After SEE Portal

चिकित्सा शिक्षाको प्रवेश परीक्षामा नेगेटिभ मार्किङ

Bridge Course

चिकित्सा शिक्षाको प्रवेश परीक्षामा अबदेखि नेगेटिभ मार्किङको व्यवस्था लागू गरिने भएको छ ।

एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ लगायतका विषयमा भर्नाका लागि छनोट परीक्षा चैत १८, २० र २१ गते परीक्षा सञ्चालन हुँदैछ । यसपटकको परीक्षाबाट नेगेटिभ मार्किङको व्यवस्था हुने भएको हो ।

चिकित्सा शिक्षा आयोगका सूचना अधिकारी सेमन्तराज कोइरालाले प्रत्येक गलत उत्तरका लागि ०.२५ अङ्क कटौती हुने जानकारी दिए । “अनुमान गर्ने प्रवृत्ति देखियो” उनले भने, “गुणस्तर कायम गर्न यस्तो व्यवस्था सुरु गर्न लागेका हौँ । अनुमानका भरमा सही चिन्ह लगाउनेहरूलाई दुरुत्साहन गर्न खोजिएको छ ।”

उनका अनुसार उत्तर नजानेर छोडेमा अङ्क कटौती हुँदैन । वस्तुगत परीक्षामा दुई सय पूर्णाङ्कको व्यवस्था छ र दुई सयवटा प्रश्न सोधिनेछ । परीक्षा तीन घण्टाको हुनेछ ।

आयोगले एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बी पर्फ्युजन टेक्नोलोजी, बीएमएस, बीएस्सी एमएलटी, बी फर्मा, बीपीटी लगायतका विषयमा परीक्षा सञ्चालन गर्दैछ । पहिलो दिनको परीक्षामा १९ हजार ५०८, दोस्रो दिनको परीक्षामा १२ हजार २६२ र तेस्रो दिनको परीक्षामा दुई हजार ८९५ प्रतिस्पर्धी सहभागी हुँदैछन् । यसपटकबाट परीक्षा केन्द्र उपत्यकामा कायम गरिएको छ । गत वर्ष कोभिड–१९ का कारण उपत्यकाबाहिर पनि परीक्षा केन्द्र कायम गरिएको थियो । गत वर्ष सबै विषयका कोटा आठ हजार २५१ थियो भने एमबीबीएस कोटा एक हजार ८३५ थियो ।

गत वर्ष धेरै विषयमा परीक्षार्थी उत्तीर्ण हुन नसक्दा थुप्रै कलेजहरुले कोटाअनुसारका विद्यार्थी पाएनन् । विद्यार्थी अभावमै पठनपाठन थाल्नुपर्ने देखिएपछि यसपटकबाट पर्सनटायल विधिमा नतिजा सार्वजनिक गरिने भएको छ । गत वर्ष उत्तीर्णाङ्क न्यूनतम ५० प्रतिशत कायम गरिएको थियो र त्यो व्यवस्थालाई यसपटकबाट हटाइएको छ ।

आयोगका सूचना अधिकारी कोइरालाले नयाँ विधिबाट कलेजमा विद्यार्थी अपुग हुने समस्या नहुने दावी गर्दै यो विधि अन्तर्राष्ट्रिय अभ्यास पनि हो भने ।

परीक्षा सञ्चालन गर्ने दिन नजिकै आइसके पनि अझैसम्म विषयगत कोटा निर्धारण भइसकेको छैन । नतिजा सार्वजनिक हुञ्जेलसम्ममा कोटा निर्धारण भइसक्ने उनले बताए ।

 

 

A Levels MA
Thuprai - Books and E-books