CMAT

अब कक्षाकोठामै गाउँबारे जान्न पाइने

Thuprai - Books and E-books

सूर्यविनायक नगरपालिकाका संस्थागत तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुले स्थानीय पाठ्यक्रम पढ्न पाउने भएका छन् ।

आज सूर्यविनायक नगरपालिका स्थानीय पाठ्यक्रम निर्माण तथा सहजीकरण समितिले आयोजना गरेको स्थानीय पाठ्यक्रम निर्माणसम्बन्धी कार्यशालामा बोल्दै नगरप्रमुख वासुदेव थापाले कात्तिकदेखि नै सूर्यविनायक नगर क्षेत्रका विद्यालयमा स्थानीय पाठ्यक्रम लागू हुने बताए ।

सूर्यविनायक नगरपालिका भित्रका अधिकांश सामुदायिक विद्यालयले भौतिक रुपमा  कक्षा सञ्चालनमा  ल्याइसकेका छन् भने केही विद्यालयले दसैंपछि मात्र विद्यालय सञ्चालनमा  ल्याउन भएका  छन् ।

उनले सूर्यविनायक नगरपालिकाको पहिचानलाई विद्यालय तहदेखि नै जानकारी गराउने उद्देश्यले नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्न लागेको बताउँदै भने, “हाम्रा छोराछोरी र विद्यार्थीलाई विदेशका कुरा थाहा हुने अनि आफ्नै गाउँठाउँको कुरा थाहा नहुने, यो कस्तो प्रवृत्तिको विकास भयो ? अब स्थानीय पाठ्यक्रमले बालबालिकालाई आफ्नो गाउँठाउँको पहिचानलाई चिनाउनेछ ।”

आफ्नो गाउँको जनसङ्ख्या कति छ, पर्यटकीय क्षेत्र, सम्पदा, धार्मिक मठमन्दिर, प्रमुख व्यक्तित्वहरु, जातजाति, धर्म, संस्कृति, जात्रा पर्व के के थिए, के के छन्, मुख्य पेसा, व्यवसाय के हुन्, मुख्य उत्पादन हुने अन्नबाली के हो, पशुपालन, कृषि, सडक, खेलजस्ता सबै पक्षलाई व्यावहारिक रुपमा जानकारी गराइनेछ ।

ती कुरा समावेश गरी पाठ्यक्रमलाई अन्तिम रुप दिएर तिहारलगत्तै सबै विद्यालयमा कार्यान्वयनमा ल्याउने नगरप्रमुख थापाले बताए ।

उनले कार्यशालामा सहभागी प्रत्येक वडाका जनप्रतिनिधि, संस्थागत तथा सामुदायिक विद्यालयका प्रिन्सिपल, शिक्षक शिक्षिका लगायत सरोकारवालालाई स्थानीय पाठ्यक्रममा राख्नै पर्ने कुनै पनि विषय नछुट्ने गरी अन्तिम रुप दिन आग्रह गरे।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख जुना बस्नेतले स्थानीय विद्यार्थीले स्थानीय विषयलाई जान्ने र बुझ्ने अवसर नपाउँदा महत्वपूर्ण कुराहरु पनि ओझेलमा पर्दै जाने र अन्तिममा लोपोन्मुख अवस्थामा पुग्ने भएकाले आफ्ना ठाउँको महत्वलाई सधैँ जीवित राख्न स्थानीय पाठ्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् ।

त्यस अवसरमा स्थानीय पाठ्यक्रम निर्माण तथा सहजीकरण समितिका संयोजक एवं वडा नं ८ का वडाध्यक्ष किरण थापाले कार्यशालाले पाठ्यक्रमलाई अन्तिम रुप दिएर एक महिनाभित्र पठनपाठनमा ल्याइने बताए ।

चालु शैक्षिक सत्रमा कक्षा १ देखि ५ सम्म र आगामी शैक्षिक सत्रमा कक्षा ६ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागू गर्ने गरी पाठ्यक्रम निर्माण भएको र त्यसलाई सुझावसहित अन्तिम रुप दिन कार्यशालाले भूमिका निर्वाह गर्छ भन्दै उनले दसैंपछि कक्षा सञ्चालन हुँदा विद्यार्थीले स्थानीय पाठ्यक्रम पढ्न पाउने बताए ।

नगरपालिकाको स्थानीय पाठ्यक्रम निर्माणमा प्राविधिक सहयोगीको भूमिका निर्वाह गरेका विज्ञ उद्धवप्रसाद प्याकुरेलले पाठ्यक्रममा नगरपालिकाको भूगोल, जनसङ्ख्या, प्राकृतिक सम्पदा, स्थानीय जातजाति, वेशभूषा, धर्म, कला, संस्कृति, जात्रा पर्व, प्रमुख व्यक्तित्व, जनसङ्ख्या, स्थानीय चाडपर्व, स्थानीय बाजागाजा, नाच, स्थानीय लोकसंस्कृति, संस्कार, रहनसहन, कृषि, पर्यटन, पेसा, व्यवसाय, खेल, जडीबुटी, सडक, योग, हरितलगायत १४ वटा विषय समावेश गरिएको बताए ।

पाठ्यक्रम विकास केन्द्रका अधिकृत खिलानाथ धमलाले पाठ्यक्रम निर्माणमा अन्तिम दिन सहजीकरण गर्दै स्थानीय विद्यालयले पाठ्यक्रम कार्यान्वयनमा ल्याउने भएकाले विद्यालय जिम्मेवार भएर सुझाव दिनुपर्ने बताए ।उनले पाठ्यक्रमका सम्पूर्ण स्वरुपका बारेमा जानकारी गराउँदै सुझाव सङ्कलन गरेका थिए ।

सूर्यविनायक नगरपालिका शिक्षा शाखाका अधिकृत सरस्वती कोइरालाले समितिले सरोकारवाला निकायसँग पटकपटकका प्रत्यक्ष तथा जुम बैठक र छलफलबाट पाठ्यक्रम तयार पारेको बताउँदै कुनै पनि विषय नछुटोस् भनेर पाठ्यक्रमलाई आजसम्ममा अन्तिम रुप दिइने बताइन् ।

I Tech store