Ranakalin Shiksha

नागरिक शिक्षाका सवालमा नेपाल गम्भिर हुनुपर्छ

 

विद्यालयमा नागरिक शिक्षा किन आवश्यक छ ?

कानून र आफुलाई शासन गर्ने संस्थाहरुका बारेमा यदि जनताले बुझेका छैनन् भने उनीहरुले समाजका सबै क्रियाकलापहरुमा पूर्ण र सक्रिय सहभागिता जनाउन सक्दैनन्। आफ्ना कर्तव्य पूरा गर्न असफल हुन्छन। यसै गरी आफ्ना अधिकार रक्षा गर्न असमर्थ हुनुका साथै अरुका अधिकारको सम्मान पनि गर्न सक्दैनन्।

त्यसै गरी उचित नागरिक शिक्षाको अभावमा जनताले मतदानमा रुचि नदेखाउने, समाजले कुनै अप्ठ्याराहरु सामना गरिरहेका बेला जनताले समस्या समाधानमा सहभागी हुनुको साटो वेवास्ता गर्ने, असहिष्णु बन्ने र अतिवादी राजनीतिक दर्शन र व्यवस्थाका पछि दौडिने ठुलो सम्भावना रहन्छ। यति मात्रै होइन अमुक राजनीतिक दलका अन्धभक्त हुने सम्भावना पनि त्यत्तिकै रहन्छ। राजनीतिक दलहरुले गलत गरिरहेका भए पनि आँखा चिम्लेर दलका गतिविधिमा सहभागी भैरहन्छन। यसको अर्थ हो हाम्रा विद्यालयहरु अहिलेका विद्यार्थी र भोलिका नागरिकहरुमा आवश्यक पर्ने नागरिक ज्ञान, सीप र स्वभाव विकास गर्न पुर्ण रुपमा असफल भएका छन्।

लोकतान्त्रिक मुलुकका लागि नागरिक शिक्षा विद्यालय शिक्षाको अभिन्न अंग हो। यो विना विद्यार्थीको शिक्षा अधुरो नै रहेको हुन्छ। यो अवस्था अहिले नेपाललमा रहेको छ। सामाजिक अध्ययनका पाठ्यक्रममार्फत नागरिक शिक्षामा जोड दिनु अहिले नेपालको आवश्यकता हो। समुदायमा एउटा सक्रिय र जिम्मेवार नागरिक कसरी बन्ने र बनाउने भन्ने कुरो अति नै महत्वपूर्ण हुदोरहेछ। किनकि भोलिका असल नागरिकका रुपमा हेरिएका विद्यार्थीहरुले यो थाहा पाउनु पर्यो कि उनीहरुको घनिष्ट सम्बन्ध समाज र समुदायसंग छ। उनीहरुले यो महसुस गर्नुपर्छ कि उनीहरु आफ्नो स्थानीय समुदायसंग मात्रै सम्बन्धित नभएर विश्व समुदायसंग पनि जोडिएका छन्।

तर विश्वका २४ देशहरुमा गरिएको अनुसन्धानले के देखाएको छ भने परम्परा धान्नका लागि मात्रै नागरिक शिक्षा पाठ्यक्रममा राखिएको छ। यसको सफल र प्रभावकारी शिक्षणका लागि आवश्यक पर्ने नीति, कार्यक्रम, रणनीति र स्रोतको जोहो गर्न सम्वन्धित निकायहरुले सबै भन्दा कम प्राथमिकता दिएको पनि पाइएको छ।

नागरिक शिक्षा के हो?

