काठमाडौँ, १३ चैत (रासस) : शैक्षिक जनशक्ति विकास परिषद्ले माध्यमिक तह, आधारभूत तह, प्राविधिक धारका विद्यालय र नमूना विद्यालयका लागि शिक्षकको व्यावसायिक विकास तालीमको पाठ्यक्रम स्वीकृत गरेको छ ।
परिषद्का अध्यक्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा आज सम्पन्न बैठकले सूचना तथा सञ्चार प्रविधि, विपद् व्यवस्थापन, कक्षा शिक्षण, परियोजनामा आधारित सिकाइ, बहुकक्षा बहुस्तरलगायतका विषय र क्षेत्रमा तयार गरिएका १७ वटा शिक्षक तालीम पाठ्यक्रम स्वीकृत गरेको हो ।
बैठकले शिक्षा तथा मानव स्रोत विकास केन्द्र र नेपाल खुला विश्वविद्यालयको सहकार्यमा अनलाइनमा आधारित एक वर्षे पेशागत विकास तालीम कार्यक्रम सञ्चालन गर्न सैद्धान्तिक सहमति पनि दिएको मन्त्रालयका उपसचिव बोधराज निरौलाले जानकारी दिनुभयो ।