उर्लाबारी, २२ पुस (रासस) ः प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले सुखी नेपाली, समृद्ध नेपालको लक्ष्यलाई पूरा गर्न शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ ।
मोरङको बेलबारी नगरपालिका–३ स्थित भगवती माध्यमिक विद्यालयको ५५औँ वार्षिकोत्सव कार्यक्रमलाई शनिबार सम्बोधन गर्नुहुँदै उहाँले राष्ट्रले लिएको लक्ष्य पूरा गर्न शिक्षामा लगानी बढाउन आवश्यक रहेको धारणा राख्नुभयो ।
उपसभामुख तुम्बाहाङ्फेले शिक्षा क्षेत्रको सुधारका लागि अभिभावक, विद्यार्थी र विद्यालयको त्रिपक्षीय भूमिका महत्वपूर्ण हुने बताउनुभयो । सामुदायिक विद्यालयमा सरकारको लगानी बढी भए पनि सो अनुसारको लक्ष्य प्राप्त हुन नसकिरहेको बताउनुहुँदै उपसभामुख तुम्बाहाङ्फेले अब प्रदेश र स्थानीय सरकारले पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला शिक्षा समन्वय समितिका प्रमुख राजेन्द्र बुढाथोकी, बेलबारी नगरपालिका उपप्रमुख तारा पराजुली, पूर्वसांसद गुरु बरालले शिक्षा क्षेत्रको बारेमा विचार राख्नु भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम गौतमको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वशिक्षक, उत्कृष्ट विद्यार्थी एवं विभिन्न प्रतियोगितामा बिजेता भएकाहरुलाई पुरस्कार र सम्मान गरिएको थियो । विसं २०२१ मा स्थापित सो विद्यालयमा कक्षा १२ सम्म एघार सय ८७ विद्यार्थी अध्ययनरत रहेका छन् ।