नागरिक क्रियाकलापहरुमा पूर्ण र सक्रिय रुपमा सहभागी हुनका लागि आजका विद्यार्थीहरुले नागरिक ज्ञान, सीप र मान्यता हासिल गर्नुपर्ने हुन्छ। नागरिक शिक्षामार्फत आजका विद्यार्थीहरुले ऐतिहासिक र राजनीतिक तथ्यहरुका बारेमा ज्ञान हासिल गर्न सक्षम हुनुपर्छ। यसका साथै सामाजिक मुद्दाहरुका वारेमा गहिरो समझ विकास गर्नुपर्छ। यस्ता ज्ञान र सीपका कारण उनीहरु औपचारिक राजनीतिक पद्दति र नागरिक समाजजस्ता संगठनहरुमा पूर्ण र सक्रियरुपमा सहभागी भएर आफ्नो महत्वपूर्ण योगदान दिन सक्छन।

राजनीति भनेको राजनीतिक दलमा आवद्द हुनु मात्रै होइन। राजनीति भनेको सामुदायिक र सामाजिक क्रियाकलापहरुमा पूर्ण र सक्रिय रुपमा सहभागी भएर सार्वजनिक निर्णय प्रक्रियामा आफ्नो सक्दो योगदान दिनु पनि हो। जब विद्यार्थीहरु शिक्षकको सुपरीवेक्षणमा यस्ता सार्वजनिक निर्णय गर्ने प्रक्रियामा (स्थानीय स्तरमा ) सहभागी हुने अवसर पाउछन तब विद्यार्थीहरुमा प्रजातान्त्रिक नागरिकका लागि आवश्यक पर्ने मूल्य र मान्यता विकास हुदै जान्छन।

नागरिक शिक्षाको प्रवर्द्धन कसरी गर्ने?

विद्यालयले नागरिक शिक्षाका मुख्य अवधारणाहरुका बारेमा शिक्षण गर्नुपर्ने हुन्छ। जब विद्यार्थीहरु नागरिक शिक्षाका अवधारणाहरुलाई समालोचनात्मक ढंगले ग्रहण गर्न सक्षम हुन्छन तब उनीहरु प्रत्येक अवधारणालाई आफ्नो जीवन र समाजका सन्दर्भमा परिभाषित गर्न सक्षम हुनेछन। यी अवधारणाहरु ऐतिहासिक रुपमा कुन समय र सन्दर्भमा कसरी परिवर्तन भए र विद्यार्थीहरुले यी अवधारणाहरु आफ्नो समाज र समुदायमा कसरी लागु गर्न सफल भए भनेर स्पस्ट रुपमा भन्न सक्नेछन।

तर यो ज्ञानको भण्डार आफैमा अपुरो हुन्छ जब उनीहरु पूर्ण र सक्रियरुपमा नागरिक मामिलाहरुमा भाग लिने मौका पाउदैनन। यो हुनका लागि विद्यार्थीहरु तथ्यपरक ज्ञान भन्दा पर जानुपर्ने हुन्छ। विद्यार्थीहरुले आफ्नै संदर्भमा सामुदायिक तनाव, स्थिति र सम्भावनाका बारेमा राम्रो समझदारी विकास गर्न सफल हुनुपर्छ।

विद्यार्थीमा निश्चित मान्यता र स्वभावको विकास

नागरिक शिक्षाका लागि ज्ञान र सीप मात्रै भएर पुग्दैन। निश्चित मान्यता र स्वभावको विकास पनि त्यत्तिकै आवश्यक हुन्छ। लोकतान्त्रिक मान्यताका आधारमा विद्यालयहरुले विद्यार्थीहरुमा निश्चित स्वभाव विकासमा ध्यान दिनुपर्छ। उदाहरणका लागि विविध सामाजिक दृस्टीकोणहरु पहिचान र आदर गर्न सक्ने, समाजमा व्यक्ति र उसका तर्कका वीच फरक छुट्याउन सक्ने र आफ्नो तर्क राख्दा पूर्वाग्रह र विकृतिबाट आफुलाई टाढा राख्न सक्ने हुनुपर्छ। लोकतान्त्रिक मान्यताहरु प्रतिस्पर्धी हुनसक्छन तर केही धारणाहरु सार्वभौम हुन्छन। यही कुरोलाई ध्यानमा राखेर नागरिक शिक्षा विद्यार्थीलाई प्रदान गर्नुपर्छ।

