After SEE Portal

प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिममा एकरुपता छैन

Bridge Course

नियमन तथा व्यवस्थापन प्रभावकारी नहुँदा तालिममा  दोहोरोपना  छ । समानता  छैन । ८४ हजार ६५० व्यक्त्तिले लामो तथा छोटो अवधिका प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम प्राप्त, आर्थिक वर्ष २०७५ र ७६ मा ५ हजार ४०८ (१०.८५) जनाले  मात्र यो तालिम लिए ।

प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम नेपाल सरकारको उच्च प्राथमिकताको क्षेत्र  भनिए पनि यसको नियमन तथा व्यवस्थापन प्रभावकारी नहुँदा तालिममा  दोहोरोपना तथा समानता नभएको पाइएको छ ।  

सरकारी, गैरसरकारी एवम् निजीस्तरमा गरी कैयौं संघ, संस्थाहरू प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम प्रदान गर्ने कार्यमा संलग्न रहेको हुँदा यस्तो दोहोरोपना देखिएको हो ।

सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार गरी राज्यका सबै तहका सरकारी संरचनाहरूबाट प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम कार्यक्रम सञ्चालन हुने गरेका छन । 

प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम एकीकृत वार्षिक प्रतिवेदन, २०७६ अनुसार १० वटा सङ्घीय मन्त्रालय तथा अन्तर्गतका १८ वटा निकायहरूबाट अहिलेसम्म ८४ हजार ६५० व्यक्तिले लामो तथा छोटो अवधिका प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम प्राप्त गरेको छन् ।

यस मध्ये ४१.१ प्रतिशत अर्थात ३४ हजार ७६८ ले लामो अवधिका प्राविधिक तथा व्यावसायिक शिक्षा प्राप्त गरेका छन् भने बाँकी ४९ हजार ८८२ (५८.९५) व्यक्तिले १ दिनदेखि ६ महिनासम्मका व्यावसायिक तालिम लिएको पाइएको छ ।

व्यावसायिक तालिम लिने मध्ये करिब ४.९ प्रतिशत अर्थात ४ हजार १३६ जनाले १ हप्ता भन्दा कम अवधिको तालिम प्राप्त गरेका भएता पनि तालिमको ठूलो हिस्सा (९५.१ प्रतिशत) ले एक हप्ता भन्दा लामो अवधिका तालिम लिएका छन् ।

तालिमको विषयगत क्षेत्रको आधारमा सबैभन्दा बढी १६ हजार २५५ अर्थात ३२.६ प्रतिशत पर्यटन तथा अन्य सेवा क्षेत्रका विभिन्न पेसागत तालिम लिएका छन् ।

त्यसैगरी निर्माण क्षेत्रमा १६ हजार ०५६ (३२.२५ प्रतिशत), कृषि तथा वन क्षेत्रका पेसामा ८ हजार ३०७ (१७ प्रतिशत) र उत्पादनशील क्षेत्रका विभिन्न पेसाहरूका तालिम प्राप्तहरूको हिस्सा करिब ७ हजार ९६० (१६ प्रतिशत) रहेको पाइएको छ ।

त्यसै गरी जनस्वास्थ्य क्षेत्रसँग सम्बन्धित पेसाहरुमा सञ्चालित तालिमको हिस्सा २ प्रतिशत र प्रशासन तथा व्यवस्थापनका क्षेत्रमा सञ्चालित तालिमको हिस्सा नगन्य अर्थात १ प्रतिशत भन्दा कम रहेको पाइएको छ । 

वार्षिक प्रतिवेदन अनुसार  मन्त्रालयगत रूपमा  हेर्दा ७३.९ प्रतिशत भन्दा बढी अर्थात ३६ हजार ८६४ जनाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतका निकायहरूबाट तालिम प्राप्त  गरेका छन् ।  दोस्रोमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट तालिम लिएका छन् । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सञ्चालित तालिमबाट लाभान्वितको सङ्ख्या २ हजार ६१३ (५.२५) रहेको छ । अघिल्ला वर्षहरूमा यस मन्त्रालयबाट सञ्चालित तालिमबाट लाभान्वित सङ्ख्या भन्दा यो वर्ष निकै कमले मात्र तालिम लिएका छन् । उद्योग मन्त्रालयबाट प्रदान भएको तालिमको सङ्ख्यामा यो आर्थिक वर्षमा कमी आएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उद्योग मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सञ्चालित तालिममा सहभागीको संख्यामा कमी । वेमौसमी तरकारी खेतीको तालिममा  केही संख्यामा  वृद्धि भएको छ ।

यसरी तालिमको सङ्ख्यामा उल्लेख्य गिरावट आउनको मुख्य कारण सङ्घीय मन्त्रालय अन्तर्गत जिल्ला स्तरमा सञ्चालित तालिम प्रदायक निकायहरू प्रदेश मन्त्रालय अन्तर्गत समायोजन लगायतका करण रहेको प्रतिवेदनले औँल्याएको  छ ।

समीक्षा अवधिमा कुल १६७ वटा पेसागत व्यावसायिक तालिम सञ्चालन भएको पाइएकोमा सबैभन्दा बढी ५ हजार ४१२ जनाले विल्डिङ्ग इलेक्ट्रिसियन पेसाका तालिम प्राप्त गरेका छन् । त्यसैगरी टेलरिङ्गमा ४ हजार ८०६ र असिस्टेन्ट व्युटिसियनमा ३ हजार २८० जनाले तालिम प्राप्त गरेका छन । कृषितर्फ भने अफ सिजन तरकारी उत्पादनमा सबै भन्दा बढी २ हजार ५४७ जनाले तालिम प्राप्त गरेको प्रतिवेदनमा उल्लेख  गरिएको छ । 

आर्थिक वर्ष २०७५ र ७६ मा ५ हजार ४०८ (१०.८५) जनाले  लामो तथा छोटो अवधिको व्यवसायिक तालिम प्राप्त गरेका छन् ।

सङ्घीय सरकार अन्तर्गत १६ वटा मन्त्रालयहरू तथा ती मन्त्रालय अन्तर्गत विभिन्न विभाग, परिषद, कार्यालय तथा परियोजनाहरूले यस्ता खालका तालिम प्रदान गर्दै आएका छन् । सीमित स्रोत र साधनका बाबजुद यस क्षेत्रमा गरिएको लगानीबाट के कति प्रतिफल प्राप्त भइरहेको छ भन्ने एकीकृत तथ्याङ्कको अभावमा यस क्षेत्रको नीति तथा योजना तर्जुमा पनि यथार्थ परक हुन नसकेको सो प्रतिवेदनमा उल्लेख  गरिएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगत शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट कक्षा ९ देखि १२ सम्मको प्राविधिक शिक्षा र प्राविधिक तथा व्यावसायिक तालिम परिषदबाट प्राविधिक एसएलसी, डिप्लोमा र छोटो अवधिका व्यावसायिक तालिम कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन । 

A Levels MA
Thuprai - Books and E-books