After SEE Portal

काठमाडौं विश्वविद्यालयका एक हजार आठ सय ३८ विद्यार्थी दीक्षित

Bridge Course

 काठमाडौँ विश्वविद्यालयका एक हजार आठ ३८ विद्यार्थी आज दीक्षित भएका छन् ।

प्रधानमन्त्री तथा उक्त विश्वविद्यालयका कुलपति पुष्प कमल दाहाल ‘प्रचण्ड’ले २९औँ दीक्षान्त समारोहमा ती विद्यार्थीलाई दीक्षित भएको प्रमाणपत्र प्रदान गरे ।

दीक्षित हुनेमा पीएचडी, डिएम र एमसिएचमा स्कुल अफ आर्ट्सका एक, शिक्षाका तीन, मेडिकल साइन्सेजका १२ र विज्ञान विषयका दुई जना गरी १८ जना रहेका छन् ।

त्यस्तै एमफिल तहका ३८, स्नातकोत्तर तहका तीन सय १४, पिजिडी तहका ५२ र स्नातक तहका एक हजार चार सय १६ जनासहित एक हजार आठ सय ३८ विद्यार्थी २९औँ दीक्षान्तको पहिलो चरणमा दीक्षित भएको काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्टसका सहप्राध्यापक एवं विश्वविद्यालयका प्रवक्ता एक्कुमाया पुनले बताए ।

समारोहमा काठमाडौँ  विश्वविद्यालयको इतिहासमा पहिलोपटक स्कुल अफ इञ्जिनियरिङअन्तर्गत् माष्टर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्समा एक, स्कुल अफ मेडिकल साइन्सेजअन्तर्गत् माष्टर अफ साइन्स इन मिडवाइफेरी नर्सिङमा आठ र स्कुल अफ एजुकेसनअन्तर्गत् माष्टर इन हायर एजुकेशनमा नौ जनालाई पनि उपाधिको प्रमाणपत्र दिइएको थियो यसैबीच विश्व विद्यलायले प्रदान गर्दै आएका पदकमध्ये पहिलो चरणको भाइस चान्सलर स्वर्णपदक स्नातक तहमा सबैभन्दा बढी अङ्क ८४ दशमलव २६ प्रतिशत ल्याउन सफल विराटनगरको विराट मेडिकल कलेजका सनम ढकाललाई प्रदान गरिएको थियो ।

त्यस्तै एमबी ए तहमा सबैभन्दा बढी तीन दशमलव८९ सिजीपीए प्राप्त गर्न सफल स्कुल अफ मेनेजमेन्टका विनायक घिमिरेलाई जुद्धबहादुर श्रेष्ठ स्वर्णपदक, एमबीएमा तीन दशमलव७८ सिजीपीए प्राप्त गरी सर्वोत्कृष्ट हुन सफल स्कुल अफ मेनेजमेन्टका विद्यार्थी अङ्कित सुवेदी, एमबीबीएसतर्फ स्नातक तहमा सबैभन्दा बढी अङ्क ८०दशमलव २९ प्रतिशत प्राप्त गर्न सफल विराज मेडिकल कलेजका संस्कृतिश्री ढकाललाई न्हुछेरत्न तुलाधर स्वर्ण पदक र स्कुल अफ मेनेजमेन्टमा स्नातक तहमा सबैभन्दा बढी तीन दशमलव९७ सिजीपीए प्राप्त गर्न सफल सौगात बाँस्तोलालाई प्रेमराज पन्त स्वर्ण पदक प्रदान गरिएको थियो । दीक्षान्त समारोह शताब्दी पुरुष वरिष्ठ चिकित्सक डा गौरीशङ्करलाल दासको पनि सहभागिता थियो ।

जलवायु परिवर्तनसम्बन्धी खोज–अनुसन्धान गर्न प्रधानमन्त्री दाहालको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी जलवायु परिवर्तनसम्बन्धी थप खोज–अनुसन्धान गर्न काठमाडौं विश्वविद्यालयलाई आग्रह गरेका छन् ।

काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित विश्वविद्यालयको २९औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले स्थानीय समुदायमा जलवायु परिवर्तनको प्रतिकूल प्रभाव न्यूनीकरण गर्न, अनुकूलनका स्थानीय तौरतरिका र राहतका उपाय खोजी गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्राज्ञिक अनुसन्धान र प्रकाशन गर्न प्राध्यापक तथा अध्येतालाई अनुरोध  गरे ।