नागरिक शिक्षाका विभिन्न दृस्टीकोणहरुका माध्यमबाट विद्यार्थीहरुले आफ्ना आवाजहरुलाई वुलन्द गर्न सक्छन। यसका साथै आफ्नो समुदाय र विद्यालयमा सक्रिय भएर पूर्ण रुपमा सार्वजनिक निर्णय प्रक्रियामा सहभागी हुनसक्छन किनकि यी दृस्टीकोणहरुले लोकतान्त्रिक मान्यता र स्वभाव विकास गर्नमा ठुलो भूमिका खेलेका हुन्छन।

विद्यार्थीहरु जब वयस्क नागरिक हुन्छन उनीहरु विवेकशील भएर आफ्ना निर्णय गर्न सक्षम हुन्छन। जस्तै: तथ्य र मान्यतामा के फरक छ? तथ्यको मूल्यांकन गर्न कुन मापदण्ड अपनाउने? उपलव्ध प्रमाणका आधारमा निर्णय गर्ने क्षमताको विकास कसरी गर्ने? निर्णय गर्दा विवेक र प्रमाणका लागि आदर देखाउन विद्यार्थीहरु सक्षम हुनेछन। विवेशील निर्णय गर्न क्षमता र स्वभावको विकास कसरी गर्ने? यसका कारण उनीहरुले आफ्ना र अरुका लागि चाहिने समाज र समुदाय सिर्जना गर्न सफल हुनेछन।

आजका विद्यार्थीहरुले आफ्ना क्रियाकलापहरुका कारण समुदायमा अरुलाई कस्तो असर पर्छ भन्ने कुराको जबसम्म लेखाजोखा गर्न सक्दैनन् तबसम्म आफुलाई असल नागरिकको रुपमा स्थापित गर्न असफल हुन्छन। यसका लागि योग्य शिक्षकको दिशानिर्देशमा विद्यार्थीहरुले काल्पनिक रुपमै भए पनि समाजमा अर्काको भूमिका लिन सक्ने हुनुपर्छ। आफ्ना क्रियाकलापहरुलाई अर्काको दृस्टीकोणबाट लेखाजोखा गर्न सफल हुनुपर्छ। त्यसै गरी आफुले वकालत र पैरवी गर्ने क्रियाकलापका परिणामहरु स्पस्टरुपमा बुझ्न र बुझाउन सक्षम हुनुपर्छ। यो हुनका लागि विद्यार्थीहरुले अरुले समाजमा गरिरहेका क्रियाकलापहरुका परिणाम के होलान भनेर कल्पना गर्न सक्ने हुनुपर्छ। यी परिणामहरुका आधारमा अरु र आफुले गर्ने क्रियाकलापलाई लेखाजोखा गर्न विद्यार्थीहरु सक्षम हुनुपर्छ।

विद्यार्थीका आवाज र पूर्ण र सक्रिय सहभागिता

देशले नागरिकताको प्रमाणपत्र वितरण गरेर मात्रै हुदैन। शिक्षण क्रियाकलापहरुका माध्यमबाट विद्यार्थीहरुमा नागरिक ज्ञान, सीप र स्वभाव बिकास गर्नु महत्वपूर्ण कुरा हो। एउटा असल नागरिक बन्न यो महत्वपूर्ण पूर्वाधार हो। उमेर पुगे पछि नागरिकताको प्रमाणपत्रका लागि आजका विद्यार्थीहरु योग्य हुन्छन होला। यस्तो काम अनौपचारिक शिक्षाका माध्यमबाट पनि गर्न सकिन्छ किनकि विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई पनि नागरिक शिक्षा प्रदान गर्नु राज्यको दायित्व हो। यसका लागि शिक्षण प्रक्रियाले थप प्रयास गर्नुपर्छ। जस्तै: विद्यार्थीहरुलाई विद्यालय र समुदायका परिवेशमा हुने निर्णयहरुमा सहभागी गराएर विद्यार्थीका आवाज र सक्रिय सहभागितालाई प्रवर्द्धन गर्न सकिन्छ। यसका कारण विद्यार्थीहरुमा लोकतान्त्रिक मूल्य र मान्यताहरुको विकास गर्न सकिन्छ।

