
दशरथचन्द (बैतडी), १० असारः बैतडीका दुई सामुदायिक विद्यालयमा नेपाली सेनाले राष्ट्रिय सेवा दल (एनसिसी) तालिम सुरु गरेको छ । जिल्लाको पाटन नगरपालिका–९ को ज्ञानेश्वर नमुना मावि र मेलौली नगरपालिका–७ को मणिलेक माविमा विद्यार्थीका लागि एनसिसी तालिम सुरु गरिएको हो ।
सोमबारदेखि कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीका लागि जुनियर डिभिजनको राष्ट्रिय सेवा दल तालिम सुरु भएको श्री बक्स गुल्म बैतडीका गुल्मपति सेनानी सफल थापाले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै विद्यालयबाट ३०–३० जना विद्यार्थी एनसिसी तालिममा छनोट गरिएको छ ।
“एउटा विद्यालयबाट १५ छात्र र १५ छात्रालाई छनोट गरिएको छ”, उहाँले भन्नुभयो, “छनोट भएका विद्यार्थीलाई राष्ट्रप्रेम, नेतृत्व विकास, अनुशासन, जफादेहिता, इमान्दारिता र बफादारिताका बारेमा प्रशिक्षित गरिनेछ ।” यसका साथै सैन्य, मानवीय र सामाजिक सेवाका बारेमा विद्यार्थीलाई तालिम दिइनेछ ।
एक सय दिनको एनसिसी तालिमअन्तर्गत ७९ दिन विद्यालयमा सञ्चालन हुनेछ भने बाँकी २१ दिनको तालिम ‘क्लोज क्याम्प’का रूपमा हुने सेनानी थापाले जानकारी दिनुभयो । उहाँका अनुसार विषद् व्यवस्थापन, सरसफाइ तथा वातावरणलगायत विषयमा जानकारी गराइने छ ।
यो तालिमपश्चात विद्यार्थीमा राष्ट्रप्रेम, नेतृत्व विकाससँगै उनीहरूको चौतर्फी विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने ज्ञानेश्वर नमुना माध्यमिक विद्यालयमा प्रधानाध्यापक पुष्पराज जोशीले बताउनुभयो । ---