विश्वविद्यालयले नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरको स्थापना गरेर प्रविधिलाई वैज्ञानिक अनुसन्धान तथा मानव जीवनको उत्थानका लागि प्रयोग गर्न गरिरहेको प्रयत्न निकै सराहनीय रहेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

“यसबाट ‘आर्टिफिसियल इन्टेलिजेन्सदेखि जलवायु परिवर्तन रोकथामका उपाय, नेपालको कृषि सुधारका लागि आवश्यक ज्ञान, दिगो विकासका नयाँ आयामका लागि बाटो खुलेको छ”, उनले भने, “नेपालको दिगो विकासमा टेवा पुग्ने किसिमको थप अनुसन्धान गरी यस केन्द्रलाई वैज्ञानिक मात्र नभएर आम मानिसको हितका लागि प्रयोग गर्न अनुरोध गर्दछु ।”

विश्वविद्यालयको प्रारम्भ विज्ञान तथा प्रविधिसम्बन्धी विश्वविद्यालयका रूपमा भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले पछिल्ला दशकमा विश्वविद्यालयले विस्तार गरेको प्राज्ञिक दायराबाट नेपालको बहुआयामिक विकासमा योगदान मिलेको बताए ।

विश्वविद्यालयले एक हजार शय्याको आफ्नै शिक्षण अस्पताल निर्माण गरी चिकित्सा शिक्षा र अभ्यासलाई सँगसँगै लैजान खोजेकामा आफू अत्यन्त खुसी भएको बताउँदै उनले विश्वविद्यालयले चुस्ततापूर्ण बहुविशिष्टीकृत शिक्षण अस्पताल खोल्ने विश्वसा व्यक्त गरे    ।

 “स्थापनाको ३२औँ वर्षपछि आफ्नै शिक्षण अस्पताल स्थापना गर्न विश्वविद्यालयले गरेको प्रयास सराहनीय छ, यो शुभकार्यका लागि म अग्रिम शुभकामना दिन चाहन्छु”, प्रधानमन्त्री दाहालले भने, “विश्वविद्यालयको कुलपति र प्रधानमन्त्रीको हैसियतले जति सहयोग गर्न सकिन्छ, त्यो सहयोग गर्न म तत्पर छु ।”

विश्वविद्यालयले सञ्चालन गरेका बहुविधागत कार्यक्रमले अबको विश्वविद्यालय शिक्षा कस्तो हुनुपर्छ भन्ने उल्लेखनीय उदाहरण पेस गरेका दृष्टान्त दिँदै उनले आगामी दिनमा थप ऊर्जा र सिर्जनात्मकताका साथ अध्ययन र अध्यापनका कार्यक्रम लागू गर्न आग्रह गरे    ।

 “नेपालको मौलिक ज्ञान, प्रविधि र सीपलाई विश्व परिवेश र ज्ञानको बजारसँग जोडेर नेपालको शिक्षाको अन्तर्राष्ट्रियकरण गर्ने र नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको केन्द्र बनाउने जुन दूरदृष्टि छ, त्यो सराहनीय एवम् आवश्यक छ”, उनले भने ।

आफूले आर्जन गरेको ज्ञान र सीपलाई देशको र मानव जातिको हितका लागि अर्पण गर्ने आह्वान गर्दै प्रधानमन्त्री दाहालले थप अध्ययन र अनुभवका लागि विदेशमा रहनुभएका विद्वत्वर्ग एवम् युवालाई पनि आफ्नो माटोको सुगन्ध र मातृभूमिको माया सम्झेर आर्जित ज्ञान र सीप नेपालको दिगो विकासका लागि सदुपयोग गर्न आह्वान गरे    ।