अनुसन्धानले पनि के देखाएको छ भने जब विद्यार्थीहरु कक्षाकोठामा विना हिच्किचाहट खुल्ला मनले कुरो गर्छन तब उनीहरु लोकतान्त्रिक मूल्य र मान्यताहरु आफुमा विकास गर्न सक्षम हुन्छन। कक्षाभित्र र बाहिर विद्यार्थीहरुलाई राजनीतिक छलफलमा सहभागी गराउदा उनीहरुमा लोकतान्त्रिक मूल्य र मान्यता विकास गर्न अझै सजिलो हुन्छ। यसको अर्थ हो विद्यार्थीमैत्री वातावरण सिर्जना गर्न नसकिए उनीहरुले आफ्ना विचारहरु स्पस्ट रुपमा राख्न सक्दैनन्। यसका कारण विद्यार्थीहरु नागरिक शिक्षाका अवधारणा र आदर्शहरू व्यक्त गर्न त सक्षम होलान तर यिनीहरुलाई महत्व दिन र अभ्यासमा लागु गर्न असमर्थ हुनेछन।

एउटा लोकतान्त्रिक समाजका लागि माथिका क्षमता र स्वभाव अति आवश्यक हुन्छन। विद्यार्थीहरुमा नागरिक शिक्षा सम्बन्धी ज्ञान, सीप र स्वभावको विकास गर्ने क्रममा शिक्षकको सुपरिवेक्षण अति आवश्यक हुन्छ। शिक्षकले यी काम गर्न यथेस्ट तयारी गर्नुपर्ने हुन्छ। साथै शिक्षकलाई आवश्यक पर्ने स्रोतहरु पनि उपलव्ध गराउनुपर्छ। यदि यी नागरिक क्षमता, स्वभाव, सीप र ज्ञान गम्भीरतापूर्वक विद्यार्थीमा विकास गर्ने लक्ष्य हो भने पढाइ, लेखन र गणित विषयहरुमा जस्तै नागरिक शिक्षाका लागि विद्यार्थी मूल्यांकन त्यत्तिकै आवश्यक हुन्छ।

नागरिक शिक्षाको मूल्यांकन कसरी गर्ने?

कक्षाकोठामा उपलव्ध धेरै अवसरहरुका आधारमा विद्यार्थीहरुले लोकतान्त्रिक नागरिक शिक्षाका ज्ञान, सीप र स्वभाव आफ्नो दैनिक जीवनमा लागु गर्न सक्षम भए वा भएनन् भनेर मूल्यांकन गर्न सकिन्छ। उदाहरणका लागि के विद्यार्थीहरु नागरिक शिक्षाका अवधारणाहरुलाई परिभाषित गर्न सक्षम भए? के विद्यार्थीहरु नागरिक शिक्षाका अवधारणाहरुलाई समालोचनात्मक ढंगले व्याख्या गर्न सक्छन? के, किन र कसरी यी अवधारणाहरु समय र सन्दर्भ अनुसार परिवर्तन भए भनेर भन्न सक्छन? के यी अवधारणाहरुलाई आफ्नो समाजको सन्दर्भमा अभ्यासमा ल्याउन सफल भएका छन्?

