लमही, १२ वैशाख (रासस): कुनै समय सडकमा भौतारिएर हिँड्ने गरेका बालबालिका अहिले भने पढाइमा अब्बल बन्दै गएका छन् । सहाराविहीन बनेर सडकमा हिँडिरहेका बालबालिकामध्ये कतिपयले अहिले कक्षामा प्रथम हुन सफल भएका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीस्थित असहाय बाल विकास नेपाल र तुलसीपुर–६ डुंम्रिगाउँस्थित दिदीघर संस्थाले पालन पोषण तथा शिक्षा दिक्षा दिइरहेका बालबालिकामध्ये केही विद्यार्थी कक्षामा प्रथम हुन सफल भएका हुन् ।
असहाय बाल विकास नेपालका १४ मध्ये तीन र दिदी घर संस्थाका छमध्ये एक जना विद्यार्थी आफ्नो कक्षामा प्रथम भएको छ ।
तुलसीपुर–७ हलवारमा रहेका पब्लिक ज्ञान ज्योतिमा अध्ययन गर्दै आएका असहाय बालविकास नेपाल बिजौरीका बालबालिकामध्ये रोल्पाकी अनिशा भुजेलले कक्षा ३ को ‘सि’ सेक्सनबाट ९५ दशमलव ४३ प्रतिशत ल्याएर कक्षामै प्रथम हुन सफल भएको छ । त्यस्तै रुकुमका बादल विकले एलकेजीको ‘ए’ सेक्सनबाट ९८ दशमलव १४ प्रतिशत ल्याएर कक्षा प्रथम हुन सफल हुनुभएको हो भने रुकुमका रमेश बोहराले पनि कक्षा युकेजीको ‘सि’ सेक्सनबाट ९६ दशमलव ७१ प्रतिशत अङ्क ल्याएर कक्षा प्रथम हुन सफल भएका छन् ।
साथै अन्य विद्यार्थीले पनि ८५ प्रतिशतभन्दा बढी अङ्क ल्याउन सफल भएका छन् । जसमध्ये युकेजीबाट रुकुमकी शारदा बिसीले ९५ दशमलव ४३ प्रतिशत, दाङकी विष्णु विकले ९१ दशमलव ५७ प्रतिशत र रोल्पाका अविनास भुजेलले ९० दशमलव ४३ प्रतिशत ल्याउन सफल भएका छन् ।
त्यस्तै कक्षा १ बाट रुकुमकी सीता विकले ९४ दशमलव ५७ र रुकुमकै प्रकाश विकले ९२ दशमलव २१ प्रतिशत अङ्क ल्याउन सफल भएका छन् । कक्षा २ बाट रुकुमका अमृत शर्माले ९३ दशमलव ७ प्रतिशत अङ्क ल्याउन सफल भएका छन् ।
त्यस्तै कक्षा ३ बाट जुम्लाका सङ्गीता बुढाथोकीले ८८ दशमलव ७१ प्रतिशत, रुकुमका चेतना शर्माले ८७ दशमलव ७७ प्रतिशत, रुकुमका मोतिराम बुढाले ८६ दशमलव ८८ प्रतिशत, रुकुमकै अमृती बुढाथोकीले ८६ दशमलव ५७ प्रतिशत, रोल्पाका अर्जुन बस्नेतले ६८ दशमलव ५७ प्रतिशत ल्याएका छन् ।
अहिले आमा–बुबा नभएर सहाराविहीन बनेका बालबालिकालाई तुलसीपुर–१८ बिजौरीमा रहेको असहाय बाल विकास केन्द्रले पालनपोषण तथा शिक्षादीक्षा दिने गरेको छ । नियमित विद्यालय जानुका साथै घरमा पनि शिक्षक राखेर अध्यापन गराएका विद्यार्थीले राम्रो नतिजा ल्याउन सफल भएको संस्थाका अध्यक्ष विष्णु चौधरीले बताउनुभयो ।
यस्तै उहाँले आफूले बालबालिकाको भविष्यका लागि गरेको योगदानले सार्थकता पाएको बताए । “बालबालिकाको भविष्यका लागि मैले जुन योगदान गरेको छु”, उहाँले भन्नुभयो, “उक्त योगदानले गर्दा नै अहिले बालबालिकाले उत्कृष्ट अङ्क ल्याउन सफल भए ।” उक्त संस्थाले सहाराविहीन भएका दाङ रुकुम, प्युठान, जुम्लालगायत बालबालिकालाई पालनपोषण तथा शिक्षादीक्षा दिँदै आएको छ ।
चौधरी कक्षा प्रथम
त्यस्तै तुलसीपुर–६ को ग्रेट अरणीका माविमा अध्ययन गरिरहेका दिदीघर संस्थाका बालबालिकामध्ये युकेजीबाट ‘ए प्लस’ ल्याएर तुलसीपुरको बन्गैँकी मञ्जु चौधरीले कक्षा प्रथम हुन सफल भएको हो । अन्य पाँच विद्यार्थीमध्ये चारले ‘ए प्लस’ र एकले ‘ए’ ग्रेट ल्याउन सफल भएका छन् ।
कक्षा २ बाट तुलसीपुरकी अञ्जना चौधरीले ‘ए प्लस ल्याउन सफल हुनुभएको हो । त्यस्तै कक्षा युकेजीबाट मानपुरकी सुस्मिता चौधरी, फुलबारीका प्रेम चौधरी, फूलबारीकै सुष्मा चौधरीले ‘ए प्लस’ ल्याउन सफल हुनुभएको छ, भने मीना चौधरीले ‘ए’ ग्रेड ल्याउन सफल हुनुभएको हो । उनीहरुलाई भबिष्यमा देशको कर्णधार भएको देख्ने योजनाअनुसार आमाबुबा अशक्त भएका तथा आमाबुबा नै नभएका छ जना बालबालिकालाई पठनपाठन गराउँदै आएको तुलसीपुर–६ डुम्री गाउँमा रहेको दिदीघर संस्थाका अध्यक्ष स्यानी चौधरीले बताउनुभयो । “अहिले उनीहरु सहारा नपाएर पढ्न नपाउने अवस्थामा हामीले जिम्मा लिएर पठन–पाठन गराइरहेका छौँ”, उहाँले भन्नुभयो, “पढाएर भविष्यमा ठूलो मान्छे बनाउने मेरो धोको छ ।