फरक प्रसङ्गमा प्रधानमनत्री दाहालले विभिन्न बाध्यताका कारण दुई सय भन्दा बढी नेपाली युवा रुसी सेनामा भर्ना भएको खबर चिन्ताजनक रहेको बताए । उनीहरुलाई सकुशल फिर्ता ल्याउन सरकारले हरसम्भव प्रयास गरिरहेको प्रधानमन्त्रीले बताए । “नेपालमा अवसर छैन भन्ने जुन भाष्य निर्माण भएको छ, त्यसको परिणामस्वरूप नेपाली युवा विदेशमा अनेक हन्डर खाइरहेका छन्”, उनले भने, “म आश्वस्त पार्न चाहन्छु कि अहिले नेपालमै शिक्षा तथा रोजगारीका अवसर छन् र तिनको उचित व्यवस्थापन गर्न सके व्यक्तिगत जीवनको मात्र नभएर देशहितको काम पनि गर्न सकिन्छ ।”

विद्यार्थी सामाजिक र सांस्कृतिक परिवर्तनका अगुवा बन्नुपर्छ

शताब्दी पुरुष वरिष्ठ चिकित्सक डा गौरीशङ्करलाल दासले विश्वविद्यालयका दीक्षित विद्यार्थी सामाजिक र सांस्कृतिक परिवर्तनका अगुवा बन्न सक्नुपर्ने बताए ।

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले गुणस्तरीय शिक्षाका लागि नमूना संस्थाबाट उत्पादित दीक्षित विद्यार्थीहरु नै समाज परिवर्तनका अगुवा हुन् भन्ने उद्देश्यले काम गर्नुपर्ने सुझाव पनि दिए । डा दासले समाज परिवर्तनसँगै देखिने विकृति र विसङ्गतिको अन्त्य गर्न तयार हुनुपर्ने तर्क गर्दै समाजबाट भ्रष्टाचार निर्मूल गर्ने काममा कर्मशील भई लाग्ने बर्ग भनेको पनि विद्यार्थी नै हो भने ।

समाजमा भ्रष्टाचार र कुरीति बढिरहेको अवस्थामा आफ्नो जीवन चलाउने योग्यता हासिल गर्नेमात्र विद्यार्थीको काम नभएको र समय अनुकूल राज्यले जुटाइदिने सुविधामा नै चुस्त व्यवस्थापन र न्यायोचित वितरणको वातावरणमा काम गर्न सक्नुपर्नेमा सुझाव उनले आज दीक्षित भएका विद्यार्थीलाई दिए ।

दीक्षित भएकामध्ये केही राष्ट्रसेवक हुने अनि केही राज्यको नीतिनिर्माण तहमा पुग्ने सम्भावना रहेको भन्दै उनले आफू जुन क्षेत्रमा लानेर सेवा गर्ने हो त्यस कार्यका लागि जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए ।

डा दासले स्वास्थ्य लगायतका सेवा र सुविधा मुलुकका सबै सर्वसाधारणका लागि सुलभ बनाइदिने काममा लाग्न पनि आग्रह गरे ।

समारोहमा उनले भने, “आफू सफल बन्ने नाममा, सुखी बन्ने ध्याउन्नमा, अनि शक्तिशाली बन्ने उन्मादमा आफूभन्दा कमजोर मानिसहरूको बाध्यतामा खेल्ने अनि उनका सन्ततिहरूको सफलता र सुखको जरो उखेल्ने काम नगर्नूहोला ।”

उनले भौतिक सुख सुविधापरस्त जीवनशैलीको उत्कट चाहन लिएर शिक्षा, स्वास्थ्य, सेवा र सम्बन्धलाई हेरियो भने समाजमा सह–अस्तित्वको जग हल्लिने भन्दै प्रतिकुल परिस्थिति र अभावमा पनि काम गर्न सक्ने मानसिकता बनाउन सकेमात्र देशको सेवा हुने पनि सुझाव दिए ।

डा दासले सन्तानहरू अन्यत्र पलायन भइदिँदा अहिले धेरैजना ज्येष्ठ नागरिकहरू आफैँ संरक्षणको खोजीमा छट्पटाउनुपर्ने स्थितिमा पुगेको बताए ।

जीवनको उत्तराद्र्धमा फेरि आफ्नो खुट्टामा उभिन सङ्घर्ष गर्नुपर्ने परिस्थितिमा आफ्ना मातापितालाई नपु¥याउन आग्रह गर्दै उनले गाउँघरका विकास कार्यमा सहभागी हुन र ज्येष्ठ नागरिकहरूको अभिभारा बन्न पनि दीक्षितहरुलाई आग्रह गरे ।