नागरिक शिक्षाका मुख्य अवधारणाहरुका बारेमा थाहा पाइसकेपछि के विद्यार्थीहरु नागरिक शिक्षाका सम्बन्धमा आफ्नो अडान राखेर कक्षाभित्र र बाहिर नागरिक शिक्षाका ज्ञान, सीप र स्वभाव आफ्नो व्यवहारमा उतार्न सफल भएका छन्? के विद्यार्थीहरु नागरिक शिक्षाको ज्ञानभन्दा पर जान सक्षम भएका छन्? यसका कारण विद्यार्थीहरुले सामाजिक तनाव, स्थिति र सम्भावनाहरुलाई आफ्नो सन्दर्भमा समालोचनात्मक ढंगले बुझेर समस्या समधान गर्न सफल हुनेछन।

नागरिक शिक्षा अभ्यासका लागि मापदण्डहरु

नागरिक शिक्षाका सन्दर्भमा विद्यार्थीको प्रगतिलाई मापन गर्न मापदण्ड तय गर्नु अति आवश्यक हुन्छ। यसका लागि शिक्षामन्त्रालय र पाठ्यक्रम विकास केन्द्रले ठुलो भूमिका खेल्नु पर्ने हुन्छ। यी मापदण्डका विकासका लागि सिंगो रास्ट्र एक भएर अगाडी बढ्नुपर्छ। राष्ट्रिय सहमतिका आधारमा देशले अवलम्वन गर्नुपर्ने साझा नागरिक मूल्य र मान्यताहरुको छिनोफानो गर्नुपर्छ किनकि नेपाल बहुजातीय, बहुसांस्कृतिक र बहुभाषिक देश हो। अहिले हामी राष्ट्रिय मूल्य र मान्यताविहिन भएका छौ। देशको समृद्धिका लागि नागरिक र समाज कस्तो हुनुपर्ने हो भन्ने निर्क्योल नै नगरी देश हाक्ने काम भएको छ।

नागरिक शिक्षाका बारेमा जानकार विज्ञहरु राखेर मापदण्ड विकास गर्नु अहिलेको आवश्यकता हो। मापदण्डहरुले विद्यार्थी, शिक्षक, अभिभावक र शैक्षिक प्रशासकहरुलाई नागरिक शिक्षासंग सम्बन्धित ज्ञान, सीप र स्वभाव हासिल गर्न गराउन ठुलो सहयोग गर्छन। विद्यार्थीहरुलाई थप सहयोगको आवश्यकता समेत पर्न सक्ने भएकाले शिक्षकले सहयोग गर्नु पर्ने हुन्छ। शिक्षकहरुले यी मापदण्डका आधारमा प्रत्येक विद्यार्थीको मूल्यांकन गर्न सक्षम हुनेछन।

त्यसै गरी यी मापदण्डहरुले पाठ्यक्रममा उल्लेखित नागरिक शिक्षाका उद्देश्यहरु विद्यार्थी र अभिभावकलाई स्पस्ट पार्न ठुलो सहयोग गर्नेछन्। नेपालको सन्दर्भमा नागरिक शिक्षाका बारेमा थोरै मात्रै काम भएको छ। अहिलेसम्म नेपालले के कस्ता नागरिक ज्ञान, सीप र स्वभाव विद्यार्थीहरुमा विकास गर्ने भन्ने कुरोमा कमै मात्र बहस गरेको छ। यसको अर्थ हो नेपालका विद्यालयहरुमा नागरिक शिक्षाको अभ्यास नगन्य नै छ।

विश्वमा नागरिक शिक्षाका लागि राष्ट्रियस्तरमै मूल्यांकन गर्ने चलन रहेको छ। विद्यार्थीका नागरिक शिक्षासंग सम्बन्धित सिकाइहरु मापन गर्न संस्थागत व्यवस्था नै गरेका छन्। जस्तै: अमेरिकामा नागरिक शिक्षा राष्ट्रिय मूल्यांकन प्रणालीकै एउटा अभिन्न अंग बनाइएको छ। अस्ट्रेलियामा अमेरिकाको जस्तै व्यवस्था गरिएको छ। यी देशहरुमा नागरिक शिक्षा विद्यालय पाठ्यक्रम, सह-क्रियाकलाप र अतिरिक्त क्रियाकलापहरु मार्फत सम्वोधन गर्ने गरिएको छ वा छैन भनेर विद्यालय, शिक्षक र विद्यार्थी समावेश गरेर सर्भे गर्ने चलन नै रहेको छ।

