविकतामा परिणत हुन समय नलगोस् । गोदावरी नगरपालिकाका स्थाई बासिन्दा,यहाँका नागरिक अगुवा, राजनैनिक दलका प्रतिनिधि, बुद्धिजिवी, ब्यापारी लगायत गैरआवासीय नेपालीले पनि तपाईँको यो चाहना पूर्ण गर्न सहयोग गर्नुहुन्छ भन्ने लागेको छ ।

अन्त्यमा पुनस् उपत्यकाबासी र दक्षिण ललितपुरबासीको स्वास्थ्य सवेदनशिलतामा यहाँकै नेतृत्वदायी भूमिकारहने छ भन्दै बिदा हुन चाहन्छु ।

उही

नानिराम सन्जेल

A Levels MA