Bachelors Portal

शिक्षा क्षेत्रको पुनःनिर्माण गर्न कार्यालय स्थापना

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले शिक्षा क्षेत्रको पुनःनिर्माण गर्नका लागि छुट्टै कार्यालयको स्थापना गरेको छ । प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन एकाइअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षा कार्यालयको बागलुङमा आज सांसद डा सूर्य पाठकले उद्घाटन गर्नुभयो ।

सांसद पाठकले देश विकासमा प्रमुख भूमिका कर्मचारीको रहेको बताउँदै लगनशील भएर काममा खट्नुपर्ने बताउनुभयो । उहाँले कर्मचारीले चाहेमा देशमा ठूलो परिवर्तन आउने धारणा व्यक्त गर्दै त्यसका लागि राज्यले कर्मचारीको सुविधा थप्नुपर्ने बताउनुभयो ।

पुनःनिर्माण प्राधिकरणले सडक, निजी आवास, एकृकीत बस्ती, सरकारी कार्यालय तथा विद्यालयलगायतका भवनको पुनःनिर्माण गर्दा शिक्षा क्षेत्रको पुनःनिर्माण गर्र्न असहज भएको भन्दै छुट्टै कार्यालय स्थापना गरेको प्राधिकरणले जनाएको छ ।

जिल्ला कार्यान्वयन एकाइ शिक्षाका प्रमुख मोतिलाल चपाईले भन्नुभयो, “विद्यालय जस्तो संवेदनशील क्षेत्रको पुनःनिर्माणमा ढिलाइ हुनु अस्वभाविक हो, छुट्टै कार्यालय स्थापनाले विद्यालयको भौतिक संरचना पुनःनिर्माणमा निकै सहज हुनेछ ।”

नेपालमा हालसम्म ३१ जिल्लामा स्थापना भइसकेको जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षा ७७ जिल्लामै स्थापना गरिनेछ । बागलुङमा ४० विद्यालय भवन पुनःनिर्माण सम्पन्न गरी ३८ विद्यालय भवन तथा २५ शौचालय निर्माण शुरु गरिएको कार्यालयका इञ्जिनीयर नवीनकुमार सिंहले जानकारी दिनुभयो ।

बागलङमा दुईकोठे १८ वटा, तीन कोठे पाँच वटा र चार कोठे १५ वटा भवन तथा २५ विद्यालयमा शौचालय निर्माणको कार्य अगाडि बढेको इञ्जिनीयर सिंहले बताउनुभयो । निर्माण प्रारम्भ गरिएका विद्यालय भवन तथा शौचालयका लागि २० प्रतिशतका दरले रु चार करोड आठ लाख बजेट पेश्की प्रदान गरिएको प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ ।

Thuprai - Books and E-books