देशमा लामो समय चिकित्सा सेवा गरेका ९९ वर्षीय डा दासले दीक्षित विद्यार्थीहरुलाई अरूको आलोचनालाई स्वागत गर्न सुझाव दिए ।

कसैले गरेको आलोचनाबाट आत्तिने नभएर त्यसबाट आफूले सक्नेजति शिक्षा लिन र त्यो आलोचनाबाट आफूलाई सच्याउने बानीको विकास गर्नुपर्ने सुझाव दिए । साथै कहिल्यै पनि बिफलताबाट निराश नभई पाठ सिक्नुपर्ने उनको सुझाव थियो । उनले भने, “बिफलतालाई सफलतामा परिणत गर्न सक्ने हुनुपर्छ । विद्यार्थी भनेको वनमा उम्रेको जटीबुटी जस्तै उपयोगी र बहुगुणी हुनसक्नुपर्छ ।”

कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले प्रारम्भदेखि नै काठमाडौँ विश्वविद्यालयले वातावरणीय विज्ञान र इन्जिनियरिङ क्षेत्रमा विभिन्न शैक्षिक कार्यक्रमहरूमार्फत जलवायु परिवर्तनलाई सम्बोधन गरी दिगो विकासलाई प्रवद्र्धन गर्ने काम गरेको बताए ।

विश्वविद्यालयमा हाल स्नातक तहदेखि ग्लेसियोलोजी, प्राकृतिक स्रोत, वन्यजन्तु व्यवस्थापन, ऊर्जा प्रणालीको योजना र सञ्चालन जस्ता विषयहरू अध्यापन हुँदै आएको र विद्यावारिधिसम्मको अध्यापन हुँदै आएको छ ।

उपकुलपति थापाले गत वर्ष विद्यार्थी भर्ना दर ७० प्रतिशत मात्रै रहेकामा यस वर्ष स्नातक तहमा उपलब्ध सिट सङ्ख्याको ८५ प्रतिशत भर्ना गर्न सफल भएको बताए ।

नेपाली विद्यार्थीहरू उच्च शिक्षा अध्ययनका लागि विदेश पलायन हुनाले विगतका केही वर्षहरूदेखि नेपालका विश्वविद्यालयमा विद्यार्थी भर्ना दरमा ह्रास आउनु आफैँमा गम्भीर विषय भएको उनको भनाइ थियो ।

स्नातकहरूलाई रोजगारीको अनुभूति गराउन सकिएन भने उनीहरूलाई विदेश पलायन हुनबाट पनि रोक्न पनि सकिँदैन भन्ने महसुस गरी उद्योग सहकार्यमार्फत रोजगार योजना सञ्चालन गरेको बताउँदै उनले यस वर्षदेखि काठमाडौँ विश्वविद्यालयले एकेडेमिया कार्यको पहलअन्तर्गत शीर्ष स्नातकहरूलाई विश्वविद्यालय वा साझेदार संस्थाहरूमा एक वर्षका लागि रोजगारी सुनिश्चित गर्ने कार्यक्रमसमेत ल्याएको जानकारी दिए ।

त्यस्तै, विश्वविद्यालयले अस्ट्रेलियामा व्यवस्थापन र सूचना प्रविधिका केही कार्यक्रमहरू छिट्टै विस्तार गर्न लागेको र हङकङमा ब्याचलर इन बुद्धिस्ट स्टडिज कार्यक्रम शुरुआत गर्ने योजनामा रहेको बताए ।

स्वास्थ्य सेवालाई किफायती, पहुँचयोग्य र विश्वव्यापी विकासका साथ अद्यावधिक गर्न काठमाडौँ विश्वविद्यालयले निकट भविष्यमा सुपर स्पेसियालिटी अस्पताल स्थापना गर्ने महत्वाकाङ्क्षी योजनाका लागि पहल गरिरहेको उनको भनाइ छ ।

अहिले मेन्टल हेल्थ रिसर्च सेन्टर सञ्चालनमा आइसकेको र निकट भविष्यमा नै डाइबेटिज रिसर्च सेन्टर र अस्पताल पनि सञ्चालनमा ल्याउने अभियानमा जुटिसकेको उनले बताए ।

 

A Levels MA
Thuprai - Books and E-books