नागरिक शिक्षाका सवालमा नेपाल गम्भिर हुनुपर्छ

यदि नेपाल गम्भिर छ भने नागरिक शिक्षालाई अनिवार्य विषयका रुपमा शिक्षण गर्ने व्यवस्था मिलाउनु वान्छनीय हुन्छ। विद्यार्थीहरुले समाजका प्रत्येक क्रियाकलापमा पूर्ण र सक्रिय सहभागिता जनाउन सक्ने हुनुपर्छ। नागरिक शिक्षामार्फत यसलाई सुनिश्चित गर्नु अहिलेको आवश्यकता हो। अहिलेको कर्मकाण्डी अवस्थाबाट फड्को मार्न सकिएन भने नेपाली समाजमा परिवर्तनको कल्पना गर्नु व्यर्थ हो।

एउटा अव्वल नागरिक उत्पादन गर्न राज्यले गम्भिर भएर लाग्नुपर्छ। अनि मात्र भोलिका नागरिकले हाम्रो समाज र देशको मुहार फेर्न सक्छन। यसका साथै विद्यार्थीहरु समाजमा अर्थपूर्ण योगदान गर्न सक्ने नागरिकका रुपमा आफुलाई स्थापित गर्न सक्षम हुनेछन। यसका कारण यस्ता नागरिक तयार हुनेछन जो आफ्नो अधिकारको रक्षा गर्नुका साथै अर्काको अधिकारप्रति सम्मान जनाउन सक्षम हुनेछन।

विद्यार्थीहरुले देशमा भएका कानून र उनीहरुलाई शासन गर्ने संस्थाहरुका बारेमा जानकारी हासिल गर्नु नितान्त आवश्यक हुन्छ। आफ्ना अधिकारका बारेमा सबै विद्यार्थीहरु जानकार र स्पस्ट हुनुपर्छ। समाजले सामना गरिरहेका अप्ठ्यारा र ज्वलन्त मुद्दाहरुका बारेमा समेत थाहा पाउनुपर्छ। परिणामस्वरूप विद्यार्थीहरु एक अर्काप्रति सहिष्णु हुनुका साथै अतिवादी राजनीतिका सिकार हुने छैनन्।

बिस्तारै विद्यार्थीहरु समाजका लागि राम्रा तर कठिन निर्णय लिन सफल हुनेछन। त्यसैले विद्यार्थीहरुले नागरिक शिक्षासँग सम्बन्धित ज्ञान, सीप र स्वभाव विद्यालयबाट प्राप्त गर्नुपर्ने हुन्छ । यसका कारण उनीहरु भविष्यमा आफुलाई एउटा चेतनशील, कर्मठ, स्वाभिमानी, मेहनती, निडर र स्वतन्त्र नागरिकका रुपमा आफुलाई समुदायमा प्रस्तुत गर्न सफल हुनेछन। नागरिक शिक्षालाई गम्भिर रुपमा लिने हो भने यसको मूल्यांकन गर्ने प्रक्रियामा पनि त्यत्तिकै ध्यान दिनु आवश्यक हुन्छ।

आजका विद्यार्थीहरुलाई भोलिका आलोचनात्मक विचारकका रुपमा कसरी रुपान्तरण गर्ने? अनि मात्रै असल र मेहनती नागरिक उत्पादन हुनेछन। राज्य, जनता र सम्वन्धित निकायले सोच्ने बेला भएन र?

(पूर्व प्रशिक्षक, शैक्षिक जनशक्ति विकास केन्द्र, सानोठिमी, भक्तपुर। पूर्व पाठ्यक्रम अधिकृत, पाठ्यक्रम विकास केन्द्र , सानोठिमी, भक्तपुर)