प्रवीणता प्रमाणपत्र तह हटेपछि कक्षा ११ र १२ मा कानून विषयमा कक्षा सञ्चालन नभएको स्थितिमा नेपाल विद्यापीठ कलेजले उक्त अभावलाई मेटाउने भएको छ ।
दस जोड दुई (‘प्लस–टु’) उत्तीर्ण गरेका विद्यार्थीले कानूनमा एलएलबी गर्न पाँच वर्षे कोर्स पढ्नुपर्छ । स्नातक उत्तीर्ण गरेका विद्यार्थीले तीन वर्षे एलएलबी पढ्न सक्नेछन् ।
विसं २०५८ मा प्रवीणता प्रमाणपत्र तह विस्थापनपछि नेपालमा पहिलोपटक काठमाडौँको बानेश्वरस्थित सो कलेजले ‘प्लस–टु’मै कानून विषय पढाउन थालेको हो । कलेजमा पूर्वन्यायाधीश, नेपाल बारका पूर्वपदाधिकारी, वरिष्ठ अधिवक्ता तथा कानूनी र शैक्षिक क्षेत्रका ज्ञाता आबद्ध छन् ।
कक्षा ११ र १२ मा ५०० पूर्णाङ्कको यो विषयको ‘प्लस–टु’ पास गरेका विद्यार्थीले सिधै स्नातकमा कानून विषय पढ्न पाउने छन् । काठमाडौँ महानगरपालिकाबाट विद्यालय सञ्चालनको अनुमति लिई यस वर्षदेखि कानून र व्यवस्थापन कक्षा सञ्चालनको तयारी भएको कलेजले जनाएको छ ।