After SEE Portal

पाल्पामा कर्मचारीविहीन स्थानीय शिक्षा शाखा

Bridge Course

​पाल्पा, १५ पुस (रासस) : पाल्पाको स्थानीय तहमा शिक्षा शाखा कर्मचारीविहीन बनेको छ । कर्मचारीको अभावका कारण शाखाका काम कारवाही प्रभावित भएको छ । स्थानीय सरकारले शिक्षा शाखाका संयोजकको जिम्मेवारी अहिले रोजगार संयोजकलाई तोकिएको छ ।

जिल्लाको तानसेन नगरपालिका तथा बगनासकाली, तिनाउ र रिब्दीकोट गाउँपालिकामा मात्र शिक्षा शाखामा कर्मचारी छन् । त्यो पनि आवश्यकता अनुसार रहेको छैन् । बाँकी स्थानीय तहका शिक्षा शाखा अस्थायी र करार कर्मचारीका भरमा सञ्चालन छन् । फलस्वरुप शाखाका काम कारवाही प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन् ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पाका छ स्थानीय तहमा शिक्षक तथा करारका कर्मचारीका भरमा शिक्षा शाखाका गतिविधि सञ्चालित छन् । रैनादेवसकी छहरा गाउँपालिकामा रोजगार संयोजक हरि पोखरेललाई शिक्षा शाखाको समेत जिम्मेवारी तोकिएको छ । रामपुर नगरपालिकाको हालत पनि उस्तै छ ।

रोजगार शाखाका संयोजकलाई शिक्षा शाखाको जिम्मेवारी प्रदान गरिएको छ । माथागढी गाउँपालिकामा पनि शिक्षा शाखाको संयोजकमा रोजगार संयोजक सुदिना ज्ञवालीलाई तोकिएको छ । तर ज्ञवालीले राजीनाम दिएपछि संयोजक शाखाको काम कारवाही अगाडि बढेको छ । गाउँपालिका प्रशासकीय अधिकृत दीपक नेपालीका अनुसार शिक्षाका सबै काम प्रशासन शाखाबाट हुँदै आएको छ ।

पूर्वखोला गाउँपालिकामा उद्धबुद्ध माविका प्रध्यानाध्यापक लोक हरि देवकोटाले शिक्षा शाखाका काममा सहजीकरण गरिरहनुभएको छ । अधिकांश समय विद्यालयको जिम्मेवारीमा रहनुपर्दा गाउँपालिकाले बोलाएको समयमा सल्लाह तथा सहजीकरण मात्रै गर्ने गरेको उहाँले बताउनुभयो ।

निस्दी गाउँपालिकामा पनि शिक्षाको कर्मचारी नहुँदा स्रोत व्यक्ति हरिबहादुर सारुले शिक्षा शाखाका काम हेरिरहनुभएको छ । स्रोत व्यक्तिका सट्टामा नयाँ शिक्षक विद्यालयमा राखेर गाउँपालिकाले स्रोत व्यक्तिलाई गाउँपालिकामा तानिएका छन् ।

रम्भा गाउँपालिकामा शिक्षा शाखाको जिम्मेवारी स्रोत व्यक्ति काशीराम बस्याललाई दिएको छ । स्थानीय तहमा शिक्षाका कर्मचारी नहँुदा करारका कर्मचारी र शिक्षकलाई जिम्मेवारी प्रदान गर्न बाध्य भएको गाउँपालिकाले जनाएको छ । कर्मचारीको अभावमा शिक्षासम्बन्धी काम गर्दा ढिलासुस्ती र समस्या हुँदै आएका छन् ।

जिल्लामा २०० प्राथमिक विद्यालय सञ्चालनमा छन् । त्यस्तै, ८८ निमावि र ११५ मावि जिल्लामा सञ्चालित छन् । जिल्लाको तानसेन नगरपालिकामा शिक्षा शाखा उपसचिव रेशमलाल न्यौपाने र स्रोत व्यक्ति लक्ष्मी ढुङ्गाना, बगनासकाली गाउँपालिकामा शिक्षा अधिकृत गुनाराम खनाल, तिनाउ गाउँपालिकामा शिक्षा अधिकृत लक्ष्मी कुँवर तथा रिब्दीकोट गाउँपालिकामा शिक्षा अधिकृत मणि खनाल कार्यरत छन्।

शिक्षा विकास तथा समन्वय एकाइ पाल्पाका शाखा अधिकृत विष्णुप्रसाद बेल्बासेका अनुसार स्थानीय तहका शिक्षा शाखाले प्रदेश र केन्द्रका कार्यक्रमसमेत सञ्चालन गर्नुपर्ने हुन्छ । केन्द्र र प्रदेशका काम गर्ने जिम्मा रहेको हुँदा शाखामा कर्मचारी नहुँदा समस्या बल्झिएको उहाँले बताउनुभयो ।

शिक्षा, युवा तथा खेलकूद मन्त्रालयका काम पनि स्थानीय शिक्षा शाखाले गर्नुपर्ने हुन्छ । प्रत्येक वर्ष युवा तथा खेलकूद मन्त्रालयले एक लाख खेलकूदका क्षेत्रमा खर्च हुँदै आएको छ । त्यसबाहेक स्थानीय तहका शिक्षासम्बन्धी बैठक, तालीम, अनुगमनका कामसमेत गर्नुपर्ने अवस्थामा कर्मचारी नहुँदा स्थानीय तहमा शिक्षाका कामको व्यवस्थापनमा चुनौती थपिएको छ ।

प्राथमिक तहमा एक हजार ८०५ शिक्षक कार्यरत छन् । तीमध्ये ५९६ स्थायी र २०९ राहत दरबन्दीका शिक्षक कार्यरत छन् । निमाविमा तहमा स्वीकृत ३२३ दरबन्दीमध्ये १५८ राहत गरी ४८१ शिक्षक कार्यरत छन् । मावि ९ देखि १० कक्षासम्म २४९ र मावि कक्षा ११ र १२ मा ६१ शिक्षक अझै आवश्यक छ । शिक्षकलाई तलब भत्ता तथा अवकाश नियमित प्रक्रियाको चाजोपाँजो मिलाउन स्थानीय तहलाई अहिले चुनौती थपिएको हो ।

करारका कर्मचारी भरमा शिक्षा शाखा सञ्चालनले स्थानीय तहलाई शिक्षाप्रति बेवास्ता गरिएको शिक्षाविद्को दाबी छ । अस्थायी करारका कर्मचारीका भरमा शिक्षा सञ्चालनले शिक्षा क्षेत्र कमजोर हुँदै जाने सङ्केत देखिएको शिक्षक बताउँछन् ।

A Levels MA
Thuprai - Books and E-books